१४८१ बचतकर्ताको रकम अपचलन गरी तीन अर्ब सम्पत्ति शुद्धीकरण : बागलुङको ढोरपाटनका मेयर दम्पतीविरुद्ध मुद्दा

सहकारीको १६ करोड ५८ लाख अपचलन गरेको आरोपमा सांसद गीता बस्नेतविरुद्ध मुद्दा दर्ता

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण
१४८१ बचतकर्ताको रकम अपचलन गरी तीन अर्ब सम्पत्ति शुद्धीकरण : बागलुङको ढोरपाटनका मेयर दम्पतीविरुद्ध मुद्दा

मेयर देवकुमार नेपाली र उनकी पत्नी छेला नेपाली

बढी ब्याज र सहज ऋणको आशामा सहकारीमा पैसा जम्मा गरेका एक हजार चार सय ८१ बचतकर्ताको रकम अपचलन गरी तीन अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिकाका बहालवाला मेयरविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको छ । ढोरपाटनका मेयर देवकुमार नेपाली र उनकी पत्नी छेला नेपालीलाई प्रमुख प्रतिवादी बनाएर विभागले मुद्दाको अनुसन्धान फाइल पेस गरेको हो । 

बागलुङ र पोखरामा दर्ता भएका एकै नामका दुई सहकारी इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जम्मा गरेका बचतकर्ताको बचत रकम अपचलन गरी त्यसबाट आर्जित रकम लगानीसमेत गरेर शुद्धीकरण गरेको विभागको दाबी छ । सञ्चालक समिति सदस्य तथा सहकारीमा काम गर्ने कर्मचारीसमेतलाई दुरुपयोग गरेर रकम हिनामिना र शुद्धीकरण गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

एक हजार चार सय ८१ बचतकर्ताको उजुरीका आधारमा प्रहरीले एक अर्ब ३३ करोड ९२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै सरकारी वकिलको कार्यालयमार्फत गत वर्ष असार अन्तिम साता सहकारीका संस्थापकसमेत रहेका मेयर नेपालीसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । यो मुद्दा हाल बागलुङ जिल्ला अदालतमा विचाराधीन छ । नेपाली भने फरार छन् । 

उनीविरुद्ध प्रहरीले ‘रेडकर्नर नोटिस’ जारी गरेको छ । प्रहरीले ठगी मुद्दा दायर गरेपछि त्यही सम्बद्ध कसुरको आधारमा विभागले अनुसन्धान अघि बढाएको थियो । विभागका निर्देशक शिवहरि पोखरेलसहितको टोलीले अनुसन्धान सकेर अदालतमा फाइल पेस गरेको हो । शुद्धीकरण भएको रकमलाई नै बिगो कायम गरेर मेयर नेपालीलाई प्रतिवादी कायम गरिएको छ । पत्नी छेलाविरुद्ध भने पाँच करोड ५४ लाख बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण गर्न सहयोग गरेको आरोपमा सहकारीका केही कर्मचारीलाई पनि विभागले प्रतिवादी कायम गरेको छ । 

बचतकर्ताको बचत अपचलन गरेर नेपालीले बागलुङको सहकारीबाट एक अर्ब ४१ करोड २७ लाख  र पोखराको सहकारीबाट ७९ करोड ७४ लाख ३६ हजार ९६९ रुपैयाँसमेत दुई अर्ब २१ करोड रुपैयाँको गैरकानुनी रकम प्राप्ति गरेको मुद्दाको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यी दुवै सहकारीका सञ्चालक समितिको अध्यक्ष नेपाली नै थिए । तर, पछि समस्या निम्तिएपछि कर्मचारीलाई सुम्पिएर जिम्मेवारीबाट बाहिरिएका थिए ।  

