विवेकको महत्व हरेक क्षेत्रमा हुन्छ । व्यक्तिको सामाजिक प्रतिष्ठा नष्ट गर्न यताको केही समय ज्ञान र विवेक भएकै व्यक्तिलाई अधिक प्रयोग गर्न खोजिएको छ । मानवीय संवेदना र सोचको विश्लेषण गर्ने क्षमता कसरी हरायो ? अहिले समाज सहिष्णु छैन । सदैव नकारात्मक र असहिष्णु मात्र बन्दै गएको अपसंस्कृतिले गाँजिएको भाष्य निर्माण गर्न खोजिएको छ । तर, समाजमा कतिपय यस्ता व्यक्ति पनि छन्, जो लिन होइन, दिनमा मुठ्ठी खोलिरहेका छन् ।
परोपकारी र दानवीरहरू अझै हराएका छैनन् । केही यस्ता पनि छन्, जो राज्यको सम्पत्ति छल, बल र कलबाट खुलमखुल्ला पदीय दुरुपयोग गरी लुक्दै र लुकाउँदै सोत्तर बनाइरहेका छन् । यसरी एकथरी राज्यको ब्रह्मलुटमा लागेका छन् । राज्यबाट कसरी लिने भनी अनेकौँ छिद्रबाट प्रवेश गर्दै ध्वस्त बनाएर व्यक्तिगत स्वार्थमा तल्लीन छन् । अर्कातिर छाना, माना र नाना दिने राज्य नै भएकाले ऊसँग जनताले सर्वोपरि विकासको आस राखेका हुन्छन् । सर्वोपरि संस्था भएकाले नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्ने राज्यको जिम्मेवारी हो भन्ने धारणा तिनको रहेको देखिन्छ ।
अहिले हिन्दू, इस्लाम र क्रिस्चियानिटीजस्ता विश्वका प्रमुख धर्मलाई समेत बेग्लै राज्य चाहिएको छ । त्यसैले, हिन्दू राज्य माग्नु कुनै आश्चर्यको विषय होइन । इतिहासको ब्याजले शासकहरू आयुष्मान बन्न सक्ने स्थिति अहिले छैन । लोकतन्त्रको सुन्दर पक्ष नै बहुमतको आधारमा सुधार गर्दै अगाडि बढ्नु हो । विगतको गल्तीबाट पाठ सिक्दै, सच्याउँदै जाने खुबी पनि हो ।
लोकतन्त्रले अदृश्य शक्तिलाई चिनेको हुन्न । उसले चिनेको भन्नु नै संविधान ऐन–कानुन र विधि हो । देशको संविधानले संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको समितिका बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्नेछ भनेको छ । शपथद्वारा निर्वाचित पदाधिकारीलाई नैतिकतामा बस्न बाध्य बनाएको देखिन्छ । यसरी विधि र प्रथालाई मान्यता दिँदै आचरण र नैतिकताद्वारा यो समाज बाँधिएको पाइन्छ । राज्यले आफ्ना नागरिकलाई बेथितिबाट बचाउन हरसमय चनाखो भइरहनुपर्छ । कसैको सानो गल्तीले जनता पीडामा बस्न सक्दैन ।
चरित्रहीन नेता र भ्रष्ट समाजको बोलवाला भएको ठाउँमा उच्च नैतिक संस्कारको आशा राख्न सकिन्न । लोकतान्त्रिक व्यवस्थाले ‘कल्चर अफ साइलेन्स’ र ‘कल्चर अफ कम्प्रोमाइज’लाई अंगीकार गर्दागर्दै पनि जुलुस, धर्ना, अनशन, घेराउ ससाना ‘इस्यु’मा विवाद र द्वन्द्व हरदम चलिरहन्छ । तर, प्रजातान्त्रिक संस्कार भएको देशमा सम्झौताको क्षमता विकास हुने भएकाले हरेकको हरेकसँग शान्तिपूर्ण वार्ता र सम्झौता चलिरहेको हुन्छ । कतिपय अवस्थामा सामाजिक सम्झौता गरेर नागरिक अधिकार सम्पन्न हुन पाएका पनि छन् । मुलुक पनि रूपान्तरण हुँदै गएर परम्परागत समाजबाट शनैः शनैः विकसित अवस्थामा पुग्न लागिरहेका हुन्छन् । भलै विकास ढिलै किन नहोस् । आइपर्ने समस्यालाई वार्ता र सम्झौताद्वारा निकास निकालिरहेको हुन्छ ।
जहाँको शिक्षामा चरित्रको महत्व भेटिन्न, विवेकलाई महत्व दिइन्न, नैतिकता र आचरणलाई बेवास्ता गरिन्छ, मानवताको मूल्य सिकाइन्न, संस्कार, संस्कृति र पद्धति नामेट पार्न खोजिन्छ, त्यो देश छिटै पतनको गर्तमा फस्छ
