भारतीय चुनावपछिको नेपाल–भारत सम्बन्ध

लोकसभा चुनावपछिको अवसरबाट रणनीतिक लाभ लिँदै दुई देशको सम्बन्ध थप सुदृढ गर्न नेपालले भूमिका निर्वाह गर्नुपर्छ

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

भारतीय चुनावी परिणामले बहुआयामिक विश्लेषणको माग गर्छ । पहिलो, दश वर्ष पूर्ण बहुमतका बाबजुद नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले गठबन्धन सरकार गठन गरेको छ । दुई प्रमुख साझेदार चन्द्रबाबु नायडू र नितिश कुमार अनुभवी राजनेता हुन् । उनीहरूसँग दशकौँदेखिको अनुभव, जनसेवा र उनीहरूको करिस्मा आफैँमा स्थायी अपिल हो । यसलाई ‘टिम मोदी’ले कसरी आत्मसात् गर्नेछ भन्ने कुरालाई जनजनमा हेरिएको छ । यो सरकार अबका दिनमा जनताका आन्तरिक अपेक्षा पूरा गर्ने कुरामा खरो उत्रिनुपर्छ । यसलाई म चेतावनी भन्दिनँ, तर जनताले भाजपा वा मोदीलाई चेताएका छन् । जनताप्रतिको नीतिमा परिवर्तन ल्याउनुपर्छ भन्ने पाठ निर्वाचनले सिकाएको छ ।

दोस्रो, वैश्विक छवि र वैश्विक नेताहरूको समर्थन वा प्रशंसाका बाबजुद पनि लोकतन्त्रमा जनादेश निर्णायक हुन्छ । दश वर्षमा भाजपा नेतृत्वको उपलब्धि उल्लेखनीय भयो । एकातर्फ आर्थिक उपलब्धि भयो, अर्कातर्फ भारतको बलियो अन्तर्राष्ट्रिय पहिचान स्थापित भयो । चुनावी परिणामले भारतको पहिचानलाई ब्रेक गरेको छैन । यद्यपि यात्राको गति सीमित गराउने अवस्था उत्पन्न भएको छ । यसबीच मोदीप्रति अन्तर्राष्ट्रिय नेताहरूको विश्वास खुलेर प्रकट भयो । अन्तर्राष्ट्रिय रूपमा ‘ब्रान्ड मोदी’ स्थापित भयो । विश्वका अधिकांश देशमा मोदीको उच्च व्यक्तित्व स्थापित हुनु सामान्य होइन । अहिले पनि सद्भाव आइरहेको छ । 

हो, चुनाव अपेक्षाकृत आएन । तर, ब्रान्ड मोदी स्थापित भयो र यसको औचित्य अझै देखिएको छ । अर्कातिर पछिल्लो घटनाक्रमपछि मोदी टिमको सन्देश छ, ‘हामी पछि हट्नेवाला छैनौँ । जसरी पनि अघि बढ्नु नै छ । हामी अघि बढ्नेछौँ र सबै देशको समर्थन पनि मिल्नेछ । हरेक मतदाताले विश्व व्यवस्थामा भारतको प्रभाव के छ भन्ने सोधिरहेको हुन्छ, यसलाई आवश्यक विषय सम्झिन्छ भने यसमा नायडू र नितिशले पनि नजान्ने विषय भएन । 

नेपाल अब आर्थिक रूपमा स्थापित हुनैपर्छ ।  भारतले पनि राजनीतिक दृष्टिकोणबाट होइन, नेपाललाई अब आर्थिक देशका रूपमा हेर्नुपर्छ ।
 

तेस्रो, कसैले उत्तरप्रदेश (युपी) को नतिजालाई हलुका रूपमा लिन्छ भने युपीले दण्डित गर्नेछ । हिन्दुत्व कि डेलिभरी ? यसबारे पनि चर्चा हुन थालेको छ, तर यसरी हेर्नुहुँदैन । किनभने, चुनावी परिणामसँग मात्रै हिन्दुत्व, सनातन धर्मको परम्परा वा सोचलाई तुलना गर्नु अनावश्यक हो । हिन्दू धर्म वा विचारधारा परम्परादेखि चलिआएको छ । शताब्दी बदलिन्छ, तर परम्परा रोकिँदैन ।

