सदनमा धकेलाधकेल

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण
सदनमा धकेलाधकेल

संसद्मा कांग्रेस र एमाले सांसदबीच भएको धकेलाधकेल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राजनीतिक मुद्दाबाट भड्किएर सत्तापक्ष र प्रतिपक्ष मुठभेडतिर अग्रसर हुँदा संसद्मा विचाराधीन नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित, सदन खुलाउन छलफल गरिरहेका दलहरू अडानतिरै फर्किए, सहमति नभए बजेटमा पनि असर पर्न सक्ने 

सहकारी अपचलनमा संसदीय छानबिन समिति गठनको विषय राजनीतिक मुद्दाबाट भड्किएर सदनमै धकेलाधकेल र हात हालाहालमा पुगेको छ । तनावको स्थिति निर्माणमा सत्तापक्ष र प्रतिपक्षले एक–अर्कालाई दोषी देखाएका छन् । नीति तथा कार्यक्रममाथिको छलफल सकेर पास गर्नुपर्ने तथा बजेटको तयारीमा लाग्ने वेला सदनमा टकराव बढेको छ । यसले सरकारमाथि दबाब बढेको छ । 

सहकारी अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले फागुन तेस्रो सातादेखि उठाएको संसदीय छानबिन समिति गठनको विषय पेचिलो बन्दै गएको छ । र, बिहीबारको घटनाले अविश्वास बढाएपछि सहमतिका लागि छलफल गरिरहेका दलहरू अडानतिर फर्केका छन् । सत्तापक्षले अब संसदीय समिति गठन नहुने घोषणा गरेको छ । कांग्रेसले वार्ता नहुने, सरकार निसर्त समिति गठन गरेर नआए सदनको कामकारबाही अगाडि नबढ्ने चेतावनी दिएको छ । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसद मर्यादा बिर्सिएर भनाभन र धकेलाधकेलमा उत्रिए । एमाले अध्यक्ष केपी ओली र कांग्रेस उपसभापति धनराज गुरुङ तनावमा अग्रपंक्तिमा देखिए । यसले संसदीय छानबिन समिति गठनमा सहमतिनजिक पुगेको परिस्थिति अचानक तिक्ततातर्फ धकेलिएको छ । 

२८ वैशाखदेखि प्रारम्भ बजेट अधिवेशनको पहिलो दिन नै बैठक अवरुद्ध गरेको कांग्रेसले १ जेठको संयुक्त बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको थियो । तर, नीति तथा कार्यक्रम टेबुल र राष्ट्रपतिलाई धन्यवाद ज्ञापनमा अवरोध गरेपछि सभामुखले बिहीबार ११ बजेलाई बैठक सारेका थिए । 

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने र गृहमन्त्री लामिछानेले बोल्ने विकल्पमा सहमतिनजिक पुगेका सत्तापक्ष र प्रतिपक्षीले शीर्ष तहमा थप गृहकार्य गर्नुपर्ने भन्दै समय मागेपछि निर्धारित बैठक अपराह्न ४ बजेसम्मका लागि सारिएको थियो । त्यसपछि दलहरू समितिको कार्यादेश (टिओआर) बनाउने गृहकार्यतिर लागेका थिए । 

कांग्रेसले गृहमन्त्री लामिछानेको नामसहित उनी जोडिएका सहकारी पनि उल्लेख गरेर समिति बनाउनुपर्ने कार्यादेश प्रस्ताव गर्‍यो । रास्वपासहित सत्तापक्षले लामिछानेको नाम र सम्बन्धित सहकारीको नाम नराखी समग्र सहकारीको अपचलनको छानबिन गर्ने कार्यादेशको मस्यौदा बनायो । मस्यौदा बोकेर दुवै पक्ष सदन आए । यसबीचमा कांग्रेस सहमहामन्त्री जीवनबहादुर परियार र रास्वपा उपसभापति स्वर्णिम वाग्लेबीच पनि छलफल भयो । तर, कुरा नमिलेपछि शीर्ष तहमै संवाद गर्नुपर्ने निष्कर्ष निकालियो । 

कांग्रेसले आफ्नो मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझायो । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेसँग छलफल गरे । ओली र लामिछाने कांग्रेसको टिओआरमा सहमत भएनन् । ‘सत्तापक्षले रवि लामिछाने र संलग्न भनिएका सहकारीको नाम राख्न चाहेन । प्रतिपक्षीले यसलाई छोड्न चाहेन । कुरा मिलेन,’ संसद् सचिवालयका एक पदाधिकारीले भने, ‘सत्तापक्षकै दबाबमा सदन चलेको हो । सिन हिजै आइसकेको थियो । सभामुखलाई दबाब थियो, अलि बढी पार्टी झुकाव देखियो ।’ 

दलहरूबीच कुरा नमिलेपछि सभामुखले बैठक चलाउन कांग्रेस प्रमुख सचेतकलाई सम्पर्क गरे । ४ बजे निर्धारण गरिएको बैठक दुई घण्टाभित्र चलाउन नसके सूचना टाँसेर स्थगित गर्नुपथ्र्याे । कांग्रेस सचेतक सुशीला थिङले संसदीय समिति नबनी सदन चल्न नसक्ने भन्दै पार्टीको सन्देश सभामुखलाई सुनाइन् । साथै, समिति गठनमा सहमतिको विन्दु खोज्न कांग्रेसले बैठक शुक्रबारलाई सार्न प्रस्ताव गर्‍यो । तर, सत्तापक्षले मानेन । सभामुखको निर्देशनमा संसद् सचिवालयले घण्टी बजायो ।

