झोलुङे पुलको लट्ठा चुँडिँदा ६ घण्टासम्म बीचमै फसे खच्चड

उद्धार गर्नेक्रममा कर्णालीमा खसाउँदा दुई खच्चड मरे

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ र दैलेखको आठबिस नगरपालिका– ४ जोड्ने कर्णाली नदीमाथिको झोलुङे पुल हुँदै आइतबार बिहान खच्चडहरू नदी पार गरिरहेका थिए । अछामबाट सामान लिन दैलेखको खिड्कीजिउँला आउने क्रममा पुलको लट्ठा चुँडिदा १३ वटा खच्चड पुलमा फसे । ६ घण्टाभन्दा बढी समय खच्चड बीचमै फसेका थिए । 

लट्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अड्किए भने एउटा कर्णालीमा खस्यो । कर्णालीमा खसेको खच्चडलाई तत्कालै जीवितै उद्धार गरिएको थियो । पुलमा फसेका अन्य १३ मध्ये उद्धारका क्रममा दुईवटा खच्चड कर्णालीमा खसेर मरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा झोलुङे पुलको जाली काटेर खच्चडलाई कर्णालीमा खसाएर बोटका माध्यमबाट उद्धार गर्दा दुईवटा खच्चड मरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनील दाहालले जानकारी दिए । 

आइतबारको घटनासँगै पुलको लट्ठा चुँडिएको विषयलाई लिएर सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता प्रकाशकुमार बुढाले ठुल्ठूला सहरमा बनेका अर्बौँका भ्यु टावरले कर्णालीका पुल र तुइनको मर्म बुझ्न नसक्ने फेसबुकमा लेखेका छन् । ‘कर्णालीको एउटा घटनाले मन विक्षिप्त बनायो । ठुल्ठूला सहरमा बनेका अर्बौँका भ्यु टावरले कर्णालीका पुल र तुइनको मर्म बुझ्दैन, सायद गणतन्त्रपछिको समानुपातिक विकास भनेको यही हुनुपर्छ,’ उनले लेखेका छन् ।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता राजु गिरीले काठमाडौंमा राजनीतिक व्यापार गर्दा कर्णाली क्षेत्रमा अनेकन् दुःख र समस्या आइरहे पनि नदेखेको बताएका छन् । उनले लेखेका छन्, ‘कर्णालीका नाउँमा राजनीतिक व्यापार गर्ने राजाहरूलाई काठमाडौंमा दरबार र घरबार बनाउँदै ठीक छ, उता कर्णालीको हालत यस्तो छ विडम्बना !’

पञ्चदेवल विनायक नगरपालिका– ९ का वडाध्यक्ष रामप्रसाद जैसीका अनुसार सो पुल ०६१/६२ मा बनेको अनुमान गरिएको छ । जसअनुसार पुल बनेको २० वर्ष मात्रै भएको छ । सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभागअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजनका अनुसार नेपालका झोलुङे पुलको आयु सय वर्ष तोकिएको छ । तर, समय–समयमा मर्मतसम्भार नभए जतिवेला पनि भत्कन सक्छ ।

अहिले भत्किएको पुल निर्माण भएको २० वर्ष पनि पुगेको देखिँदैन । नेपालमा अहिले नौ हजारभन्दा बढी झोलुङे पुल छन् । ‘पुलको दुईतर्फकै लट्ठामा खिया लागिसकेको रहेछ, त्यही लट्ठा चुँडिएको छ । खियाकै कारणले चुँडिएको हो कि अन्य कारण हुन सक्छ भन्ने विषयमा सोधिखोजी गरिरहेका छौँ,’ वडाध्यक्ष जैसीले भने ।

पूर्वाधारविज्ञ एवं इन्जिनियर आशिष गजुरेल झोलुङे पुलको आयु मर्मतसम्भारमा भर पर्ने बताउँछन् । ‘नेपालमा सय वर्ष कटेका झोलुङे पुल अझै छन्, कतिसम्म आयु रहन्छ भन्दा पनि के–कति मर्मतसम्भार गरिन्छ त्यसमा भर पर्छ । नियमित मर्मत भए धेरै वर्षसम्म टिक्छ, यदि बेवास्ता गरियो र केही रेखदेख गरिएन, चेकजाँच गरिएन भने छिट्टै चुँडिन्छ,’ उनले भने । पुलको लट्ठा चुँडिएसँगै दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ । स्थानीयहरू पनि त्रसित भएका छन् । 

सुझावित समाचार