‘...पोखरा र बाग्लुङमा रहेका सहकारी संस्थाबाट बचतकर्ताहरूको बचत रकम ठगी गरी सो रकम आफूसमेतका नाउँमा घरजग्गामा लगानी गर्ने, सवारी साधन खरिद गर्नेलगायत अन्य नाफामुलक कार्यहरूमा लगानी गरी बढेबढाएको रकमसमेत गर्दा हुन आउने तीन अर्ब तीन करोड ७२ लाख सम्पत्ति शुद्धीकरण गरी प्रत्यक्ष रुपमा सोको धारण गर्ने कार्य आरोपी देवकुमार नेपालीबाट भइरहेकोले...’ प्रतिवेदनमा उल्लेख छ । ठगीबाट कमाएको रकम गरिमा विकास बैंक, नेपाल एसबिआई बैंक र सानीमा बैंकमा जम्मा गरेको, होटेलमा लगानी गरेको तथा शक्ति किसान, दीपक पौडेललगायतले सहकारीको खाताबाट निकालेको देखिएको विभागको दाबी छ । 

मापदण्ड र प्रचलित कानुनको बर्खिलाप गरी सहकारीको कोषको रकमबाट मेयर नेपालीले काठमाडौं, पोखरा र बागलुङमा घरजग्गा खरिद, व्यावसायिक भवन निर्माण, होटेल खोल्ने तथा अन्य अचल सम्पत्ति खरिद गरेका थिए । सहकारी ठगीबाट आर्जित गैरकानुनी रकम नेपालीले होटेल, भवन, घरजग्गा, सवारीसाधन इत्यादिमा लगानी गरेको देखिएको छ ।

गैरकानुनी आर्जनबाट नेपालीले बागलुङ सदरमुकाममा हेलिप्याडसहितको ढोरपाटन दरबार होटेल तथा दुई व्यापारिक कम्प्लेक्स, पोखरामा अरू दुई कम्प्लेक्स र काठमाडौंमा समेत घरजग्गा जोडेका छन् । दम्पतीका नाममा बागलुङ, पोखरा र काठमाडौंमा मात्रै ५५ कित्ता जग्गा खरिद गरिएका छन् । पत्नी छेलाको नाममा मात्रै दुई करोड ८६ लाख मूल्यको ल्यान्ड क्रुजर र सन्तोष नेपालीका नाममा ४२ लाख मूल्यको स्कारपियोसमेत देखिएका छन् । 

छली कतिसम्म गरिएको थियो भने, पत्नी छेलाले सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र सहकारी संस्थासमेतबाट ८४ करोड ९५ लाख रुपैयाँ ऋण लिएको देवकुमारले सम्पत्ति विवरणमा उल्लेख गरेका थिए । तर, विभागको अनुसन्धानबाट यो सबै फर्जी देखिएको छ । इमेज सहकारीका नाममा राष्ट्रिय सहकारीबाट निकालेको भनेको ३३ करोड ऋण निकालेर व्यक्तिगत सम्पत्तिमा कायम गरेको पनि भेटिएको छ । 

सहकारीको ऋण अपचलन गरी ११ अर्ब १९ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विभागले केही दिनअघि मात्रै जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालक दम्पती केदारनाथ शर्मा र गीता शर्मालाई मुख्य प्रतिवादी कायम गरेर उनीहरूसहित कम्पनीविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

 सहकारीको १६ करोड अपचलन गरेको आरोपमा संघीय सांसद गीता बस्नेतविरुद्ध मुद्दा दर्ता
पूर्वी नवलपरासीस्थित छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको १६ करोड ५८ लाख हिनामिना गरेको आरोपमा राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पेस गरेको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । 

प्रहरी अनुसन्धानमा बस्नेतले अपचलन गरेको रकममध्ये केही बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी भएको देखिएको छ । आर्थिक अपचलनमा सहकारीका सचिव नगेन्द्र रिमाल पक्राउ परेसँगै बस्नेत फरार छिन् । रिमाल बस्नेतका ज्वाइँ हुन् । सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले गरेको छानबिनपछि पेस प्रतिवेदनका आधारमा प्रहरीले छिपछिपे सहकारीमाथि अनुसन्धान थालेको थियो । वित्तीय विश्लेषक निर्मल गौतमको नेतृत्वमा भएको छानबिनको प्रतिवेदनमा पदाधिकारीले ‘एड्जस्टमेन्ट एकाउन्ट’ नामको काल्पनिक बचत खाता खोलेर रकम हिनामिना गरेको निष्कर्ष निकालेको थियो । पछि विभिन्न समयमा गरेर साढे तीन सयभन्दा बढी पीडितले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

सुझावित समाचार