सन् १९९४ मा राज्य प्रायोजित रंगभेद अन्त्यपछि दक्षिण अफ्रिकामा शासन गर्दै आएको एएनसीको समर्थनमा ठूलो गिरावट आएको देखिन्छ
२९मेमा भएको दक्षिण अफ्रिकाको चुनाव जनताका लागि सहनशीलताको परीक्षा थियो । मतदान केन्द्रवरपर लामबद्ध मतदाता ६ वा सात घन्टासम्म लाइनमा उभिएका थिए । कतिपयले भोलिपल्ट बिहानको ३ बजे मात्रै भोट हालेका थिए । यद्यपि चुनाव अनुमान गरेजस्तो महत्वपूर्ण भने हुन सकेन । अन्तिम मतगणना जारी छ । सन् १९९४ मा अपर्थाइड (राज्य प्रायोजित रंगभेद) अन्त्यपछि दक्षिण अफ्रिकामा शासन गर्ने अफ्रिकन नेसनल कंग्रेस (एएनसी) को समर्थनमा ठूलो गिरावट आएको स्पष्ट रूपमा देख्न सकिन्छ । राज्यको अनुसन्धान निकायको अनुमानले एएनसीले राष्ट्रिय भोटको ४२ प्रतिशत मत मात्र जित्ने देखाउँछ ।
सन् २०१९ को पछिल्लो आमनिर्वाचनमा ५७.५ प्रतिशत भोट ल्याएको एएनसीले अहिले १५ प्रतिशत भोट गुमाएको छ । यसले राष्ट्रपति सिरिल रामाफोसालाई संसदीय बहुमत पुग्न दिनेछैन र एएनसीलाई सत्ता चलाउन गठबन्धन सहयोगीको आवश्यकता पर्नेछ । यो अवस्थाबाट बच्न पार्टीले सक्दो प्रयास गरेको छ । यसले एक ऊर्जावान् अभियानसमेत चलाएको थियो र देशभरका आफ्ना कार्यकर्तालाई घर–घर गएर समर्थन माग्न परिचालन गरेको थियो । रामाफोसाले मतदानको पूर्वसन्ध्यामा प्राइम–टाइम टेलिभिजनमा विवादास्पद सम्बोधनका लागि आफ्नो राष्ट्रपति कार्यालयको प्रयोगसमेत गरेका थिए । उनले निर्वाचनमा आफ्नो मत व्यक्त गर्दै मतदातालाई प्रोत्साहित गर्न विगत पाँच वर्षमा आफ्नो सरकारका उपलब्धिको प्रचार गरेका थिए ।
यसमाथि विपक्षी दलले आक्रोशपूर्ण प्रतिक्रिया दिए र रामाफोसाले आफ्नो पार्टीको एजेन्डा प्रवद्र्धन गर्न राज्यस्रोतको दुरुपयोग गरेको आरोप लगाउँदै यस मुद्दालाई निर्वाचन अदालत पुर्याएका छन् । चुनाव सकिएपछि मात्रै यो समस्याको समाधान राम्रोसँग हुने सम्भावना छ । यसबाहेक एएनसीले राज्य प्रसारकबाट समर्थन पनि पायो, जसले आधिकारिक विपक्षी, डेमोक्रेटिक गठबन्धनका विवादास्पद राजनीतिक विज्ञापन प्रसारण गर्न अस्वीकार गर्यो । यो अस्वीकार्यता नियामक निकायको जरिवाना र निर्देशनपछि पनि कायम नै रह्यो ।
धेरै साना दलको उदयले एएनसीको भोट घटेको हो । पूर्वराष्ट्रपति ज्याकोब जुमाले हालै निर्माण गरेको उमखोन्तो वी सिज्वे पार्टीले देशको पूर्वमा रहेको जुमाको गृहप्रान्त क्वाजुलु–नातालमा मतको धेरै ठूलो हिस्सा आफ्नो पकडमा लिएको छ । बिहीबार ३० मेमा दिउँसोसम्म एएनसीले अब क्वाजुलु–नातालमा एक्लैले नियन्त्रण गर्न नसक्ने स्वीकार गरेको थियो । त्यही दिन साँझ ६ बजे यस प्रान्तमा सहयोगबारे छलफल सुरु गर्न अन्य दलकहाँ एएनसी पुगेको थियो । यद्यपि जुमाको पार्टीले एएनसीसँग गठबन्धन नगर्ने जनाएको थियो ।
