पाँच महिनामा आए पाँच लाख पर्यटक

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

यस वर्ष विदेशी पर्यटक आगमन वृद्धि उत्साहप्रद देखिएको छ । सन् २०२४ को पहिलो पाँच महिना (जनवरी–मे)मा विभिन्न देशबाट पाँच लाख ६ हजार पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले धेरै हो । सन् २०२३ को पाँच महिनमाा चार लाख चार हजार विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

देशको अर्थतन्त्र अझै मन्दीबाट बाहिर निस्कन नसकिरहेका वेलामा पर्यटन उद्योगले भने लय समातेको छ । विदेशी पर्यटक आगमन कोभिड महामारी सुरु हुनुअघि २०१९ कै अवस्थामा फर्किएको छ । सन् २०१९ को पहिलो पाँच महिनामा करिब चार लाख ९९ हजार पर्यटक आएका थिए । यस वर्षको सोही अवधिमा पर्यटक बढेर पाँच लाख ६ हजार पुग्नु उत्साहप्रद रहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । नेपाली पर्यटनको इतिहासमै २०१९ मा सबैभन्दा धेरै ११ लाख ९७ हजार पर्यटक आएका थिए । 

सन् २०२० मा विश्वव्यापी फैलिएको कोभिड महामारीले शिथिल बनेको पर्यटन उद्योग २०२५ सम्म रिकभरी हुने अनुमान थियो । तर, अनुमान गरिएभन्दा अगाडि नै पर्यटन क्षेत्र लयमा फर्किसकेको छ । केन्द्रीय तथ्यांक कार्यालयले पनि चालू आर्थिक वर्ष ०८०/८१ मा आवास तथा भोजन सेवाको कुल मूल्य अभिवृद्धि दर २१.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । 

See More On

सुझावित समाचार