पछिल्लो दश वर्षमा धर्मका सम्बन्धमा र अझ बढी म को हुँ भन्ने सतातन पहिचानका पक्षमा दश वर्षमा आएको जागरण अभूतपूर्व छ । तर, हामीले बुझ्नुपर्ने के हो भने चुनावी परिणाम धर्मले होइन, सरकारको कामको गतिले निर्धारण गर्छ । यस तथ्यलाई चुनावी परिणामले पनि देखाएको छ । हाम्रा नेताले के वाचा गरेका थिए, के पूरा गरेनन्, त्यसले भोट प्रभावित गर्ने हो । यो समीक्षाको विषय बन्नुपर्छ । 

भारत १४० करोड जनताको देश हो । यसबीच २५ करोड मानिसलाई गरिबीबाट बाहिर निकाल्नु मोदी सरकारको महत्वपूर्ण कार्य हो । भारतको अन्तर्राष्ट्रिय साख स्थापित हुँदै गर्दा अब घरभित्र काम गर्नुपर्नेछ । अब रोजगारीको कुरा गर्नुपर्छ । युवा ‘डिभिडेन्ड’लाई हेर्नुपर्छ । नेपालमा पनि चर्चा भइरहेको छ कि डेमोग्राफिक डिभिडेन्ड छ, तर मानिस धमाधम बाहिर गइरहेका छन् । यसलाई सम्बोधन गर्ने कसरी, महत्वपूर्ण सवाल हो । 

चौथो, इन्डिया गठबन्धन एक गतिशील (भाइब्रेन्ट) प्रतिपक्ष भएको छ । तर, यो भुल्नु हुँदैन कि कंग्रेसले अल्पसंख्यक तुष्टीकरण तथा हिन्दू–मुस्लिम विभाजनको साथमा आफ्नो सिट बढाएको हो । यो औपनिवेशिक रणनीति हो र यसलाई चुनौती दिनुपर्छ अनि खारेज गर्नुपर्छ, किनभने विभाजनको तुष्टीकरण देशको हितमा हुँदैन । 

पाँचौँ, नेपालका लागि यसको के अर्थ छ त ? नेपाल र नरेन्द्र मोदीबीच अहिले सम्बन्ध सुदृढ छ । पछिल्लो दशकमा सम्बन्धले राम्रो गति लिइरहेको छ । नेतृत्व टिममा विहारका मुख्यमन्त्री नितिश कुमार पनि रहनुले नेपाललाई अतिरिक्त लाभ मिलेको छ । नेपालमा सकारात्मक बदलाबका लागि नितिश कुमार सहानुभूति राख्ने व्यक्ति हुन् । उनको कुरा दिल्लीले सुन्छ । भलै, निर्णय दिल्लीले राष्ट्रहितमा लिनेछ । नेपाललाई यो एक अवसर हो, जसको रणनीतिक लाभ लिँदै दुई देशको सम्बन्ध थप सुदृढ गर्न नेपालले पनि भूमिका निर्वाह गर्नुपर्छ । भारतले छिमेकको प्राथमिकतामा ध्यान दिनुपर्छ र नेपाललाई विशेष रूपमा सम्बोधन गर्नुपर्छ ।

मोदीले फेरि पनि निरन्तरता पाएका छन् । म सन् २०१५ देखि नेपाललाई नजिकबाट जान्दछु । सन् २०१४ मा मोदीले नेपालमा संसद्मा दिएको सम्बोधनको महत्व अहिले पनि छ । मोदीप्रति नेपालमा अलग्गै धारणा छ । नेपालप्रति मोदीको धारणा ‘छिमेक प्रथम’ नीतिभन्दा बेग्लै छ । अलग्गै लगाव छ उनको । यो लगावलाई नेपालको हितमा उपयोग गर्नुपर्छ । नितिशजी र मोदीजी मिल्दा अब ११ हुन्छ । किन नितिशजी भनेको हो भने उहाँ नेपाललाई नजिकबाट जान्नुहुन्छ । एक जोड एक दुई होइन, ११ भएर जानुपर्छ । 

