अन्तर्राष्ट्रिय कबड्डीमा भाग लिँदै नेपाल

भारतको चर्चित कबड्डी प्रो लिगको अनुभव बटुलेका नेपाली पुरुष खेलाडीले चौथो बंगबन्धु प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने

शुक्रबार, ११ जेठ, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीले बंगलादेशमा आयोजना हुने चौथो बंगबन्धु कपमा प्रतिस्पर्धा गर्दै छ । २६ मेदेखि ३ जुनसम्म हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरबिन्दकुमार झाले जानकारी दिएका छन् । घनश्याम रोकामगरको कप्तानीमा नेपाली टोलीले प्रतिस्पर्धा गर्ने झाले बताए । टोलीमा गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा छन् ।

चौथो बंगबन्धु कपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइनेछ । नेपाल रहेको समूह ‘ए’मा आयोजक बंगलादेश, श्रीलंका, इराक, मलेसिया र इन्डोनेसिया छन् । समूह ‘बी’मा थाइल्यान्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्यान्ड छन् । 

नेपाली खेलाडीसँग भारतीय प्रो–लिगको अनुभव
नेपाली टोलीमा केही खेलाडीसँग भारतको चर्चित प्रो–लिग कबड्डी खेलेको अनुभव छ । नेपालका कप्तान घनश्याम भारतको चर्चित प्रो–लिग कबड्डी खेलिरहेका छन् । प्रो–लिगको १०औँ संस्करणमा उनले हरियाणा स्लिर्सबाट प्रतिस्पर्धा गरेका थिए । त्यसवेला उनी १३ लाख भारुमा अनुबन्ध भएका थिए । उनले पहिलो सहभागितामै चार टोलीविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर पाए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बेंग्लरु बुल्स विरुद्ध खेलेका थिए । 

घनश्याम प्रो–लिगमा आबद्ध हुने नेपाली खेलाडीमध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् । भारतीय कबड्डी प्रो–लिगमा नेपालबाट सञ्जय श्रेष्ठ र जयबहादुर बोहरा समान आठ आठ लाख भारुमा अनुबन्ध भएका थिए । यसैगरी, लालमोहर यादव र नागेश्वर चौधरीले समान १०–१० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएको महासचिव झाले बताए ।

बंगलादेशमा सहभागी हुने टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गर्दै १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा महिला टोलीलाई सहभागी गराउँदा थुप्रै प्रश्न सामना गर्नुपरेको खुलासा गरे । तर, चीनको हाङझाउमा महिला कबड्डी टोलीले नेपाललाई पहिलो पदकका रूपमा कांस्य दिलाउँदै सहभागिताको पुष्टि गरेको घिसिङले बताए ।
 

सुझावित समाचार