यसले एउटै पार्टीको वर्चस्व भएको शासनको युग समाप्त भएको संकेत गरेको छ । सन् १९४८ मा नेसनल पार्टीले सत्ता हात पार्यो र कडाइसाथ अपर्थाइड लागू गर्यो । त्यसपछि सन् १९९० मा नेल्सन मन्डेला रिहा भएपछि एएनसीले आफ्ना नीति लागू गर्यो र निर्बाध शासन गर्यो । यसअघि दुवै सत्तारुढ दलले अन्य दललाई सरकारमा सामेल गरे पनि शासन शक्तिका लागि ती दलमा भर परेका थिएनन् । तर, यो गतिशीलता अहिले परिवर्तन भएको देखिन्छ ।
देशको समानुपातिक प्रतिनिधित्व प्रणालीको अर्थ साना क्षेत्रीय दलले पनि राष्ट्रिय सभाको चार सय सिटमध्ये केही जित्न सक्नेछन् । सबै मतगणना भएपछि मात्र सही संख्या थाहा हुनेछ । सन् २०२० मा स्वतन्त्र उम्मेदवारलाई उम्मेदवार बन्न दिने गरी कानुन परिवर्तन गरिएको थियो र यो प्रणाली पहिलोपटक अहिले सञ्चालनमा आएको हो । यसले कसरी काम गर्छ, हेर्न बाँकी नै छ ।
एएनसीले बदलिएको परिस्थितिमा कसरी प्रतिक्रिया दिन्छ भनेर विचार गर्नुपर्ने हुन्छ । यो पार्टी अझै पनि सरकारमा सबैभन्दा ठूलो पार्टी रहन सक्छ, भलै यसले अस्थिर गठबन्धनको टेको लगाई शासन गरिरहेको हुन सक्छ । दक्षिण अफ्रिकी प्राज्ञ एवं स्तम्भकार स्टिभन फ्राइडम्यानले चुनावअघि यस्तो टिप्पणी गरेका थिए– ‘गठबन्धनको फाइदा–बेफाइदाबारे बहस गर्नु व्यर्थ छ, किनभने गठबन्धन राजनीति पहिलेभन्दा अहिले दक्षिण अफ्रिकाको चुनावमा प्रमुख विकल्प बनिरहेको छ । स्थानीय चुनावमा पहिले नै स्थापित भइसकेका गठबन्धन यो महिनाको निर्वाचनपछि राष्ट्रिय सरकारका लागि पनि आवश्यक पर्न सक्छ ।’
दक्षिण अफ्रिकामा स्थानीय सरकारले गठबन्धनसँग प्रायः गम्भीर चुनौतीको सामना गरिरहेका छन् । ठूला दललाई साना साझेदारले हेरफेर गरेका छन् र यसले ठूलो प्रभाव एवं बजेटको ठूलो अंशको माग गर्छ । यसैकारण जोहानेसबर्ग र प्रिटोरियाजस्ता सहरमा पुराना गठबन्धन तहसनहस भएका छन् । यी जोखिमलाई न्यूनीकरण गर्ने प्रयासमा डेमोक्रेटिक गठबन्धनले चुनावअघि ‘समान हैसियतको गठबन्धन’ बनाउने लक्ष्यले विपक्षी दललाई भेला पारेको थियो । यो पहललाई ‘मुनसट प्याक्ट’ नाम दिइएको छ । यद्यपि, डेमोक्रेटिक गठबन्धनले करिब एकचौथाइ मत मात्र प्राप्त गर्ने प्रक्षेपणपछि यो छनोट असम्भवजस्तो देखिन्छ ।
दक्षिण अफ्रिकालले जीवनभर अनुभव नगरेको अवस्थाको सामना गर्न सक्छ । इतिहास पल्टाउँदा दक्षिण अफ्रिकामा दुई विश्वयुद्धबीच गठबन्धन सरकारले शासन गरेको थियो । तर, यो हालको अवस्थाका लागि सायदै मार्गदर्शक होला । तीव्र संवाद–वार्ता र सम्भावित अस्थिरता दक्षिण अफ्रिकाको सम्मुख पुगिरहेको छ । धेरै मतदाताले चर्को घाममुनि लाममा बसेका वा बिहान सबेरै थरथर काँप्दै मत हालेको भए पनि आशातीत परिणाम आउनेछैन ।
(प्लाउट हर्न अफ अफ्रिका एन्ड साउथर्न अफ्रिका लन्डन विश्वविद्यालयका वरिष्ठ अनुसन्धाता हुन्)
द कन्भर्सेसनबाट