चीनका राष्ट्रपति सी जिनपिङले इजरायल र हमासबीचको युद्ध अन्त्यका लागि एक शान्ति सम्मेलनको आह्वान गरेका छन् । उनले मध्यपूर्वसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले बेइजिङमा आयोजित अरब नेताको एक भेलालाई सम्बोधन गर्ने क्रममा त्यस्तो आह्वान गरेका हुन् ।
राष्ट्रपति सीले यसै साता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, संयुक्त राष्ट्र एमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य केही अरब नेताहरूलाई स्वागत गर्दै छन् । चीनले लामो समयदेखि मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको छ, र हालैका वर्षमा त्यस अस्थिर भेगमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयासलाई तीव्रता दिएको छ । यसै प्रयासअन्तर्गत चीनले गत वर्ष साउदी अरब र उसको लामो समयदेखिको शत्रु इरानबीच मध्यस्थता गरेर यस क्षेत्रमा आफूलाई मध्यस्थकर्ताको रूपमा स्थापित गर्ने काम गर्यो ।
त्यस्तै गत महिना उसले ‘अन्तर–प्यालेस्टिनी मेलमिलापलाई बढावा दिने विषयमा गहन र स्पष्ट वार्ताका लागि’ प्रतिद्वन्द्वी प्यालेस्टिनी समूह हमास र फताहलाई आमन्त्रण गरेको थियो । विश्लेषकका अनुसार चीनले गाजामा जारी युद्धलाई यस क्षेत्रमा आफ्नो स्थितिलाई मजबुत बनाउने र अमेरिकी निष्क्रियताविरुद्ध आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । चीनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा सामरिक प्रतिद्वन्द्वी मुलुक अमेरिकाभन्दा बढी तटस्थ भूमिका निर्वाह गरेको छ । उसले इजरायलसँग समेत राम्रो सम्बन्ध कायम राख्दै प्यालेस्टाइनीहरूका लागि एक स्वतन्त्र राष्ट्र दिलाउनुपर्ने ‘दुई राष्ट्र समाधान’को वकालत गर्दै आएको छ । चीनले आफ्नो ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)’मा मध्यपूर्वलाई एक प्रमुख बिन्दुको रूपमा औँल्याएको छ ।
अरब देशका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सीले इजरायल–हमास द्वन्द्व समाधानका लागि ‘व्यापक’ शान्ति सम्मेलनको प्रस्ताव गरे । ‘मध्यपूर्व विकासको व्यापक सम्भावना बोकेको भूमि हो । तर, यस भेगलाई कहिल्यै द्वन्द्वले छाडेन । हाल जारी युद्ध अनिश्चितकालसम्म चल्नुहुँदैन,’ सीले सम्बोधनमा भने । सीपछि बोल्दै इजिप्टका राष्ट्रपति सिसीले अन्तर्राष्ट्रिय समुदायलाई गाजापट्टीमा दीर्घकालीन मानवीय सहायता उपलब्ध गराउन र इजरायली घेराबन्दी अन्त्य गर्न आह्वान पनि गरे ।
उनले प्यालेस्टिनीहरूलाई जबर्जस्ती आफ्नो भूमिबाट भाग्न बाध्य पार्ने कुनै पनि प्रयास रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । इजरायली सेनाले गाजा र इजिप्टबीचको मध्यवर्ती क्षेत्रको रूपमा रहेको रणनीतिक फिलाडेल्फिया करिडोरमा ‘गतिविधि नियन्त्रण’ गरेको बुधबार बताएपछि सिसीको यो टिप्पणी आएको हो ।
बिहीबार सीले अरब विश्वसँग आफ्नो ‘गहिरो आत्मीयता’ रहेको भन्दै अरब समुदायको प्रशंसा गरेका थिए । ‘चीन र चिनियाँ जनता तथा अरब देश र त्यहाँका जनताबीचको मित्रता प्राचीन रेशम मार्गले जोडेको मैत्रीपूर्ण सम्बन्ध आदान–प्रदानबाट सुरु भएको हो ।’ ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)’अन्तर्गत २१ अरब राष्ट्रले बेइजिङसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।