आइसिसी टी–२० विश्वकप आजबाट, डेब्यु खेल खेल्दै अमेरिका र क्यानडा

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० क्रिकेट विश्वकप आजबाट वेस्ट इन्डिज र अमेरिकामा सुरु हुँदै छ । उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । विश्वकपको नवौँ संस्करणमा दुवै टोली डेब्यु गर्न लागेका हुन् । डालासको ग्रान्ड प्रेयरी क्रिकेट मैदानमा दुवै टोलीको लक्ष्य जितसहित सानदार सुरुवात छ । 

अमेरिकाका उपकप्तान आरोन जोनेसले अनुशासित भएर आफ्नो खेल खेल्ने बताए । ‘क्यानडाविरुद्ध सकारात्मक हुनेछौँ र राम्रो गर्न खेल्नेछौँ । हामी साँच्चै राम्रो गर्न उत्साहित छौँ,’ जोनेसले भने, ‘क्यानडाविरुद्ध पछुताउने खेल खेल्नेछैनौँ । चाहनालाई पूरा गर्न लाग्छौँ । हामी विश्वकपमा राम्रो क्रिकेट खेल्नेछौँ ।’ 

विश्वकपमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । हालसम्म वेस्ट इन्डिज र इंग्ल्यान्डले समान दुईपटक उपाधि जित्दा भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले समान एकपटक उपाधि उचालेका हुन् । अमेरिका र क्यानडासहित युगान्डाले डेब्यु गर्न लागेका हुन् । नेपाल, केन्या र पपुवा न्युगिनी (पिएनजी)को दोस्रो सहभागिता हो । ओमान, हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) तेस्रोपटक विश्वकप खेल्दै छन् । 

क्यानडाका कप्तान साद बिन जफरले दुवै टोली समान हैसियतको रहेकाले प्रतिस्पर्धात्मक खेल हुने अनुमान गरे । ‘हामी समान प्रतिस्पर्धी हौँ, साथै उस्तै क्षेत्रका छौँ । हामीले एकदिवसीय तथा टी–२० मान्यता पनि सँगै पायौँ,’जफरले भने, ‘दुवै टोलीले उत्तर अमेरिकामा धेरै फ्रेन्चाइज लिगसँगै खेलेका छौँ । त्यसैले दुवैको सम्बन्ध राम्रो छ । दुवै टोली राम्रा छन् ।’ 

दुवै टोलीमा भारतीय मूलका खेलाडी हाबी 
विश्वकपको उद्घाटन खेल खेल्दै गरेका अमेरिका र क्यानडामा भारतीय मूलका खेलाडी हाबी छन् । दुवै टोलीमा एक दर्जनभन्दा बढी खेलाडीले भारतीय उमेर समूह खेलिसकेका छन् । अमेरिका मोनांक पटेलको कप्तानीमा छ । भारतबाट यू–१९ विश्वकप खेलेका मोनान्क घरेलु मैदानमा विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । 

भारतीय मूलका मोनांक कप्तान रहँदा उपकप्तान आरोन जोनेस हुन् । टोलीमा न्युजिल्यान्डबाट १३ टेस्ट खेलिसकेका ३३ वर्षीय कोरी एन्डरसन छन् । साथै, अली खान, हरमित सिंह, मिलिन्द कुमार, सौरभ नेत्रभाल्कर, स्टेभन टेलर, निसर्ग पटेल, नितीश कुमार, जसदीप सिंह, नोशतुश केंजिगे, स्टेवन टेल तथा शायन जहाँगिर छन् । 

क्यानडाको कप्तान पाकिस्तानी मूलका साद बिन जफरले गर्नेछन् । उनीलाई आरोन जनसन, नभनित धालीवाल, दिलोन हेलिगर, जेरेमी गोर्डन, निखिल दत्त, निकोलस किरटन, जुनैद सिद्दिकी, दिलप्रित बाज्वा, श्रेयस मोवा, प्रगत सिंह र ऋषिभ जोशी छन् । 

