बागमती सफाइ अभियानको १२ वर्ष : ६ हजार बिरुवा हुर्किए, २१ हजार मेट्रिकटन फोहोर संकलन

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

बागमती सफाइ महाअभियानअन्तर्गत हालसम्म ६ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा बागमती नदी–किनारमा अभियन्ताद्वारा उक्त संख्यामा बिरुवा रोपिएका हुन् ।

शनिबार बागमती सफाइ महाअभियानको १२औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालले बागमती सफाइसँगै नदी–किनारमा ६ हजार बिरुवा हुर्काइएको जानकारी दिए । ‘नदीका किनारमा देखिएका रूखहरू हामीले हुर्काएका हौँ,’ उनले उनले, ‘बिरुवा धेरैले रोपेका होलान्, तर हामीले हुर्काएका छौँ । मृतप्रायः नदीलाई जीवन दिए पनि अझै सोचेजस्तो भएको छैन ।’

सफाइ महाअभियानलाई यति धेरै वर्षसम्म यो अभियानले निरन्तरता पाइराख्नु ठूलो उपलब्धि रहेको पूर्वमुख्यसचिव पौड्यालले बताए । उनका अनुसार हालसम्म बागमती किनारबाट करिब २१ हजार मेट्रिकटन फोहोर उठाइसकिएको छ । उनले सफाइ अभियानकै दबाबमा बालुवा चोरी–निकासी पूर्ण रूपमा बन्द भएको जानकारी पनि दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आममानिसमा फोहोर गर्ने संस्कारको अन्त्य हुन नसकेको बताए । उनले भने, ‘जसरी तपाईंहरूले सफाइ अभियानमा समय दिनुभएको छ, यो सहभागिताले निरन्तरता पाइराख्नुपर्छ । बागमती सफाइमा राज्यका सम्बन्धित निकायले व्यावहारिक योजना बनाउन आवश्यक छ ।’ मन्त्री तामाङले नागरिकमा अभियानका बारेमा चेतना अभिवृद्धि गर्नुपर्ने भन्दै मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

सुझावित समाचार