छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै तिरहुट टाइगर्स राजविराजमा जारी छैटाैँ संस्करणको सप्तरी प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ।
पब्लिक विन्देश्वरी मैदानमा तिरहुट टाइगर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको छिन्नमस्ताले पूरै २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनायो। सुमित नेवारले अविजित ७२ रन बनाए तापनि जितको लागि पर्याप्त हुन सकेन। सुमितले ३७ बलमा ४ चौका र ६ छक्का प्रहार गरेका थिए। मयन यादवले ३६ तथा विकास दासले २३ रनको योगदान दिए।
बलिङतर्फ तिरहुटका अनिल यादवले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिएका थिए। रूपेश सिंहले २ तथा दीपेश कँडेलले १ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको तिरहुट टाइगर्सले २० ओभरमा सबै विकेट गुमाएर १६७ रन बनायो। तिरहुटको लागि खेलको प्लेयर अफ द म्याचसमेत घोषित भएका बसिर अहमदले सर्वाधिक ७४ रन योगदान दिए। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै, अमित यादवले ४२ रन बनाए, जस क्रममा ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
बलिङतर्फ छिन्नमस्ता लायन्सका फिर्दोस अन्सारीले सर्वाधिक ३ विकेट लिए। सो क्रममा उनले ४ ओभरमा ३१ रन खर्चिए। मोहम्मद सोहेल र भीम सार्कीले समान २ विकेट तथा विशाल पटेलले १ विकेट लिए।
पराजित छिन्नमस्ताले अब फाइनल प्रवेशको लागि दोस्रो मौका पाउनेछ। इलिमिनेटरमा कञ्चनरूप राइनोज र सनराइज तिलाठी कोइलाडी एघारबीचको खेलको विजेतासँग छिन्नमस्ताले फाइनल प्रवेशका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ।