केन्द्रको सत्तासमीकरण फेरबदलको प्रभाव प्रदेशमा देखिँदा यसको असर कस्तो पर्छ ?
नेपालका सन्दर्भमा पार्टीहरू संघीय स्वरूपका छन् । केन्द्रमा आउने उतारचढावको सोझो असर प्रदेशमा रहेका सरकारमा पर्दै आएको देखिन्छ । केन्द्रीकृत मानसिकताको उपजका रूपमा यस्तो प्रभाव देखा परेको हो । गणितको खेलमा मात्र दलहरू केन्द्रित बन्न पुगेका छन् । अब पहिलो दल बन्दैमा मात्र सरकार बन्ने अवस्था छैन । संख्या कम भए पनि जसलाई अगाडि सार्दा समीकरण भत्काउन सहज हुन्छ, त्यसैलाई अगाडि बढाउने गरिएको छ । उदाहरणका रूपमा मधेशमा चौथो दल जनमत पार्टीले सरकारको नेतृत्व पाएको अवस्थालाई लिन सकिन्छ ।
मधेशमा पुरानो शक्तिको बहिर्गमन र नयाँ शक्तिको सत्तारोहणले के सन्देश दिन्छ ?
पछिल्लो समय मधेशमा मधेश आन्दोलनको नेतृत्व गरेर उदाएको जसपा पहिलोपटक सरकारबाट बाहिरिएको छ । त्यहाँ चौथो दलका रूपमा रहेको जनमतले सरकारको नेतृत्व पाएको छ । आन्दोलनको नेतृत्व गरेको हिसाबले मात्र अब सत्तामा रहिरहने अवस्था छैन भन्ने नयाँ शक्तिको प्रादुर्भावले देखाएको छ । पुरानो शक्तिको एकछत्र राजलाई यसले चुनौती दिएको छ ।
सरकार गठनमा सानो संख्या निर्णायक बन्ने अवस्थालाई कसरी लिन सकिन्छ ?
हाम्रो सन्दर्भमा गठबन्धनको संस्कृति नभएकाले यस्तो अवस्था आएको हो । यसले गर्दा प्रदेशका सरकार अस्थिर बनेका छन् । सरकार बन्न नसक्ने अवस्थाका कारण मध्यावधिमा पुग्ने खतरा देखिने गरेको छ । यसले जनमानसमा संघीयताप्रति नकारात्मक धारणा बढाउने जोखिम सधैँ नै रहिरहेको छ ।