बंगलादेशमा छात्रवृत्ति कोटामा एमबिबिएस र बिडिएसतर्फ प्रदान गरिने शिक्षामा भएको चलखेल सच्याउन बंगलादेश पक्षले आनाकानी गरेको छ । सिफारिस गरिएअनुसारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न नेपाल पक्षले पटकपटक ध्यानाकर्षण गराए पनि बंगलादेश पक्षले त्यसलाई बेवास्ता गरेको पाइएको छ ।
शिक्षा मन्त्रालयका अनुसार बंगलादेश पक्षबाटै चलखेल गरी मन्त्रालयले सिफारिस गरेकोभन्दा फरक व्यक्तिलाई छात्रवृत्ति प्रदान गर्न लागिएको छ । तर, यसलाई बंगलादेश पक्षले त्रुटि भन्दै सच्याउने आश्वासन दिएको थियो । ध्यानाकर्षण गराएको एक साता पुग्दा पनि त्यसबारे कुनै जवाफ नदिएको मन्त्रालयले जनाएको छ ।
शैक्षिक वर्ष २०२४ का लागि बंगलादेशमा मेडिकल डेन्टल अध्ययनका लागि मनोनयन भएका एमबिबिएसतर्फ १९ र बिडिएसतर्फ तीन गरी २२ जना विद्यार्थीको नाम छनोट भएको थियो । बंगलादेशले हरेक वर्ष २२ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । तर, यस वर्ष छात्रवृत्तिका लागि शिक्षा मन्त्रालयले सिफारिस गरेअनुसारका विद्यार्थी समावेश नभएको पाइएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दहाल भन्छन् ‘बंगलादेशको राजदूतले पनि नेपाल सरकारको गल्ती होइन, बंगलादेशतर्फकै त्रुटि भएको बताउनुभएको छ । हाम्रो पहलअनुसार उहाँहरूले नाम सच्याएर पठाउँछौँ भन्नुभएको छ ।’
बंगलादेशबाट त्रुटि भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यहाँको सरकारलाई यसबारे ध्यानाकर्षणसमेत गराइसकेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले बंगलादेश सरकारलाई ‘कूटनीतिक नोट’समेत पठाइसकेकी छिन् । गत सोमबार उनले बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीसँग यस विषयमा छलफल गरेकी थिइन् । शिक्षामन्त्री श्रेष्ठका प्रेस सल्लाहकार हरीशप्रसाद भट्टले यसमा नेपालतर्फको गल्ती नभएको बताउँदै बंगलादेशतर्फको त्रुटि हुन सक्ने बताए । ‘गल्ती नेपालतर्फको होइन, बंगलादेशको नै हो भन्ने बुझिन्छ । तर, दुई देशको सम्बन्धको हिसाबले यसमा विवाद गर्ने कुरै भएन,’ उनले भने, ‘विगतमा पनि यस प्रकारको समस्या आउने गरेको रहेछ, यसपटक सकेसम्म पारदर्शी गर्न खोजेका थियौँ ।’
शिक्षा मन्त्रालयको आदेशअनुसार चिकित्सा शिक्षा आयोगले छनोट प्रक्रिया पूरा गरी गत १७ माघमा तोकिएको संख्याबमोजिमको विद्यार्थीको नामावली बंगलादेशलाई पठाएको थियो । तर, बंगलादेशबाट विद्यार्थीको कम्फर्मेसन तथा अन्तिम छनोट लेटर आउँदा तोकिएभन्दा फरक विद्यार्थीको नामावली आएको र सिफारिस भएकामध्ये कम संख्यामा विद्यार्थी छनोट भएको पाइएपछि मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।
शिक्षामन्त्री श्रेष्ठले यसबारे सम्बद्ध निकायसँग छलफल गरी अध्ययन थालेकी छिन् । मन्त्रालयको सिफारिसअनुसार २२ जना विद्यार्थीलाई अध्ययन गर्ने अवसर उपलब्ध हुनुपर्नेमा सिफारिस भएकामध्ये एमबिबिएसतर्फ १० र बिडिएसतर्फ दुईजनाको मात्रै नाम बंगलादेशले सही पठाएको छ । अन्य नाम गायब पारी सिफारिस नभएका विद्यार्थीको नाम समावेश गरिएको छ । बंगलादेशले पठाएको नामावली परराष्ट्र मन्त्रालयमार्फत २१ वैशाखमा चिकित्सा शिक्षा आयोगले प्राप्त गरेको थियो ।
यी हुन् नाम सिफारिस गरिएका २२ विद्यार्थी
शिक्षा मन्त्रालयले बंगलादेशले दिने छात्रवृत्ति कार्यक्रममा विद्यार्थीको नामावली छनोट गर्न चिकित्सा शिक्षा आयोगलाई जिम्मेवारी दिएको थियो । आयोगले पठाएको विद्यार्थीको विवरण शिक्षा मन्त्रालयलाई समेत पठाएको थियो । आयोगले पनि बंगलादेशले प्रदान गर्ने कोटाअनुसारकै विद्यार्थी छनोट गरी एमबिबिएसका लागि १९ र बिडिएसका लागि तीनजनाको नाम बंगलादेश सरकारलाई पठाएको थियो । आयोगले छात्रवृत्तिका लागि छनोट गर्दा परीक्षासमेत लिएको थियो । तर, बंगलादेशले नेपाललाई छात्रवृत्ति प्राप्त गर्नेको अन्तिम नामावली पत्र पठाउँदा केही नाम गायब भएका थिए । विद्यार्थी र अभिभावकले यसमा आयोगको चलखेल भएको आरोप लगाएपछि शिक्षा मन्त्रालयले अध्ययनसमेत गरेको थियो ।
बंगलादेशको चिकित्सा शिक्षा महानिर्देशनालय (डिजिएमई)ले पठाएको नामावलीमा एमबिबिएसतर्फ नौ र बिडिएसतर्फ एकजनाको नाम हटेको थियो । बंगलादेशबाट विवरण आउँदा एमबिबिएसतर्फ पारस कठायत, आशीर्वाद झा, राहुल साह, देवशेखर रौनियार, अनुकुमारी साह, पुनम चुनार, अमृता कुमारी, ललनकुमार दासको नाम हटाइएको छ । आयोगले परीक्षा लिएपछि शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखाले यी नाम सिफारिस गरेर पठाएको थियो ।
आयोगले एमबिबिएसतर्फ सिफारिस गरेका ती विद्यार्थीको नाम हटाएर आशिष अधिकारी, आशिषकुमार साह, असन जमाल, नेहा अन्सारी, अभिषेक साह, एमडी मसुम अन्सारी, गौरव झा, आदित्य महतो र आदर्शकुमार यादवको नाम समावेश गरिएको छ । बिडिएसतर्फ आयोगले सिफारिस नै नगरेका आशिषकुमार साहको नाम छात्रवृत्ति पाउने विद्यार्थीको लिस्टमा समावेश छ । शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दहालले नेपालतर्फको गल्ती नभएको दाबी गर्दै बंगलादेशले गरेको गल्ती सच्याउन राजदूतसँग कुरा गरेकाले सच्चिन सक्ने बताए ।