काँक्रो, गाँजर, मुला, प्याजको टुक्रालगायत सलाद हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका हुन्छौँ । सलादमा भिटामिन ई, भिटमिन सी, फाइबरलगायत पर्याप्त पाइन्छ । यसले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ । गर्मी मौसममा सलादको महत्व अझै बढ्छ । किनकि यसले शरीरलाई शीतल बनाइराखेको हुन्छ । घरमै स्वादिष्ट सलाद यसरी बनाउन सकिन्छ ।
फ्रेन्च मेस्कुलन सलाद
यो सलाद बनाउन कलिलो खालको मिक्स लेटुस २०० ग्राम (कम्तीमा पाँच प्रकारका) लिएर आइस वाटरमा धोएर सुक्खा क्रन्ची बनाउने । मस्टर्ड मेस्ट आधा चम्चा, रेड वाइन या सेरी भिनेगर दुई चम्चा, दुई ड्रप्स जैतुनको तेल र नुन स्वादअनुसार हालेर ड्रेसिङ बनाई पत्तामा मिसाएर सर्भ गर्न सकिन्छ । यो सलाद विश्वभर अति नै लोकप्रिय छ । साइड सलाद होस् या अप्पिटाइजर, जसरी नि पस्कन सकिन्छ ।
लेबनिस कुकम्बर कर्ड सलाद
यो सलाद बनाउन सजिलो छ । स्वास्थ्यका लागि पनि यो अति फाइदाजनक छ । एउटा काँक्रोलाई स–साना टुक्रामा काटेर एउटा बाउलमा राख्ने । एक कप लो फ्याटवाला प्लेन दही लिएर एउटा लेमन निचोरेर हाल्ने । दुई मुन्टा पुदिना चप गरेर (ड्राई मिन्ट पनि प्रयोग गर्न सकिन्छ) हाल्दिने र दुई केस्रा लसुन चप गरी मिसाउने । अन्त्यमा स्वादअनुसार नुन हालेर मज्जाले घोल्ने र काटेको काँक्रोमा खन्याइदिने । माथिबाट दुई ड्रप जैतुनको तेल हालेर सर्भ गर्न सकिन्छ ।