‘व्यापार र उद्योगलाई संरक्षण गर्ने बजेट’

बजेट सन्तुलित आयो, कार्यान्वयनमा जोड दिऔँ : निजी क्षेत्र

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले तथ्यमा आधारित भएर आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकारवालाले स्वीकार गरेको बताएका छन् । बजेटले व्यापार र उद्योगलाई संरक्षण गर्नेतर्फ विशेष ध्यान दिइएको पनि बताए ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा आयोजना गरेको बजेट ०८१/८२ सँग सम्बन्धित अन्तक्र्रियामा मन्त्री पुनले सन्तुलित बजेट आएको भन्दै सकारात्मक टिप्पणी पाउँदा खुसी लागेको बताए ।

उनले संसद्को अवरोध हटाएर बजेट प्रस्तुत गर्न सक्नु सकारात्मक पक्ष भएको पनि बताए । अर्थतन्त्र निर्माणका लागि केही योगदान र केही त्याग गर्नुपर्ने उनको भनाइ छ । ‘आन्तरिक ऋणको मात्रा बढेको बढ्यै छ । यस्तो अवस्थामा स्रोत जुटाउनु चुनौती भएको छ,’ उनले भने । 

उनले स्पन्ज आइरनका करका दर हेरफेर गर्दा टिप्पणी आउँछ भन्नेमा पहिला नै जानकार भएको पनि बताए । ‘स्पन्ज आइरनका विषयमा तरंग आउँछ भन्ने नै लागेको थियो, आयो पनि । यो विचार गरेरै ल्याइएको हो । यसबारे आजै व्यवसायीसँग छलफल गर्दै छौँ । हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौँ । तथ्यमा आधारित भएर यसतर्फ काम गरेका हौँ,’ उनले भने । 

आन्तरिक ऋणको मात्रा बढेको बढ्यै छ, यस्तो अवस्थामा स्रोत जुटाउनु चुनौती भएको छ 

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटको कार्यान्वयनबाट वित्तीय क्षेत्र सबलीकरण गर्न उपयुक्त मौद्रिक नीति तर्जुमा गर्ने बताए । उनले बजेटले सरकार र राष्ट्र बैंकका कामबीच तादात्म्यता मिलाएको पनि बताए । 
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संकुचनलाई हटाउन सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने बताए ।  बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको बताउँदै उनले अब कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘बजेटले दिएको मार्गनिर्देशनलाई हुबहु कार्यान्वयन गर्ने दिशातर्फ अगाडि बढ्न सक्नुपर्छ, यसो भएमा अर्थतन्त्र लयमा फर्कन समय लाग्दैन,’ उनले भने ।

उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजेट  सन्तुलित आएको बताए । नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अगाडि बढाउने घोषणा गर्नु निकै सकारात्मक भएको उनको भनाइ छ । निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य लिनु निकै राम्रो पक्ष भएको पनि उनले बताए । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बजेट यथार्थपरक र संयमित भएको बताए । कृषि, पर्यटनलगायतमा बजेटले राम्रा कार्यक्रम ल्याउनु सकारात्मक पक्ष भएको उनको भनाइ थियो । बैंकर्स संघका अध्यक्ष सुनील केसीले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधिलगायत प्रचुर सम्भावनाका क्षेत्रलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्याउनु राम्रो पक्ष भएको बताए । बैंकिङ क्षेत्रलाई निकै फाइदा हुने विश्वास गरेको पनि उनले बताए ।  

See More On

सुझावित समाचार