पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या ६ सय ७० नाघेको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका एक अधिकारीले जानकारी दिएका छन्।
प्रशान्त महासागरीय टापुका लागि संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका प्रमुख सेर्हान अक्टोप्राकका अनुसार यसको प्रभाव सुरुमा सोचेभन्दा निकै ठूलो देखिएको छ।
‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’लाई दिएको अन्तर्वार्तामा अक्टोप्राकले एक सय ५० भन्दा बढी घर ६ देखि आठ मिटर गहिरो भग्नावशेषमा पुरिएको र ६ सय ७० भन्दा बढीले ज्यान गुमाएको हुन सक्ने बताए।
एंगा प्रान्तको विपत् क्षेत्र वरपरको क्षेत्र पनि जोखिमपूर्ण रहेको र लगातार पहिरो खसेका कारण करिब एक हजार दुई सय ५० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।
पपुवा न्युगिनीको राजधानी पोर्ट मोरेस्बीबाट ६ सय किलोमिटर उत्तरपश्चिममा रहेको एंगा प्रान्तको दुर्गम क्षेत्रमा स्थानीय समयअनुसार शुक्रबार बिहान करिब ३ बजे भीषण पहिरो गएको थियो। पपुवा न्युगिनीस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै एंगा प्रान्तको लगाइप पोर्गेरा जिल्लामा पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
‘हताहत हुनेको संख्या यकिन हुन बाँकी छ, तर प्रारम्भिक रिपोर्टले मृतकको संख्या अत्यधिक हुन सक्ने संकेत गरेको छ । खोजी तथा उद्धारकार्य जारी छ, यद्यपि निरन्तरको पहिरो र पहिरोसँगै खसेको ढुंगाले यी प्रयासहरूलाई प्रभावित गरिरहेको छ,’ राष्ट्रसंघीय कार्यालयका प्रवक्ताले भने।