मिडफिल्डर आयुश घलानलाई समेट्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विश्वकप– २०२६ छनोटअन्तर्गत युएई र यमनविरुद्ध हुने खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । एन्फाले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेससँगको सहकार्यमा आइतबार टोली घोषणा गर्दा आयुश पाँच महिनापछि टोलीमा समावेश भएका हुन् । उनी यमनसँग खेल्दा टोलीमा थिए । तर, बहराइन, युएई र इंग्ल्यान्ड ‘सी’सँग खेल्दा उनलाई समावेश गरिएको थिएन ।
प्रशिक्षक एनेसको क्रियाकलापमा असन्तुष्टि जनाएपछि आयुष बाहिर रहनुपरेको हो । चर्काे विरोध भएपछि एनेसले उनलाई टोलीमा बोलाएका हुन् । आयुशालाई टोलीमा बोलाउँदा सम्भावना बोकेका दुई खेलाडी एरिक विष्ट र दीप कार्की फेरि बाहिर भएका छन् । टोलीमा वसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलोपटक स्थान बनाएका छन् । बन्द प्रशिक्षणबाट सन्तोष महत, अजय चौधरी, योगेश गुरुङ, फत्तेमान घले, रोहन कार्की, समिर तामाङ, अञ्जन विष्ट र दिनेश हेन्जन बाहिरिएका छन् । फत्तेमान, अञ्जन र दिनेश घाइते छन् ।
नेपालले २४ जेठमा दशरथ रंगशालामा युएईको सामना गर्ने तय थियो । तर, रंगशालाको मापदण्ड नपुगेको भन्दै एसियन फुटबल महासंघ (एएफसी)ले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको हो । एन्फाले लापरबाही गरेपछि नेपालमा लगातार दुई फिफा विश्वकप छनोटमा खेल हुन सकेन ।
युएईविरुद्ध २४ जेठमा खेलेको पाँच दिनपछि नै यमनसँग साउदी अरेबियामा खेल्नेछ । यमनले पनि न्युट्रल भेन्युका रूपमा साउदीलाई रोजेको हो । नेपाली टिम राति नै साउदी प्रस्थान गरेको छ । नेपालले विश्वकप छनोटको समूह ‘एच’मा खेलेका चारै खेलमा हार बेहोरेको छ । १४ गोल बेहोर्दा हालसम्म एक गोल पनि गरेको छैन ।
नेपाली टोली
गोलकिपर : किरण चेम्जोङ (कप्तान), अभिषेक बराल, विशाल सुनार
रक्षक : अनन्त तामाङ, अभिषेक लिम्बू,
विमल पाण्डे, विशाल बस्नेत,
छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई
मिडफिल्डर : भरत खवास, लाकेन
लिम्बू, मनीष डाँगी, वसन्त जिम्बा,
सुमित श्रेष्ठ, मणिकुमार लामा,
आशिष राई, आयुश घलान
स्ट्राइकर : जिलेस्पीजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट