इन्डियन प्रिमियर लिग– २०२४ संस्करणको प्लेअफ इलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै छन्।
अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने आठ बजेबाट सुरु हुनेछ।
बेंगलुरुले लिग चरणमा पहिलो आठ खेलमा १ खेल मात्र जितेको थियो । त्यसपछिका ६ खेलमा लगातार जित दर्ता गरेर अप्रत्याशित नतिजा निकाल्दै प्लेअफमा पुगेको हो।
राजस्थानले भने अन्तिम पाँच खेलमा चार हार व्यहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो। यी दुई लिग चरणमा एकपटक भिडेका थिए। सो खेल राजस्थानले ६ विकेटले जितेको थियो।
आजको विजेताले फाइनल प्रवेशका लागि क्वालिफायर एकमा पराजित सनराइजर्स हैदराबादसँग खेल्नेछ। पराजित टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।
हैदराबाद हिजो भएको पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएको हो। जितसँगै कोलकाता फाइनल प्रवेश गरिसकेको छ।