हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको एउटा नयाँ अध्ययनले दैनिक एक चम्चा जैतुन (अलिभ) को तेल सेवनले डिमेन्सियाका कारण हुने मुत्युको जोखिम कम हुने देखाएको छ । जामा नेटवर्क ओपन नामक जर्नलमा प्रकाशित यो अध्ययनले दैनिक आधा चम्चाभन्दा केही बढी (कम्तीमा सात ग्राम) जैतुनको तेल सेवन गर्दा डिमेन्सियाले हुने मृत्युको जोखिम २८ प्रतिशतले कम हुने देखाएको हो । यो निष्कर्षमा पुग्न अध्येताले ९२ हजार वयस्कमाथि २८ वर्षभन्दा लामो अवलोकन अध्ययन गरेका थिए ।
यो अध्ययन सन् २०२३ को जुलाईमा ‘अमेरिकन सोसाइटी फर न्युट्रिसन’को वार्षिक बैठकमा प्रस्तुत प्रारम्भिक अध्ययनको समीक्षापछिको अन्तिम संस्करण हो । अध्येताका अनुसार भूमध्यसागरीय आहार जैतुनको तेलसँग डिमेन्सियाबाट हुने मुत्युको जोखिमको कत्तिको सम्बन्धित छ भनेर हेरेको यो नै पहिलो अध्ययन हो ।
अनुसन्धानका सहभागीहरू औसतमा ५६ वर्षका थिए । सहभागीको समूहमा सन् १९९० देखि १९१८ सम्म ‘नर्सेस हेल्थ स्टडी’मा सहभागी रहेका ६० हजार ६ सय महिला र सोही समयमा ‘हेल्थ प्रोफेसनल्स फलोअप स्टडी’मा सहभागी करिब ३२ हजार पुरुष सामेल थिए । नर्सेस हेल्थ स्टडीले उत्तर अमेरिकाका महिलामाझ जीर्ण रोगका जोखिमका कारणमाथि अनुसन्धान गरेको थियो भने अर्काे अध्ययन ‘हेल्थ प्रोफेसनल्स फलोअप स्टडी’ले चाहिँ पुरुषमा सोही विषयलाई हेरेको थियो ।
यो नयाँ अध्यनका अनुसन्धाताले प्रश्नावली र जीर्णरोगको भविष्यवाणीका लागि खाद्य तथा पोषणको रेटिङ गर्ने ‘वैकल्पिक स्वस्थ भोजन सूचकांक’मार्फत सहभागीको आहारको प्रत्येक चार वर्षमा मूल्यांकन गरेका थिए ।पशु वा वनस्पतिजन्य फ्याटको दैनिक सेवनलाई पाँच ग्राम जैतुनको तेलले प्रतिस्थापन गर्दा डिमेन्सियाबाट हुने मृत्युको जोखिम आठदेखि १४ प्रतिशतले कम हुन सक्ने देखियो । तर, अन्य तेल वा बटरले प्रतिस्थापन गर्दा भने अध्येताले परिणाम उल्लेखनीय पाउन सकेनन् । जैतुनको तेलले मुटुको स्वास्थ्यमा लाभ पु¥याएर मस्तिष्कको स्वास्थ्यलाई मजबुत बनाउने बताइएको छ ।