पोखरामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

सवारी दुर्घटनामा परी सोमबार पोखरामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

पोखरा महानगरपालिका– १३ गौँडाको मुखस्थित बिपी मार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार पोखरा– १३ काहुखोला बस्ने वर्ष १८ की बबिता रिमाल रहेकी छिन्। दुर्घटनामा परी घाइते भएकी रिमाललाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, मोटरसाइकलचालक पोखरा– १४ चाउथे बस्ने २९ वर्षका कमल थापा क्षेत्री घाइते भएका छन्। अवस्था सामान्य रहेका उनको दुवै खुट्टा र दायाँ हातमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।

घटनापछि सि.आर.भी. भद्रकालीबाट खटिएको प्र्रहरी टोलीले मोटरसाइकलसँगै टिपर र टिपरचालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान कार्य सुरु गरेको जनाएको छ।

सुझावित समाचार