दिल्ली र काठमाडौंको घेराबाट अब हामी बाहिर आउनुपर्छ । वीरगन्ज र पटनाबीच आर्थिक समबन्ध सुरु गर्दा के फरक पर्छ ? काठमाडौंले वीरगन्ज र जनकपुरलाई पहिला अपनाउनुपर्छ, दिल्ली, लखनउ वा पटना होइन । अब नेपालले आफ्नै बिजनेस बनाउनुपर्छ । मुम्बई भारतको आर्थिक राजधानी हो । तर, वीरगन्जको हालत हेरौँ त । आर्थिक राजधानीको कोरिडोरको अवस्था यस्तै हुन्छ ? भनेर प्रश्न उठिरहेको छ । यसमा दुवै सरकारले मिलेर काम गर्नुपर्छ । 

दश वर्षमा हामी कहाँ छौँ ? अघिल्लो समय भुलौँ । आज दुईचीच हेरौँ । प्राकृतिक स्रोतका सम्बन्धमा विश्वमा लुछाचुँडी र प्रतिस्पर्धा छ । किनभने स्रोत सीमित छ । उदाहरणका लागि हेरौँ, दश वर्षमा नेपालको मूल्यवृद्धि कहाँबाट कहाँ पुग्यो ? नेपाल अब आर्थिक रूपमा स्थापित हुनैपर्छ । अब नेपाललाई आर्थिक मुलुकका रूपमा हेर्नुपर्छ । भारतले राजनीतिक एंगल र दृष्टिकोणबाट होइन, नेपाललाई आर्थिक देशका रूपमा हेर्नुपर्छ । नेपाललाई आर्थिक रूपमा सबल बनाउन भारतको भूमिका हुनुपर्छ । अहिले भारत त्यही दिशातर्फ लागिरहेको देखिन्छ । दश वर्षमा महत्वपूर्ण काम भएको छ ।

नेपालमा सफल ‘स्टोरी’ छ । डाबरलगायत कम्पनीले काम गरेका छन्, राम्रो मुनाफा पनि कमाएका छन् । जलविद्युत्को मात्रै कुरा नगरौँ । युवाहरू आइटीमा काम गर्न चाहन्छन्, नयाँ प्रविधिमा उनीहरूको रुचि छ । नेपालमा आइआइटी खोल्न के गर्नुपर्छ ? हामीले व्यापार, हाइड्रो र धर्मको कोरिडोर खोलेका छौँ । अब दश वर्षमा आइटी र युवाकेन्द्रित कोरिडोर खोलिनुपर्छ । भारत र नेपालका युवा साथमा रहेर सहकार्य गर्छन् । यो काममा भारतले नेपाललाई सहयोग गर्नुपर्छ । आफ्ना युवालाई बाहिर जानबाट बचाउन दुवै सरकारले ध्यान दिनुपर्छ । यो नेपालको मात्रै समस्या होइन, भारतको पनि विषय हो । 

लोकतन्त्र एउटा प्रगतिशील सोच हो । नेपाल सानो देश हो । नेपालका जनता पुरानो दरबारप्रति श्रद्धा गर्छन्, दरबारलाई उनीहरूले कुनै समय आफ्नो पहिचान मान्थे । अब त्यो पहिचानबाट नेपाल बाहिर गइसकेको छ । नेपाल प्रगतिशील सोचबाट बाहिर जान सक्ने स्थिति छैन । नेपाल अघि बढ्नुपर्छ, पछि फर्किने होइन । कतिपय वृत्तमा चर्चा भनिरहेको सुनिन्छ, भारतको चुनावी परिणामपछि नेपालको पनि लोकतन्त्र बच्यो इत्यादि । नेपालको लोकतन्त्र खतरामा थिएन र छैन । 