१८० वर्षपछि बदला लिने अवसर 
विश्व क्रिकेटमा पुरानो प्रतिद्वन्दीको रूपमा एसेज खेल्ने टिमहरू इंग्ल्यान्ड र अस्ट्रेलियालाई मानिन्छ । तर, त्यसअघि नै क्यानडा र अमेरिकालाई सबभन्दा पुरानो प्रतिद्वन्दीका रूपमा लिइएको छ । अमेरिका र अस्ट्रेलियाबीच सन् १८४४ मा न्युयोर्कमा प्रतिस्पर्धा भएको इतिहास छ । म्यानहेटन क्रिकेट मैदानमा खचाखच दर्शकले भरिएको खेलमा क्यानडा २३ रनले विजयी भएको थियो । १८० वर्षपछि दुई टोलीले पुनः प्रतिस्पर्धा गर्दै छन् । दुवै टोलीले विश्वकपमा डेब्यु गर्दै छन् । क्यानडा १८० वर्षअघि भएको प्रतिस्पर्धाको निरन्तरता दिन चाहन्छ भने अमेरिका बदला लिने योजनामा छ । 

हेड टु हेडमा अमेरिका बलियो 
दुई बीचको हेड टु हेडमा अमेरिका बलियो देखिएको छ । दुई उत्तर अमेरिकी देशको प्रतिस्पर्धामा अमेरिकाले चार खेल जित्दा दुई खेल क्यानडाको पक्षमा छ । एक खेल भने अनिर्णीत बनेको थियो । पछिल्लो सयमसमेत क्यानडाभन्दा अमेरिका बलियो देखिएको छ । पछिल्लोपटक दुईबीच १३ अप्रिल २०२४ मा भएको थियो । जहाँ अमेरिकाले क्यानडालाई ४ विकेटले हराएको हो । नितीश कुमारले ३८ बलमा ६४ रन जोड्दै सहज जित दिलाउन भूमिका खेलेका थिए । 

अनुशासित खेल खेल्छौँ : आरोन जोनेस उपकप्तान, अमेरिका
अनुशासित भएर आफ्नो खेल खेल्नेछौँ । सकारात्मक हुनेछौँ र राम्रो गर्न खेल्नेछौँ । हामी साँच्चै घरमा राम्रो प्रदर्शन गर्न उत्साहित छौँ । पछुताउने खेल खेल्नेछैनौँ । कुनै पनि चाहनालाई पूरा गर्न लाग्छौँ । हामी विश्वकपमा राम्रो क्रिकेट खेल्नेमा विश्वस्त छौँ । 

खेल प्रतिस्पर्धात्मक हुन्छ : साद बिन जफर कप्तान, क्यानडा 
हामी प्रतिस्पर्धी हौँ, साथै उस्तै क्षेत्रका छौँ । हामीले एकदिवसीय तथा टी २० मान्यता पनि सँगै पायौँ । तर, पछिल्लो धेरै खेलमा पराजित भएका छौँ । दुवै टोलीले सँगै उत्तर अमेरिकामा धेरै फ्रेन्चाइज लिग पनि खेलेका छौँ । त्यसैले दुवैको सम्बन्ध राम्रो छ । 

प्लेयर्स टु वाच

कोरी एन्डरसन (अमेरिका)
न्युजिल्यान्डबाट टेस्ट, एकदिवसीय र टी–२० आई खेलिसकेका ३३ वर्षीय कोरी एन्डरसन सन् २०२३ देखि अमेरिकी टोलीमा छन् । अनुभवी खेलाडीले क्यानडाविरुद्ध टोलीलाई महत्वपूर्ण साथ दिने अनुमान गरिएको छ । एन्डरसनले न्युजिल्यान्डबाट सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै डेब्यु गरेका थिए । एकदिवसीयमा इंग्ल्यान्ड र टी–२० आईमा बंगलादेशविरुद्ध सन् २०१३ मा डेब्यु गरेका हुन् । टी २० आईमा उनले ३६ खेल खेल्दा ६ सय ३१ रन बनाएका छन् । 

आरोन जनसन (क्यानडा)
क्यानडाका आरोन जनसनले अमेरिकाविरुद्ध दबाब बढाउन सक्छन् । ३३ वर्षका अनुभवी खेलाडीले अमेरिकाविरुद्धको पछिल्लो सिरिजमा एक सय २४ रन बनाएका हुन् । दायाँहाते जमैकान ब्याटरले सन् २०२२ मा बहराइनविरुद्ध डेब्यु गरेपछि टी–२० आईमा १६ खेल खेल्दै सात सय १३ रन बनाएका छन् । दुई शतक र पाँच अर्धशतक उनको नाममा छ ।

सुझावित समाचार