सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको छैठौँ संस्करणअन्तर्गत चौथो दिन सम्पन्न पहिलो खेलमा कञ्चनरूप राइनोज विजयी हुँदा दोस्रो खेल भने वर्षाका कारण नतिजाविहीन भएको छ।
सोमबार भएको पहिलो खेलमा कञ्चनरूप राइनोजले तिरहुट टाइगर्सलाई २ रनले पराजित गर्यो। कञ्चनरूप राइनोजले दिएको १६८ रनको लक्ष्य पछ्याएको तिरहुट टाइगर्सले पूरै २० ओभरमा सबै विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो।
अन्तिम ३ बलमा जितको लागि १७ रन आवश्यक हुँदा रुपेश सिंहले लगातार दुई छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक मोड दिएका थिए। तर, अन्तिम बलमा जित्न ५ रन आवश्यक हुँदा उमेश चौधरीले २ रन मात्र खर्चिंदा कञ्चनरूपले जित दर्ता गर्यो।
तिरहुटका लागि रूपेश सिंहले १८ बलमा २ चौका र ३ छक्का मद्दतले ३३ रन बनाए पनि जित्नका लागि पर्याप्त भएन। भोलाकुमार साहले ३२ तथा अभिषेक कार्की र शंकर रानाले समान २४ रनको योगदान दिए।
कञ्चनरूपको बलिङमा राहुल मण्डलले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चिए। रासिद खानले २ तथा दिनेश अधिकारी, चित्र बिष्ट र उमेश चौधरीले १-१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिंग रोजेको कञ्चनरूप राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनायो। कञ्चनरूपको लागि ओपनर राकेश कामतले अर्धशतकीय योगदान दिए। कामतले ४५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दा शुभ कंसाकारले ३२, रासिद खानले २४ तथा कर्ण विकले १६ रन जोडे।
तिरुहुट टाइगर्सको बलिङमा रूपेश सिंह र बसिर अहमदले समान २–२ विकेट लिए। अनिल यादव र दीपेश कँडेलले १-१ विकेट लिए।
यता, छिन्नमस्ता लायन्स र सनराइज एघार तिलाठी कोइलाडीबीचको दोस्रो खेल भने भारी वर्षा र हावाहुरीका कारण पूरा हुन सकेन। जसकारण दुवै टिमले अंक बाँडेका छन्।
छिन्नमस्ता लायन्सले दिएको १९९ रनको लक्ष्य पछ्याएको सनराइज एघारले ३.३ ओभरमा ३ विकेट गुमाएर ३२ रन बनाउँदा खेल रोकिएको थियो। त्यसपछि पुनः खेल सुचारु नहुँदा दुवै टिम अंक बाँड्न बाध्य भए।
टस जितेर ब्याटिंग रोजेको छिन्नमस्ता लायन्सले २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। छिन्नमस्ताका लागि मयन यादवले शतकीय योगदान दिए। उनले ५९ बलमा ७ चौका र ८ छक्का प्रहार गरे। भीम सार्कीले २३ बलमा १ चौका र ४ छक्काको मद्दतले ४१ रन बनाए।
सनराइज एघारको बलिङमा विशाल सुश्लिंगले ३ विकेट लिने क्रममा ४ ओभरमा २६ रन खर्चिए। बलिङतर्फ छिन्नमस्ताका विसा पटेलले २ तथा मोहम्मद सोहेलले १ विकेट लिए।
आजको खेलपछि तीन खेलमा २ जित र १ एक नतिजाविहिन खेलपछि छिन्नमस्ता ५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। सनराइज एघार २ खेलमा १ जित र १ नतिजाविहिन खेलपछि १ अंकसहित पाँचौँ स्थानमा छ।
३ खेलमा २ जित र १ हार बेहोरेको कञ्चनरूप ४ अंकसहित दोस्रो स्थानमा छ भने २ खेलमा १ जित र १ हारपछि तिरहुट टाइगर्स २ अंकसहित तेस्रो स्थानमा छ। समान २ अंकसहित राजविराज राजदेवी एघार चौथो स्थानमा छ।
प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्। बिहान ९ बजे सनराइज एघार तिलाठी कोइलाडी र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १ः३० बजे राजविराज राजदेवी एघार र तिरहुट टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ।