गिरीबन्धु प्रकरणमा कांग्रेसलाई एमालेको प्रश्न– कानुन बनाउँदा किन संशोधन नहालेको ?

आफैँ छानबिन गरेर रिपोर्ट ल्याउन योगेशको चुनौती

मंगलबार, २२ जेठ, २०८१
डिजिटल संस्करण

नेकपा एमालेका सांसद योगेश भट्टराईले गिरीबन्धु टी–इस्टेट प्रकरणमा आफ्ना पार्टी अध्यक्षविरुद्ध नियोजित षड्यन्त्र भएको भन्दै असन्तुष्टि  जनाएका छन्।

संसदमा प्रतिनिधित्व गर्ने सबै दल मिलेर कानुन बनाए पनि अहिले एमाले अध्यक्ष केपी ओलीमाथि जग्गा सट्टापट्टाबारे विभिन्न आरोप लगाइएको भट्टराईको भनाइ छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘सम्मानित सर्वोच्च अदालतको आदेशबमोजिम संसद्ले कानुन बनायो । कानुन बनाउँदा कुनै पनि राजनीतिक दलको त्यसमा विमति थिएन । नेपाली कांग्रेसको पनि त्यसमा कुनै संशोधन प्रस्ताव थिएन । हामी सबैले मिलेर त्यो कानुन बनाएका हौँ।’

साे कानुन कार्यान्वयन गर्ने क्रममा कमजोरी भएको स्वीकार गर्दै उनले सोही विषयलाई लिएर एमाले अध्यक्ष ओलीमाथि षड्यन्त्रहरू भएका बताए।

पशुपतिनाथको जलहरीको विषयमा समेत यस्तै आरोप लगाइएको भन्दै भट्टराईले भने, ‘त्यसलाई हामीले अन्यथा मानेनौँ, छानबिन होस् भन्यौँ । अन्तिममा ट्याइँट्याइँ फिस, केही पनि थिएन।’

०४६ सालपछि वा अघि जुनसुकै समयको विषयमा छानबिन गर्न एमाले तयार रहेको भन्दै उनले त्यसको आफैँ छानबिन गरेर  संसदमा रिपाेर्ट पेस गर्न चुनाैती दिए।

‘कांग्रेसकै साथीहरू बसेर छानबिन गर्नुस्। तपाईंहरू नै बसेर छानबिनको रिपोर्ट ल्याउनुस् यो संसदमा । ती सबै छानबिनको रिपोर्टको सामना गर्न एमाले तयार छ,’ उनले भने।

सुझावित समाचार