पोखरा महानगरपालिका– ४ गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ठगी आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– २९ पटनेरीका ४६ वर्षीय उत्तम मगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । सहकारीको रकम अपचलन तथा हिनामिना गरेको आरोपमा मगरसँगै पक्राउ पर्नेको संख्या नौ पुगेको छ । यसअघि प्रहरीले आठजनालाई पक्राउ गरेको थियो ।
सञ्चालक समितिका पदाधिकारीहरूसमेतले सहकारीका निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिनासँगै अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरिदिन भनी १ जेठमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएको थियो । रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनपछि सहकारीको एक अर्ब ५४ करोड १५ लाख आठ हजार रुपैयाँ अपचलन तथा हिनामिना भएको देखिएको थियो ।
यसअघि १ जेठमा पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष शंकर कार्की, सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, सहकारीका व्यवस्थापक निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इनद्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनील थापा र सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ छन् ।
यसैगरी, सोही दिन प्रहरीले एक सार्वजनिक सूचना जारी गर्दै सहकारीका बचतकर्ताबाट उजुरीसमेत माग गरेको छ ।
सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा सेयर रकम फिर्ता नपाएका पीडित व्यक्तिहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागज सहित कानून बमोजिम सहकारी ठगी शीर्षकमा मुद्धाको हदम्यादलाई मध्यनजर गरी २० जेठ भित्रमा अनिवार्य रूपमा जाहेरी दरखास्त पेस गर्न अनुरोध गरिएको छ ।