भारतीय सहयोगमा डिल्लीबजार स्कुलमा छात्रावास भवन निर्माण

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको तीन करोड २३ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोगमा काठमाडौंको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवन निर्माण भएको छ । मंगलबार जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा भवन उद्घाटन गरेका छन् । 

 कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । मंगलादेवी सिंह मेमोरियल छात्रावासलाई आवश्यक भान्साकोठा, डाइनिङ हल, भण्डार कक्ष, वार्डेन कक्ष, गार्ड कक्ष, अतिथि कक्ष, कार्यालय कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, ग्रिन रुम, लन्ड्री, शौचालय, स्नानघर, सोलार ब्याकअप सिस्टमलगायतको सुविधासहितको ३९ वटा कोठा भएको चारतले छात्रावास भवनको निर्माण भएको भारतीय राजदूतावासले जनाएको छ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौंमार्फत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

श्री पद्मकन्या माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि राम्रो आवासीय सुविधा तथा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने भारतीय राजदूतावासको विश्वास छ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये काठमाडौं जिल्लाका ४१ वटा परियोजनासहित बागमती प्रदेशमा एक सयवटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौ वटा एम्बुलेन्स र तीन सयवटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । त्यसमध्ये काठमाडौं जिल्लालाई प्रदान गरिएको ७० वटा एम्बुलेन्स र ५३ वटा स्कुल बससहित बागमती प्रदेशलाई दुई सय ३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

सुझावित समाचार