भारतले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आयरल्यान्डलाई आठ विकेटले हराएको छ । समूह ‘ए’को पहिलो खेलमा भारतलाई जित दिलाउन फास्ट बलरको योगदान धेरै रह्यो । न्युयोर्कको नसाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार पहिलो ब्याटिङ गरेको आयरल्यान्ड १६ ओभरमा ९६ रनमा समेटियो ।
टी–२० विश्वकपको पहिलो संस्करण विजेता भारतले १२.२ ओभरमा दुई विकेटको नोक्सानीमा ९७ रन जोड्यो । भारतका लागि ऋषभ पन्तले विजयी छक्का प्रहार गरेका थिए । भारतले ४६ बलअघि जित निकाल्न कप्तान रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । उनले ३७ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । रिटायर्ड हट भएर उनले क्रिज छाडे । १७औँ आइपिएलमा सर्वाधिक रन बटुलेका विराट कोहली १ रनमा आउट भए ।
सूर्यकुमार यादव २ रनमा पेभेलियन फर्के । भारतका लागि ऋषभ पन्तले २६ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३६ रन बनाए । भारतीय कप्तान रोहितले अन्तर्राष्ट्रिय टी–२० खेलमा कम बलमा चार हजार रन पूरा गरेका छन् । उनले दुई हजार आठ सय ६० बलमा यो उपलब्धि हात पारेका हुन् । यसअघि कोहलीको नाममा कम बलमा चार हजार रनको रेकर्ड थियो । उनले २९ सय बलमा चार हजार अन्तर्राष्ट्रिय रन पूरा गरेका थिए । रोहितले टी–२० फम्यार्टमा ६ सय छक्का पूरा गरेका छन् ।
भारतीय सिमरको कसिलो बलिङ
न्युयोर्कको मैदानमा भारतीय सिमरले कसिलो बलिङ गरे । उनीहरूको घातक बलिङका कारण आयरल्यान्डको अनपेक्षित ब्याटिङ प्रदर्शन भएको थियो । आयरल्यान्डले भारतविरुद्ध टी–२० विश्वकपकै ३२औँ कम योगफल खडा गरेको हो । दुई साताअघि मात्र इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी भएका भारतीय टोलीका अधिकांश बलरले आयरल्यान्डविरुद्ध घातक बलिङ गरेका थिए । हार्दिक पाण्ड्याले मेडन ओभरसहित २७ रन खर्चेर तीन विकेट लिए ।
उनले चार ओभर बलिङ गरे । जसप्रीत बुमराह र अर्सदीप सिंहले समान दुई विकेट हात पारे । अर्सदीपले चार ओभरमा ३५ रन खर्चे । बुमराहले तीन ओभरमा एक मेडन राखी ६ रन खर्चेर दुई विकेट लिए । अक्षर पटेलले केवल एक ओभर मात्र बलिङ गरी एक विकेट लिन तीन रन खर्चेका थिए । भारतका लागि मोहमद सिराजले तीन ओभरमा १३ रन खर्चेर एक विकेट हात पारे ।
गेराथको सर्वाधिक २६ रन
पहिलो ब्याटिङ गरेको आयरल्यान्डले पावर प्लेमै तीन विकेट गुमाएर २८ रन जोडेको थियो । सुरुवाती स्पेलमा अर्सदीपले दुई र पाण्ड्याले एक विकेट लिँदा आयरल्यान्ड ६.५ ओभरमा २८–३ को कमजोर अवस्थामा रह्यो । ओपनर एन्डी बाल्बिनेले १० बलमा ५ तथा कप्तान पाउल स्टेर्लिङले ६ बलमा २ रन बनाए । विकेटकिपर ब्याट्सम्यान लार्कान टुकेरले १३ बलमा १० रन जोडे । इनिङ्सको १०.१ ओभरमा आयरल्यान्डले सात विकेट गुमाइसकेको थियो । स्कोर बोर्डमा आयरल्यान्डले ४९ रन जोडेको थियो ।
कमजोर ब्याटिङ इनिङ्समा गेराथ डेलानीले भारतीय बलरको सामना गरेका थिए । उनले १४ बलमा समान दुई चौका र छक्का प्रहार गरी सर्वाधिक २६ रन बनाए । उनी फ्री हिटमा रनआउट भएका थिए । लोस लिटलले १३ बलमा दुई चौकाको सहयोगमा १४ रन जोडे । आयरल्यान्डको ब्याटिङमा तीन छक्का र आठ चौका प्रहार भएको थियो ।
आजको खेल
पपुवा न्युगिनीविरुद्ध युगान्डा
समय– ५:१५ बिहान
अस्ट्रेलियाविरुद्ध ओमान
समय– ६:१५ बिहान
अमेरिकाविरुद्ध पाकिस्तान
समय– ९:१५ राति