हिन्दू विचारधाराका सन्दर्भमा त म नेपाललाई ‘कम्प्लिमेन्ट’ दिन चाहन्छु । नेपालको संविधानले सनातन मूल्य–मान्यतालाई स्थान दिएको छ । सनातन धर्म परम्परालाई यस्तो सम्मानित स्थान भारतको संविधानमा समेत छैन । नेपालको संविधानको धारा ४ ले सनातन धर्म संरक्षण गर्ने दायित्व स्पष्ट पारेको छ । यो नेपाललाई बधाई दिनलायक विषय हो । नेपालले दश कदम आफूलाई अघि बढाएको छ । अर्कातिर भारतबाट नेपालमा हिन्दुत्व विस्तार भइरहेको भन्ने कुप्रचार छ ।

जब नेपाल आफैँ दश कदम अघि छ भने धर्म विस्तार भारतबाट नेपालमा होइन, नेपालबाट भारतमा हुनेछ । नेपाल र भारत दुई अलग देश हुन्, तर हाम्रो साझा संस्कृति र सभ्यता अविभाज्य छन् । अहिले पश्चिमाहरू नेपाल र भारतमा आफ्ना प्रश्नको आध्यात्मिक उत्तर खोज्न किन आउँछन् ? यसलाई गहिरो गरी बुझ्नु जरुरी छ । यो क्रम रोकिनेवाला छैन । अर्कातिर, नेपालमा धर्म विस्तार भारतबाट भइरहेको छ भन्ने विषय राजनीतिक उद्देश्यबाट प्रेरित छ । यो सही सोच र यथार्थ होइन । 

भारतबाट नेपालमा ठूलो निजी लगानीको कुराकानी हुन्छ, तर यसबारे स्पष्ट हुनु जरुरी छ । भारतमा महिन्द्रा र टाटा कम्पनीको निकै चर्चा छ । उनीहरूले नाफा मात्रै कमाएनन् । टाटाले भारतमा रोजगारी मात्रै सिर्जना गरेको छैन, स्थानीय विकासमा पनि जोड दिएको छ । नेपालमा पनि टाटा र महिन्द्राको लगानी हुनुपर्छ । नेपालको तरक्कीमा उनीहरूको भूमिका हुनुपर्छ । नेपालमा समुदायमा आधारित र समुदायले नेतृत्व गरेको विकास मोडल सुरक्षित गर्नुपर्छ । अर्कातिर नेपालमा भारतको निजी क्षेत्रको लगानी कसरी सुरक्षित हुन्छ भन्ने बहस छ । कतिपय वृत्त संशयमा छ । जबकि संशय जरुरी छैन । 

नेपालमा लगानी सुरक्षित छ । गठबन्धन वा सरकार फेरबदल नेपालको राजनीतिक अस्थिरता होइन, राजनीतिक यथार्थ हो । सरकार फेरिँदैमा, प्रधानमन्त्री फेरिँदैमा केही हुँदैन । नेपालमा राजनीतिक अस्थिरता छैन, यही प्रकारको राजनीतिक गठबन्धनको विषय छ । संविधानले नै त्यस्तो परिकल्पना गरेकाले आगामी कैयौँ वर्षसम्म नेपालको राजनीतिक समीकरण यस्तै हुनेछ । तर, यसले नेपालमा लगानी गर्न र नाफा आर्जन गर्नबाट रोकिँदैन भन्ने उदाहरण डाबर, सूर्य नेपाल कम्पनी आफैँमा गतिला उदाहरण हुन् । डाबरलगायत कम्पनीले सधैँ नाफा कमाइरहेका छन् । किन ? यस प्रश्नको उत्तर खोज्यौँ भने नेपाल असुरक्षित छ भन्ने अफबाहको आफैँ जवाफ मिल्नेछ । 
(अन्तर्राष्ट्रिय विकासकी विज्ञ श्रीकान्त नेपाल–भारत सम्बन्धका जानकार हुन्)

सुझावित समाचार