कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीदेखि काठमाडौंका लागि यातायात सेवा सञ्चालन भएको छ। महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिले बेलडाँडीदेखि काठमाडौंका लागि यातायात सेवा सञ्चालन गरेको हो। महाकालीले यातायात सेवा सञ्चालन गरेको ४२ वर्षमा सीधै बेलडाँडी गाउँपालिका– २ को स्थानीय बसपार्कदेखि काठमाडाैंका लागि यातायात सञ्चालन गरेको हो ।
हरेक दिन दिउँसो १ बजेतिर बेलडाँडीदेखि बेलौरी–पुनर्वास–डोकेबजार धनगढी–अत्तरिया भएर एक बस छुट्नेछ। महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका अध्यक्ष डम्बरराज पन्तले बेलडाँडीका स्थानीय जनताको आवश्यकताअनुरूप त्यहीबाट नम्बर उठाएर बेलौरी हुँदै धनगढी सेवा प्रवाह गरिएको बताए ।
‘हामीले यसअघि नियमित महेन्द्रनगर बसपार्क, बेलौरी, पुनर्वास र त्रिभुवन बस्तीबाट सीधै काठमाडाैंका लागि यातायात सेवा दिँदै आएका थियौँ,’ उनले भने, ‘अहिले आएर बेलडाँडीबाट समेत सञ्चलन गरेका छौँ ।’ बेलडाँडीदेखि काठमाडौंका लागि दुई हजार सात २३ रुपैयाँ भाडा निर्धारण गरिएको छ । बेलडाँडीदेखि सीधै काठमाडौंका लागि बस सेवा सञ्चालन भएपछि स्थानीय जनतालाई यात्राका लागि सुविधा भएको छ ।
गाउँदेखि सीधै काठमाडाैंका लागि बस नछुट्ने भएपछि बेलडाँडीका जनता झन्डै ३० किलोमिटर उत्तर–पश्चिम महेन्द्रनगर कि पूर्व बेलौरी १५ किलोमिटर दूरीमा गएर यात्रा गर्नुपर्ने बाध्यता थियो। बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले जनताको यातायात समस्यालाई मध्यनजर गर्दै महाकाली यातायातसँग अनुरोध गरेअनुरूप काठमाडौंका लागि बस सेवा सञ्चालन भएको बताए ।
‘हाम्रो गाएँका थुप्रै विद्यार्थी, कर्मचारी एवं विभिन्न सरकारी तथा निजी क्षेत्रमा कामका लागि काठमाडौंमा यहाँका स्थानीय पनि छन्,’ उनले भने, ‘यसका साथै वैदेशिक रोजगारका लागि समेत काठमाडौं जान्छन्, यही समस्या मध्यनजर गर्दै हामीले बस सेवा सञ्चालन गर्न सफल भएका छौँ ।’ बेलडाँडी गाउँपालिकाकी उपप्रमुख शान्ति नाथले सीधै बस सेवा सञ्चालन भएपछि महिला यात्रुलाई थप सुविधा पुग्ने धारणा व्यक्त गरेकी छिन् । उनले महिला एवं बालबालिका यात्रामा जोखिममा पर्ने भएकाले गाउँबाटै बस सेवा भएपछि थप सुविधा हुने बताइन् ।
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीदेखि सीधै काठमाडौं बस छुट्ने भएपछि स्थानीयलाई थप राहत पुग्नेछ । यसअघि बेलडाँडीदेखि धनगढी महेन्द्रनगरसहितका स्थानीय रुटमा यातायात सेवा सञ्चालन भएको थियो ।