ताली पड्काउने, हजुर, हस्, भइहाल्छजस्ता भाष्य मात्र नभएर कार्यसम्पादन स्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालू आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न गर्नुपर्ने बाँकी काम पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार आयोजित मन्त्रिपरिषद् कार्यालय र यसअन्तर्गतका निकायको चालू आवको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले आर्थिक वर्षको बाँकी अवधिमा निर्धारित काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
उनले चालू आवका बाँकी कार्यक्रम र क्रियाकलापको कार्यान्वयनमा शतप्रतिशत नतिजा प्राप्तिमा जोड दिनसमेत निर्देशन दिए । साथै, आगामी आवको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा आवश्यक पूर्वतयारी थाल्न पनि निर्देशन दिए । बैठकमा सल्लाहकारहरू, मुख्यसचिव, कार्यालय र अन्तर्गतका सचिव तथा कर्मचारी सहभागी थिए । उक्त अवसरमा चालू आवको तेस्रो त्रैमासिक अवधिको प्रगति, कार्यान्वयनमा देखिएका समस्या र चुनौतिबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
आगामी आवदेखि सबै राष्ट्रसेवकको नतिजा सूचकसहितको कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणालीको विकास गरी कार्यान्यवन गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए । सबैको कार्यसम्पादन स्तर र व्यवहारमा रूपान्तरण आवश्यक रहेको उनले औँल्याए । बोली मात्र नभएर व्यवहारमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न उनले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘मन्त्रिपरिषद् कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छजस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादन स्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।’