विश्वकपमा पाकिस्तानको कमजोर सुरुवात
आश्चर्यजनक परिणाम निकाल्दै सहआयोजक अमेरिकाले आइसिसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई परास्त गरेको छ।
बिहीबार राति सम्पन्न खेलमा निर्धारित २० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरमा अमेरिकाले पाकिस्तानलाई झड्का दिएको हो।
समूह ‘ए’मा रहेको पाकिस्तानले पहिलो म्याचमै पराजय व्यहोरेको छ। यससँगै यो समूहको भिडन्त पनि निकै रोचक बनेको छ। दुई खेलमा दुवै जितसहित चार अंक लिएर अमेरिका शीर्ष स्थानमा छ भने भारत पहिलो खेलमा विजयी हुँदै दुई अंकसहित दोस्रो स्थानमा छ।
पाकिस्तानसँगै क्यानडा र आयरल्यान्ड पनि आ–आफ्ना पहिलो म्याचमा पराजित भइसकेका छन्। टेस्ट मान्यताप्राप्त बलियो टिम पाकिस्तानलाई पराजित गरेसँगै अमेरिकाले सुपर एटमा प्रवेश गर्ने सम्भावनालाई पनि बलियो बनाएको छ।
अमेरिकाले ऐतिहासिक जित आत्मसात् गर्ने क्रममा सुपर ओभरसम्मको यात्रा तय गर्याे । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो।
एक सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ५९ रन मात्र बनाउन सक्यो।
त्यसपछि खेल सुपर ओभरमा प्रवेश गर्याे । जहाँ अमेरिकाले पहिले ब्याटिङ गर्दै १८ रन बनायो । १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन मात्र बनाउन सकेपछि अमेरिका विजयी बन्यो।
त्यसअघि अमेरिकाले कसिलो बलिङ गर्दै पाकिस्तानलाई सुरुवातदेखि नै संकटमा पारेको थियो। पावर प्ले सकिँदा पाकिस्तानले तीन विकेट गुमाएर जम्मा ३० रन बनाएको थियो। संकटमा परेको पाकिस्तानलाई ३९ बलमा ५० रनको साझेदारी गर्दै कप्तान बाबर आजम र सादब खानले सम्हाल्ने प्रयास गरेका थिए। तर, लगत्तै सादब आउट भएपछि पाकिस्तान सम्हालिन सकेन।
मुख्य ब्याटरहरू जिम्मेवारी निभाउन असफल भएको खेलमा १६ बलमा अविजित रहँदै २३ रनको महत्त्वपूर्ण योगदान दिए। यस्तै, इफ्तिकार अहमदले १४ बलमा १८ रन बनाए । कप्तान बाबरले ४३ बलमा ४४ रन बनाउँदा सादबले ४० रनको योगदान दिए।
बलिङमा पनि पाकिस्तान कमजोर देखियो। अमेरिकाका कप्तान मोनांक पटेलले ३८ बलमा सर्वाधिक ५० रनको योगदान दिए। यस्तै, एरोन जोन्सले २६ बलमा ३६ तथा एन्ड्रिस गौसले २६ बलमा ३५ रनको विजयी इनिङ्स खेले।