प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले आसन्न मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिको आकलन गरी न्यूनीकरण र रोकथामका योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न माग गरेका छन्।
बैठकमा नेकपा एमालेका रघुजी पन्तले बाढी र पहिरोबाट हुन सक्ने क्षतिको प्रक्षेपण सार्वजनिक भसकेकाले त्यसको रोकथामको योजना बनाएर कार्यान्वयन गर्न माग गरे।
सोही दलका मानवीर राईले सोलुखुम्बुमा बाढी, पहिरो र हिमपहिरोको जोखिम भएकाले रोकथामको पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई आग्रह गरे।
नेकपा एमालेकै मनबहादुर गुरुङले हुरी र वर्षाबाट कास्कीको रूपा गाउँमा क्षति भएको र पीडितलाई सघाउन सरकारको ध्यानाकर्षण गराए।
नेकपा माओवादी केन्द्रका माधव सापकोटाले वर्षायाम सुरु हुन लागेकाले तातोपानी नाका स्तरोन्नतिका लागि चीनसँग भएको सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराए।
कांग्रेसका रामहरि खतिवडाले मध्यपहाडी राजमार्गको घुर्मी पुल वर्षायाम प्रारम्भ हुनुअघि बनाउन माग गरे।
सरकारले यसपालि बाढीपहिरोलगायत विपतका घटनाबाट चार लाख घरपरिवारका १८ लाख एक हजार जनसंख्या प्रभावित हुने आकलन गरेको छ ।