प्रजातन्त्रको मार्गमा हिँडिनसकेका देशले भने यदाकदा हिंसात्मक मार्ग अपनाउन पुग्छन् । तिनमा टुट्ने र फुटने क्रम चलिरहेको हुन्छ । आवधिक निर्वाचन, मानवअधिकारको प्रत्याभूति, विधिमा विश्वास गर्ने नागरिक र राजनीतिक संस्कारयुक्त नेता जुन देशमा हुन्छन्, त्यहाँको राजनीतिले स्थिरता प्राप्त गरिसकेको हुन्छ । सबै पद्धति, विधि र प्रक्रियाअनुसार चल्ने भएपछि त्यहाँ तजबिजको प्रयोग गर्नुपर्ने कुनै आवश्यकता देखिँदैन । हामीकहाँ प्रशासक र नीति–निर्माण गर्ने पदमा बसेका नेताहरूले अत्यधिक तजबिजी अधिकार प्रयोग गरिरहने हुनाले तिनले त्यसैको छिद्रमा छिरेर खेल्ने अवसर पाएका हुन् । विधिले शासित भए पनि कमजोर धारामा टेकी ऐन–नियम छल्ने र गलत अर्थ लगाउन खोज्ने प्रवृत्तिकै कारण नेपालको शासन व्यवस्था अस्थिरताबाट गुज्रनुपरेको हो ।
सचेत नागरिक समाज रहेसम्म मुलुकको अवस्था जस्तोसुकै होस्, व्यवस्था कहिल्यै अस्थिर बन्न सक्दैन । खारिएका नेताहरूले देशलाई संकटबाट पार लगाउँछन् । रूपान्तरण गराउन सक्ने खुबी भएका नेतालाई यहाँ लामो समयसम्म काम गर्नै दिइएन । बिपीले बिर्ता उन्मूलन गर्न खोजे, उनलाई लामो समय टिक्नै दिइएन । मनमोहनले वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रम त ल्याए, तर अन्य सामाजिक सुरक्षामा योगदान पुर्याउन सकेनन् । देशबाट लिन होइन, दिन खोज्नेले आवश्यक पर्दा निःस्वार्थ त्याग दिएकै हुन्छन् । जसरी दुधालु भैँसीबाट एकै समय दूध र मासुको आशा राख्न सकिन्न, त्यसैगरी देशको नेतृत्व गर्नेहरूसँग काम गर्ने समय नै नदिई तत्काल परिणामको आशा गर्न सकिन्न ।
मेकियाभेली शैलीको छट्टु राजनीति वर्तमान समयमा प्रयोग गर्न खोज्नेहरूलाई तत्कालका लागि केही लाभ भए पनि दीर्घकालमा त्यो देश र जनताका लागि दिगो समाधान हुनै सक्दैन । मेकियाभेली जन्मेको समयलाई हेर्ने हो भने इटलीको अवस्था ज्यादै नाजुक थियो त्यतिखेर । तत्कालीन समयमा इटलीका सहरले आफ्नो समृद्धि र स्वतन्त्रता नै गुमाइसकेको थियो । इटली विभिन्न टुक्रामा विभाजित भएको थियो । त्यो देश शक्तिशाली राष्ट्रको युद्धभूमि बनेको थियो ।
परिणाम विभाजित नागरिकमा नैतिकता, राष्ट्रप्रेम र देशभक्तिको भावना हराइसकेको थियो । मिलान, नेपल्स, फ्लोरेन्स, भेनिस र रोमन चर्चभित्र सदैव एक–आपसमा लडाइँ झगडा भइरहन्थ्यो । मुलुक ध्वस्त बनाउन नेताको नैतिक चरित्र जति जिम्मेवार हुन्छ, उति नै त्यो देशका नागरिक पनि कम जिम्मेवार हुँदैनन् । मिरजाफर र जैचन्द जस्ताका कारण कसरी बेलायती इस्ट इन्डिया कम्पनी भारतमा छिर्न सफल भयो । सेना नायकमा लोभ नदेखिएको भए व्यापार गर्न छिरेकाले देश नै कब्जा गर्न सक्दैनथे । त्यस्तो अवस्था कसरी आयो ? नैतिकताको ह्रास र भ्रष्टहरूमा कमाउ प्रवृत्ति भएपछि मुलुक नै गुम्न पनि सक्दो रहेछ । त्यसैले, नागरिक र नेताहरू उच्च चरित्र र नैतिकतामा अडेका छन् भने चारित्रिक रूपले तिनलाई कसैले नैतिक पतन गराउन सक्दैनन् । जहाँको शिक्षामा चरित्रको महत्व भेटिन्न, विवेकलाई महत्व दिइन्न, नैतिकता र आचरणलाई बेवास्ता गरिन्छ, मानवताको मूल्य सिकाइन्न, संस्कार, संस्कृति र पद्धति नामेट पार्न खोजिन्छ, त्यो देश छिटै पतनको गर्तमा फस्यो भन्ने जाने हुन्छ ।
