आइसिसी टी–२० विश्वकप : युगान्डा विश्वकपकै कम योगफलमा अलआउट

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

नवप्रवेशी युगान्डा आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताकै कम योगफलमा समेटिएको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गतको १८औँ खेलमा युगान्डा ३९ रनमै समेटिएको हो । सन् २०१४ मा नेदरल्यान्ड्स पनि ३९ रनमै अलआउट भएको थियो । तर, रनरेटका आधारमा युगान्डा टी–२० विश्वकपकै सस्तो रनमा अलआउट हुने टोलीका रूपमा रह्यो । समूह ‘सी’को खेलमा वेस्ट इन्डिजले पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेट गुमाएर १७३ रनको बलियो योगफल खडा गर्यो । 

प्रत्युत्तरमा युगान्डाका सबै खेलाडी १२ ओभरमै पेभेलियन फर्कंदा विश्वकपमा रेकर्ड बन्यो । वेस्ट इन्डिज १३४ रनले विजयी हुने क्रममा अकेल हुसेनले घातक बलिङ गरेका थिए । उनले चार ओभरमा ११ रन खर्चेर पाँच विकेट लिए । उनले आफ्नो स्पेलमा १९ डट बल फ्याँकेका थिए । उनको ओभरमा दुई चौका प्रहार भएको थियो । हुसेनले २.७५ रनरेटमा बलिङ गरेका थिए । युगान्डाको ब्याटिङ इनिङ्समा जुमा मियागीले सर्वाधिक १३ रनको योगदान दिए । उनले २० बलको सामना गरेका थिए । युगान्डाले अतिरिक्त पाँच रन पाएको थियो । 

युगान्डाको कमजोर प्रदर्शन
१७४ रन लक्ष्य पछ्याएको युगान्डाले सुरुदेखि नै गतिलो प्रदर्शन गर्न सकेन । पहिलोदेखि आठौँ क्रमका ब्याट्सम्यानले दोहोरो अंकमा रन नै बनाउन सकेनन् । इनिङ्सको दोस्रो बलमै रोगेर मुकासा पेभेलियन फर्के । युगान्डाले पावर प्लेमा ६ विकेट गुमाएको थियो । दिनेश नक्रानीको विकेट गुमाउँदा युगान्डाले स्कोर बोर्डमा २२ रन जोडेको थियो । इनिङ्सको १० ओभरसम्म अफ्रिकी राष्ट्र युगान्डाले नौ विकेट गुमाइसकेको थियो । यस क्रममा स्कोर बोर्डमा ३४ रन थियो । सो इनिङ्समा विकेटकिपर ब्याट्सम्यान रोबिन्सन ओबुयाले ६, अल्पेस राजनीले ५, केनेथ वेस्वाले १ र कप्तान ब्रियान मासावाले १ रनको योगदान दिए । केनेथले १० बल सामना गरेका थिए । युगान्डका कुनै पनि खेलाडीले छक्का प्रहार गर्न सकेनन् । 

वेस्ट इन्डिजको आक्रामक ब्याटिङ
पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले आक्रामक खेल्यो । ओपनर ब्रान्डन किङ र जोन्सन चाल्र्सले पहिलो विकेटका लागि ४.३ ओभरमा ४१ रनको साझेदारी गरेका थिए । किङले ८ बलमा १३ रन जोडे । त्यसपछि निकोलास पुरन र जोन्सनबीच दोस्रो विकेटका लागि ३५ रनको साझेदारी भयो । पुरनले १७ बलमा २२ रन जोडे । जोन्सनले ४२ बलमा चार चौका र तीन छक्का प्रहार गरी ४४ रनको योगदान दिए । पुरनले १७ बलमा तीन छक्का हिर्काए । त्यसपछि कप्तान रोभमान पावेल र सफ्राने रुथफोर्डले चौथो विकेटका लागि २० रन बनाए । पावेलले १८ बलमा समान एक चौका र छक्का प्रहार गरी २३ रन जोडे । रुथफोर्डले १६ बलमा २२ रन बटुले । एन्डे« रुसेलले १७ बलमा ६ चौकाको सहयोगमा ३० रन जोडे । 

 साबिक विजेता इंग्ल्यान्ड अस्ट्रेलियासँग पराजित
प्रतियोगिताअन्तर्गत समूह ‘बी’मा शनिबार राति अस्ट्रेलियाले साबिक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी सात विकेट गुमाएर २०१ रन बनाएको थियो । अस्ट्रेलियाले प्रतियोगितामा पहिलोपटक दुई सय रनको योगफल कटाएको हो । प्रत्युत्तरमा इंग्ल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन जोडेको थियो । 

अस्ट्रेलियाले आफ्नो समूहमा लगातार दुई खेलमा जित निकाल्यो । इंग्ल्यान्डले दुई खेलबाट १ अंक मात्र बटुलेको छ । अस्ट्रेलियाको ब्याटिङमा ओपनर टेभिस हेड र डेभिड वार्नरले पहिलो विकेटका लागि ४.६ ओभरमा ७० रन जोडेका थिए ।

वार्नरले १८ बलमा दुई चौका र चार छक्का प्रहार गरी ३९ रन जोडे । ५.४ ओभरमा हेड आउट हुनुअघि १८ बलमा तीन छक्का र दुई चौका प्रहार गरी ३४ रन बटुले । त्यसपछि कप्तान मिचेल मार्स र ग्लेन म्याक्सवेलबीच तेस्रो विकेटका लागि ६५ रनको साझेदारी भयो । मार्सले २५ बलमा समान दुई चौका र छक्का प्रहार गी ३५ रन जोडे । म्याक्सवेलले २५ बलमा तीन चौका र एक चक्क प्रहार गरी २८ रन बटुले । मार्कोस स्टोनिसले १७ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३० रन जोडे । 

सुझावित समाचार