भारतमा विधान सभा निर्वाचन : अरुणाचलमा भाजपा र सिक्किममा एसकेएमको सानदार जित

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण
भारतमा विधान सभा निर्वाचन : अरुणाचलमा भाजपा र सिक्किममा एसकेएमको सानदार जित

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)का नेता प्रेमसिंह तामाङ । तस्बिर : एजेन्सी

भारतमा निर्वाचन सरगर्मी निरन्तर बढिरहेको छ । अप्रिल १९ बाट सुरु भएको लोकसभा निर्वाचन सात चरणमा गरी आइतबार सम्पन्न भइसकेको छ । निर्वाचनको नतिजा मंगलबार सार्वजनिक हुने तालिका छ । निर्वाचनपछिका विभिन्न मत सर्र्वेक्षणले भाजपा नेतृत्वको एनडिए गठबन्धन भारी बहुमतले विजयी हुने र प्रधानमन्त्रीमा नरेन्द्र मोदीले ह्याट्रिक गर्ने आकलन भइरहेका छन् । 

एक्जिट पोलले पुलकित भएको भाजपा लोकसभासँगै पहिलो चरणमा सम्पन्न विधान सभा निर्वाचनको मतपरिणामले थप हौसिएको छ । सोमबार सार्वजनिक भएको मत परिणामअनुसार अरुणाचलमा भाजपाले जितेको छ । ६० सिट रहेको अरुणाचल विधान सभामा भाजपाले ४६ सिटमा सहजै जितेको हो । 

१० जना सांसद निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेहरूमा मुख्यमन्त्री पेमा खान्डु र उपमुख्यमन्त्री चौवना मीन छन् । भाजपाको सहयोगी कोनराड संगमाको नेसनल पिपुल्स पार्टीले पाँच सिट जितेको छ । त्यस्तै, कांग्रेसले एक, एनसिपीले तीन र अरुणाचलको पिपुल्स पार्टीले दुई सिट जित्यो । तीन सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

६० सिट रहेको अरुणाचलमा भाजपा ४६ सिटमा विजयी भएको छ भने ३२ सिट रहेको सिक्किममा पिएस गोलेको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले ऐतिहासिक सफलता हात पारेको छ 

प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाचलमा भाजपाको जितलाई स्वागत गरेका छन् । ‘धन्यवाद अरुणाचल प्रदेश ! यस अद्भुत राज्यका जनताले विकासको राजनीतिलाई स्पष्ट जनादेश दिएका छन् । हाम्रो पार्टीले राज्यको विकासका लागि अझ ठूलो जोसका साथ काम गरिरहनेछौँ,’ एक्समा उनले पोस्ट गरेका छन् । उनले भाजपा कार्यकर्ताहरूको कडा परिश्रमको प्रशंसा पनि गरेका छन् । 

फैसलाको प्रतिक्रिया दिँदै वर्तमान मुख्यमन्त्री पेमा खान्डुले भने, ‘यो केन्द्रबाट ठूलो समर्थनको साथ १० वर्षको विकासको जनादेश हो । तपाईं सबैलाई थाहा छ अरुणाचल प्रदेश उदाउँदो सूर्यको भूमि हो ।’ प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने उनले बताए । 

सन् २०१९ को विधानसभा चुनावमा सत्तारूढ पार्टी २१ सिटमा विजयी भएको थियो । जनता दल (युनाइटेड) जेडी (यू)ले सात, नेसनल पिपुल्स पार्टी (एनपिपी) पाँच, कांग्रेसले चार र पिपल्स पार्टी अफ अरुणाचल (पिपिए) ले एउटा सिट जितेको थियो । दुई स्वतन्त्र उम्मेदवार पनि विजयी भएका थिए ।

सिक्किम क्रान्तिकारी मोर्चालाई अद्भुत सफलता
सिक्किममा वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले ऐतिहासिक सफलता हासिल गरेको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले (पिएस गोले) नेतृत्वको मोर्चा लगातार दोस्रोपटक सत्ताको नेतृत्व गर्ने भएको छ । ३२ सिटमध्ये मोर्चाले ३१ सिट जितेको छ । विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ)ले मात्र एक सिट जितेको छ । सिक्किममा सरकार बनाउन १७ सिट आवश्यक पर्छ । जितसँग गोले दोस्रोपटक मुख्यमन्त्री बन्ने तयारीमा छन् । आफ्नो पार्टीको विजयपछि सिक्किमका मुख्यमन्त्री पिएस गोलेले भने, ‘म सिक्किमका जनता र हाम्रा पार्टीका कार्यकर्तालाई धन्यवाद दिन्छु । हामीले जनताका लागि हृदयदेखि काम गर्यौँ, त्यसैले हामीले जितेका छौँ । ’

एसडिएफका नेता पवन चाम्लिङको लज्जास्पद हार भएको छ । सिक्किममा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेका उनले उम्मेदवार दिएको दुवै सिटबाट पराजित भए । भारती निर्वाचन आयोगका अनुसार पोक्लोक–कामराङ विधानसभा क्षेत्रमा पूर्वमुख्यमन्त्री चाम्लिङ एसकेएमका भोजराज राईसँग पराजित भएका हुन् ।

 सन् २०१९ मा एसकेएमले एसडिएफको २५ वर्ष लामो सत्ता समाप्त गरिदिएको थियो । उक्त निर्वाचनमा मोर्चाले १७ सिट ल्याएको थियो भने चाम्लिङको पार्टी १५ सिटमा खुम्चिएको थियो । एसडिएफले उपनिर्वाचनमा दुई सिटसमेत गुमाएको थियो । 

चाम्लिङ सन् १९९४ देखि २०१९ सम्म सिक्किमको मुख्यमन्त्री बने । उनी सिक्किमका पाँचौँ मुख्यमन्त्री हुन् । सबभन्दा लामो समय मुख्यमन्त्रीको कुर्सीमा बस्ने उनी पहिलो भारतीयसमेत हुन् । सिक्किममा पहिलो मुख्यमन्त्री काजी लेन्डुप दोर्जे हुन् । उनी सन् १९७५ देखि १९७९ सम्म मुख्यमन्त्री भएका थिए ।
–एनडिटिभीबाट
 

सुझावित समाचार