अरू केही चाहिन्न, मात्र शिक्षित जनशक्तिलाई पश्चिम देशको सपना देखाइदिए पुग्छ । राम्रो अवसरको खोजीमा देश छाड्नेलाई राज्यले विकल्प दिन नसकेपछि अड्याउन कठिन हुने रहेछ । भूगोलमा तिनलाई सीमित गर्न सकिन्न । वर्तमान विश्वग्राममा आउने र जानेको क्रम चलिरहेको हुन्छ । अवसरको खोजीमा जानु अस्वाभाविक हुँदै होइन । तर, हाम्रा नीति–निर्माता कहीँ न कहीँ चुकेकै छन् । त्रुटि नभएको भए यत्रो जनशक्ति किन भास्सिए ।
मानिसमा अधिक भोग र ऐश्वर्यको चाहना अकस्मात् त बढेको होइन । भूमण्डलीकरण, बजार अर्थतन्त्र र विश्वग्राममा आएको उहापोहलाई देखाएर कोही पनि अलग भने बस्न सक्दैन । तिनमा असल बन्ने, असल गर्ने, असल हेर्ने विचार र विवेक छैन भनी मान्न सकिन्न ।
त्यही भएर नै प्लस टु सकिनेबित्तिकै सके युरोप र अमेरिका नसके खाडीतिर लागेका छन् । तिनले आफैँलाई चिन्न अरूले तिनको हैसियत देखाइदिनुपर्ने भयो । योजस्तो विडम्बना अरू के नै हुन सक्छ । त्यसैले शिक्षा गुणस्तरीय मात्र होइन, चरित्रवान् र नैतिकवान् पनि आवश्यक देखियो । जुन शिक्षाले मानिसलाई नैतिकवान् र चरित्रवान् बनाउन सक्छ, त्यस्तो शिक्षा सबैले अनुसरण गरेको हुन्छ । मुलुक सिध्याउन केही चाहिन्न, आणविक अस्त्र वा क्षेप्यास्त्र प्रयोग गरिरहनै पर्दैन ।
शिक्षा पद्धति ध्वस्त गरिदिए पुग्छ । शैक्षिकस्तर ध्वस्त पारिदिएपछि सर्वत्र अस्तव्यस्त बन्छ । गतिलो जनशक्ति उत्पादन गर्न नसकेपछि मुलुक स्वतः परनिर्भर बन्न पुग्छ । यसरी सर्वत्र भाँडभैलो र अस्तव्यस्तता सिर्जना भएपछि देशमा अस्थिरता पैदा हुन थाल्छ, परिणाम गुणस्तरीय शिक्षाका लागि मुलुक छोड्नेको लर्को लाग्न थाल्छ । त्यसैले यो समयमा राजनीतिक स्थिरता र नागरिकमा उच्च मनोबल बढाएर तिनका लागि यही भूमिमै उच्चस्तरीय जीवनयापन गर्ने वातावरण तयार गर्नु आजको आवश्यकता हो ।
शिक्षा विधेयक संसद्मा अलपत्र छ । स्वार्थ भएकाहरूको स्वार्थ गाँसिएकाले ऐन बन्न ढिला भइरहेको छ । गुणस्तरीय शिक्षाका लागि अहिले गरेको लगानीले कालान्तरमा मुलुकलाई समुन्नति र समृद्धिमा डोर्याउँछ भन्ने जान्दाजान्दै पनि दश वर्ष पढाएर दश वर्ष असफल बनाउने अभ्यासमै सम्पूर्ण शक्ति लागेको छ, योजस्तो आश्चर्य अरू के नै हुन सक्छ र ? हरदिन विभिन्न विचारधाराका दलभित्र देखिएको घरझगडाले मुलुक ठूलै घ्रुवीकरणको संघारमा जान लागेको त होइन भन्ने संकेत गरिरहेको छ । हाम्रो शिक्षाले विभाजन र फुटको संंघारमा नागरिकलाई दोबाटोमा खडा गरिदिएको छ ।
मानिसको स्वभाव, धारणा सुधार्न र बदल्न वर्तमान शिक्षापद्धतिमा व्यापक हेरफेर आवश्यक देखिएको छ । सरकार नियन्त्रित शिक्षा र बजार अर्थतन्त्रको वेगमा चलेका शिक्षामा कहाँ त्रुटि छ, केलाउनु आवश्यक छ । नागरिकमा बढ्दै गएको निराशा तिनको अत्यधिक आकांक्षाले पैदा भएको छ । लोकतन्त्रको यत्रो लामो अभ्यासमा हामी सरकार वनाउने र भत्काउनेमै व्यस्त छौँ । तर, पद्धति बसाल्न हामी आखिर कहाँ चुक्यौँ । त्यसैले यो बजेट अधिवेशनमा विश्वस्त हुन नसकिए पनि देशको जल्दोबल्दो समस्यामा उचित निकास दिन ढिलो भइसकेको छ ।
(डा. मरहठ्ठा नेपाल राजनीतिशास्त्र संघ (पोल्सान) का पूर्वमहासचिव हुन्)