सन् २०१४ र २०१९ मा लोकसभामा एक्लै स्पष्ट बहुमत ल्याएको भाजपाले यो निर्वाचनमा बहुमत ल्याउन सकेन । भाजपा नेतृत्वको गठबन्धन ‘एनडिए’ले भने सरकार निर्माणका लागि स्पष्ट बहुमत ल्याएको छ । र, यो नतिजासँगै भारतले गठबन्धन सरकार पाउने निश्चित भएको छ । यो निर्वाचनको नतिजा सन् १९९१ को लोकसभाकै जस्तो देखिन्छ । सन् १९९१ मा कंग्रेसले २३२ सिट जित्दा पिभी नरसिंह राव प्रधानमन्त्री बनेका थिए । उनी नेतृत्वको गठबन्धन सरकार पूरै पाँच वर्ष चलेको पनि थियो । यसपटक भाजपा २४० सिटवरपर सीमित हुँदा गठबन्धन उसको बाध्यता बनेको छ ।
फेल खाए एक्जिट पोल
यसपटकका लोकसभा निर्वाचनका विजेताबारे अधिकांश मत–सर्वेक्षण फेल खाएका छन् । जुन १ को निर्वाचनपछि जारी भएका १२ मध्ये दुई एक्जिट पोलले भाजपाको नेतृत्वको नेसनल डेमोक्रेटिक एलायन्स (एनडिए)ले ४०१ सिट जित्न सक्ने प्रक्षेपण गरेका थिए । तेस्रो न्युज २४ टुडे र चाणक्यले मिलेर गरेको मत–सर्वेक्षणले पनि एनडिएले चार सय सिट ल्याउने प्रक्षेपण गरेका थिए भने अन्य तीन एबिपी न्युज– सी भोटर, जन की वात र न्युज नेसनले एनडिएले क्रमशः ३८३, ३९२ र ३७८ सिट ल्याउने आकलन गरेका थिए ।
टिभी ९ भारतवर्ष पोलस्ट्राट, टाइम्स नाउ इटिजी र रिपब्लिक टिभी पी मार्कले विपक्षी इन्डिया गठबन्धनले क्रमशः १६६, १५२ र १५४ सिट जित्ने आकलन गरेका थिए । त्यस्तै न्युज नेसन, एबिपी न्युज सी भोरले १५२ र १८२ सिट ल्याउने प्रक्षेपण गरेका थिए । त्यसैगरी इन्डिया न्युज डी डाइनामिक्स र न्युज २४ टुडे चाणक्यले विपक्षी गठबन्धनले १०९ र १६६ सिटको आकलन गरेका थिए ।
भाजपा अयोध्यामै पराजित !
रामको नाममा निर्वाचन लडेको भाजपा राममन्दिर रहेको अयोध्या क्षेत्रमा नै पराजित भएको छ । भाजपाले राममन्दिर निर्माणलाई ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भन्दै पूरै भारतभर चुनावी प्रचारको अस्त्रका रूपमा प्रयोग गरेको थियो । तर, लोकसभा चुनावमा महत्वपूर्णमध्ये एक मानिएको उत्तर प्रदेशको फैजावाद (अयोध्या) सिटमै भाजपा पराजित हुन पुग्यो । यो निर्वाचनमा उसको हिन्दूकार्ड असफल भएको देखिन्छ ।
हारे कन्हैया कुमार र स्मृति इरानी
चर्चित विद्यार्थी नेता तथा प्रखर वक्ता कन्हैया कुमार पराजित भएका छन् । उत्तरपूर्वी दिल्लीमा कंग्रेस पार्टीबाट उम्मेदवार कुमार भाजपाका मनोज तिवारीसँग पराजित भएका हुन् । तिवारी तेस्रोपटक विजयी भएका हुन् । जवाहरलाल नेहरू युनिभर्सिटीको विद्यार्थी युनियनका पूर्वप्रमुखसमेत रहेका कुमारले एक्समा आफ्नो पराजय स्विकार्दै लेखेका छन्, ‘म उत्तर–पूर्वी दिल्लीका जनता, कंग्रेस पार्टी र हाम्रो चुनावमा योगदान गर्ने इन्डिया समूहका सबै कार्यकर्ता, सहकर्मी र सहयोगीलाई हृदयदेखि धन्यवाद दिन्छु । यो चर्को गर्मीमा चुनाव गराउनु एउटा कठिन जिम्मेवारी थियो । यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोग, प्रहरी, सुरक्षाकर्मी र प्रशासन पनि बधाईका पात्र हुन् ।’ उनले अगाडि भनेका छन्, ‘अन्त्यमा, विपक्षी दलका उम्मेदवार मनोज तिवारीलाई तेस्रोपटक सांसद निर्वाचित भएकोमा बधाई तथा शुभकामना !’ सांसद तिवारीले जनताको अपेक्षा पूरा गर्ने उनले विश्वास लिएका छन् ।
पाँच वर्षअघि आफ्नो पारिवारिक गढमा कंग्रेस नेता राहुल गान्धीलाई पराजित गरेकी केन्द्रीय मन्त्री स्मृति इरानी यसपटकको लोकसभा चुनावमा भने पराजित भएकी छिन् । अप्रिलमा इरानीले उत्तर प्रदेशको अमेठीबाट राहुल गान्धी वा उनकी बहिनी प्रियंका गान्धी वाड्रासँग हुन सक्ने सम्भावित प्रतिस्पर्धालाई खिल्ली उडाउँदै भनेकी थिइन्, ‘प्रतिस्पर्धामा जो आए पनि ती ढुक्कले पराजित हुनेछन् ।’ तर, यसपटक इरानकी प्रतिद्वन्द्वी दुवै थिएनन् । गान्धी परिवारका बफादार मानिने केएल शर्मा पहिलोपटक सो क्षेत्रबाट उम्मेदवार उठेका थिए । शर्माले अमेठीमा इरानीलाई एक लाख ६० हजार मतान्तरले पराजित गरे । यसअघि सन् २०१९ मा कंग्रेस नेता राहुल गान्धीलाई इरानीले अमेटीमा ५५ हजार मतान्तरले हराएकी थिइन् ।
युपीमा भाजपालाई ठूलो झड्का
यसपटककोे लोकसभा निर्वाचनको नतिजा विश्लेषक तथा मत–सर्वेक्षणले प्रक्षेपण गरेभन्दा फरक आएको छ । अधिकांश मत–सर्वेक्षणले प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक एलाएन्स (एनडिए)ले सहज जित हात पार्ने प्रक्षेपण गरेका थिए । तर, भाजपाले संसद्मा एकल बहुमत गुमाउने देखिएको छ । पार्टीले उसको गढ मानेकोे उत्तर प्रदेशमा अनपेक्षित झड्का व्यहोर्नुपरेको छ । लोकसभाका मतदान भएका ५४३ सिटमध्ये सबैभन्दा बढी ८० सिट रहेको उत्तर प्रदेशमा भाजपालाई ठूलो धक्का लागेको छ । त्यहाँ अघिल्ला दुई चुनावमा भाजपाले लगभग एकलौटी जित निकालेको थियो । सन् २०१४ मा भाजपाले युपीका ८० मध्ये ७१ सिट जितेको थियो भने पाँच वर्षअघि सन् २०१९ मा ६२ सिट सुरक्षित गरेको थियो ।
यसपटक सो राज्यमा अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी र कंग्रेस मिलेर बनेको इन्डिया गठबन्धनले एनडिएमाथि अग्रता लिएको छ । भाजपा ८० मध्ये ३५ सिटमा अगाडि छ । जबकि विपक्षी इन्डिया गठबन्धन ४४ सिटमा अगाडि देखिएको छ । हिन्दुत्वको नारा उचालिरहेको भाजपाविरुद्ध मुस्लिम मत एकतित्र भएको अनुमान गरिएको छ । निर्वाचन अभियानमा प्रधानमन्त्री मोदी तथा अन्य भाजपाका नेताले पनि मुस्लिमविरुद्ध अपमानजनक अभिव्यक्ति दिएका थिए ।
भाजपा र कंग्रेसको कुन निर्वाचनमा कति सिट ?
भाजपाले सन् १९९९ को लोकसभा निर्वाचनमा १८२ सिट जितेको थियो । सन् १९९९मा भाजपाले स्पष्ट बहुमत नपाए पनि भाजपाबाट अटल बिहारी बाजपेयी प्रधानमन्त्री भए । उनले पूरै कार्यकाल सफलतापूर्वक गठबन्धन सरकार चलाएका थिए । सन् २००४ को निर्वाचनमा भने भाजपाले १३८ सिट मात्रै जितेर सत्ता गुमाउन पुगेको थियो ।
सन् २००९ को निर्वाचनमा भाजपाले ११६ सिट जित्यो । त्यसपछि सन् २०१४ को आमनिर्वाचनमा नरेन्द्र मोदीको नाममा चुनाव लडेर भाजपाले २८२ सिट जितेको थियो । मोदीकै नाममा लडेको सन् २०१९ को निर्वाचनमा भाजपाले ३०३ सिट जित्यो । भाजपा यसपटक पनि प्रधानमन्त्री मोदी र ‘मोदीका ग्यारेन्टी’का नाउँमा निर्वाचनमा होमिएको थियो । तर, यसपटक भने २४० भित्रै समेटिने भयो । भाजपाले ६० जति सिट गुमाउने देखिएको छ ।
कंग्रेसले सन् २००४ मा भाजपाले भन्दा सात सिट बढी १४५ सिट जितेर सरकार बनाएको थियो । उसले सन् २००९ मा २०६ सिट जित्यो । सन् २०१४ को निर्वाचनमा ४४ सिटमा खुम्चिन पुगेको कंग्रेसले सन् २०१९ को लोकसभा निर्वाचनमा भने ५२ सिट जितेको थियो ।