नेपाल सरकारका पूर्वसचिव तथा संस्थान निर्देशन बोर्डका पूर्वअध्यक्ष विमल वाग्लेलाई ३ प्रश्न

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारी स्वामित्वका सबै उद्योग किन घाटामा गएका होलान् ?
सरकारले चलाउने सबै उद्योग नाफामै जान्छन् भन्ने छैन । घाटामा जानेजति सरकारी उद्योग उहिल्यै बन्द भइसके । अहिले बाँकी रहेका उद्योग पनि घाटामा जानु भनेको तिनलाई नाफामा चलाउने नियत नै नहुनु हो । सरकारले सही तरिकाले चलाउन नसकेर ती उद्योग घाटामा गएका हुन् । सरकारले चलाउने उचित वातावरण दिन नसकेपछि ती उद्योग घाटामा जानु अनौठो होइन ।

बजारमा अत्यधिक माग हुँदाहुँदै पनि हेटौँडा, उदयपुरजस्ता  सिमेन्ट उद्योग किन सधैँ घाटामा गएका होलान् ?
यी उद्योग घाटामा जानुमा पनि सरकारको नियत जिम्मेवार छ । सरकारले यी उद्योगलाई नाफामा लान चाहेकै छैन । नत्र त्यही सिमेन्ट बेचेर निजी उद्योगहरूले राम्रो नाफा कमाइरहेका छन् भने सरकारी उद्योगचाहिँ किन घाटामा जाने ? बजारमा माग नभएर या उत्पान बिक्री नभएर यी उद्योग घाटाका गएका होइनन् । उदयपुर सिमेन्टले सम्भवतः एसियाकै उत्कृष्ट चुनढुंगा प्रयोग गर्छ । उसको उत्पादन किन्न मानिसहरू पहिल्यै पैसा बुझाएर पालो कुर्न तयार हुन्छन् । तैपनि, यो उद्योग घाटामा छ भने सरकारको नेतृत्व गर्नेहरूले यसलाई चलाउने वातावरण नै दिएनन् भनेर बुझ्न सकिन्छ । 

सरकारी स्वामित्वका उद्योगलाई नाफामा लान के गर्नुपर्ला त ?
सबैभन्दा पहिला यिनको व्यवस्थापनमा सुधार गर्नुपर्छ । उद्योगको प्रकृतिअनुसार सक्षम र इमानदार सिइओ नियुक्त गरिनुपर्छ । सक्षम र अनुभवी व्यक्तिहरूलाई सञ्चालक समितिमा लानुपर्छ । सरकार र कर्मचारी तन्त्रले हस्तक्षेप गर्न बन्द गर्नुपर्छ । आफ्ना मान्छेको भर्ती गर्न दबाब दिनु हुँदैन । सरकारको नियत सफा हुनुपर्छ । 
 

सुझावित समाचार