भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछिको पहिलो विदेश भ्रमणमा निस्किएका छन् । उनी विश्वका समृद्ध शीर्ष देशको समूह जी–७ (ग्रुप अफ सेभेन) शिखर सम्मेलनमा भाग लिन बिहीबार इटली प्रस्थान गरे ।
जुन १३–१४ सम्म अपुलिया क्षेत्रमा आयोजना हुने यस सम्मेलनमा आमन्त्रित राष्ट्रका रूपमा भारतलाई निमन्त्रणा गरिएको छ । सम्मेलनमा जी–७ का सदस्य अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटली, जापान र फ्रान्सका साथै युरोपेली संघका सदस्य राष्ट्रले भाग लिनेछन् ।
जी–७ को सम्मेलनको आयोजक राष्ट्र इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले प्रधानमन्त्री मोदीलाई जी–७ शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेकी थिइन् । भारतबाहेक टर्की र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) जस्ता अन्तर्राष्ट्रिय संस्थासहित धेरै राज्यलाई पनि इटलीले जी–७ शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको अधिकारीले बताए ।
यो सहभागिता जी–७ शिखर सम्मेलनमा भारतको ११औँ र जी–७ शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीको लगातार पाँचौँ सहभागिता हुनेछ । शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले जी–७ र आमन्त्रित राष्ट्र साथै अन्तर्राष्ट्रिय संस्थाका नेतासँग द्विपक्षीय बैठक र छलफल गर्ने अपेक्षा गरिएको छ ।