संसदमा ठ्याक्कै भएको के हो ? 
सभामुखले बैठक प्रारम्भ गर्नासाथ कांग्रेस सांसदहरू आफ्नो सिटबाट दौडिएर वेल घेराउ गर्न पुगे । नाराबाजीबीच सभामुखले राष्ट्रपति कार्यालयको विधेयक प्रमाणीकरण र मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी दुईवटा पत्र पढेर सुनाए । राप्रपा र लोसपा सांसदले पनि उठेर विरोध गरे ।

कांग्रेसको नाराबाजी चल्दै गर्दा सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए । मन्त्रीहरूको रोहमा बायाँतिर पहिलो सिटमा बसेकी उपसभामुख इन्दिरा राना आफ्नो सिटबाट उठेर लामिछानेलाई निस्किन सहज बनाइन् । 

अर्काेतिर वेल घेराउ गरिरहेका कांग्रेस सांसद थप आक्रामक भए । उपसभापति धनराज गुरुङ उपसभामुख बस्ने सिटभित्रै प्रवेश गरेर उभिए, गृहमन्त्री लामिछानेको बाटो छेके । पछाडि बसेकी सञ्चारमन्त्री रेखा शर्माले ‘यो उपसभामुखको ठाउँ हो, किन पस्नुभएको हो’ भनिन् । 

छेउकै रोहमा पहिलो सिटमा बसेका एमाले अध्यक्ष केपी ओली पनि उठे । धनराजको काँधमा हातले कोट्याउँदै ओलीले भने, ‘किन यहाँ पस्नुभएको, तपाईं यता पस्नुभएन । यो पस्ने ठाउँ होइन । यतातिर होइन उतातिर गर्नु ।’ धनराजले औँला ठड्याउँदै प्रतिवाद गरे । 

वाद–प्रतिवाद हुँदै गर्दा वेलमा रहेका कांग्रेसका महिला सांसद दौडिएर आए । यतातिर ओलीसँगै उठेका एमाले सांसद पनि अगाडि आएर छेक्न थाले । महेश बर्ताैला, ठाकुर गैरेलगायतले ओलीलाई प्रतिरक्षा गरेका थिए भने महिला सांसद ‘केही भन्दै’ आइरहेका थिए । यहीँ दुवै पक्षबीच केहीबेर धकेलाधकेल भयो ।

यहीबीचमा सभामुख घिमिरेले हतारहतार बैठक स्थगित गरे । अर्काे बैठक शुक्रबार बिहान ११ बजेलाई तोकिदिएर निस्किए । बैठक स्थगित भए पनि केहीबेर कांग्रेस–एमाले घम्साघम्सी चलिरह्यो । कांग्रेसका आक्रामक महिला सांसद छेउमै रहेका प्रधानमन्त्री प्रचण्डसँग पनि बाझेका थिए । 

नेताहरूका अनुसार बाहिर निस्कने क्रममा कांग्रेस र रास्वपा सांसदहरूबीच पनि हात हालाहालको जस्तै अवस्था सिर्जना भएको थियो । संसद् भवनभित्र सभामुख र प्रधानमन्त्रीको कोठाको बीचमा हिँड्ने ठाउँमा बाहिर निस्कने क्रममा दुवै पक्षबीच जम्काभेट भएको थियो । 

रास्वपाले बोल्न पाउनुपर्‍यो, छलफल गर्नुपर्छ भन्दा उपसभापति गुरुङले ‘सहकारी ठगसँग के कुरा गर्ने ?’ भनेका थिए । रास्वपा उपसभापति डिपी अर्यालले ‘के भन्या रे’ भनेपछि दुवै पक्षबीच धकेलाधकेल भएको थियो । गृहमन्त्री लामिछानेलाई मर्यादापालकले जोगाएर बाहिर लगेका थिए । 

त्यसपछि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछाने बसेर घटनाक्रमको समीक्षा गरेका थिए । सदनको घटनाक्रमपछि बिहीबार राति सत्तापक्ष र प्रतिपक्षीबीच कुनै संवाद भएको छैन । दुवै थप अडानमा जाँदा शुक्रबार बिहान ११ बजे तोकिएको बैठक अनिश्चित छ । 

एमाले सांसद ठाकुर गैरेले आफ्ना अध्यक्षमाथि अपशब्द बोल्दै दुर्व्यवहार भएको बताए । ‘कांग्रेसका नेता उपसभामुखकै कुर्चीमा गएर अवरोध गर्नुभो । त्यो संसदीय मर्यादाका हिसाबले कुनै पनि हालतमा मिल्ने कुरा होइन । त्यसकै यतापट्टि हाम्रो अध्यक्ष हुनुुहुन्थ्यो । उहाँले नम्रतापूर्वक तपाईंहरू वेलतिरै गएर विरोध गर्नुस्, यो विरोध गर्ने ठाउँ होइन भन्नुभो,’ उनले भने, ‘त्यही वेला अध्यक्षमाथि अपशब्द प्रयोग गर्ने, दुर्व्यवहार गर्ने, झम्टने प्रयास भयो । त्यो कुरा हाम्रा लागि सह्य थिएन । त्यो संसदीय मर्यादा र लोकतान्त्रिक चरित्रविपरीतको अशोभनीय गतिविधि हो । त्यसपछि हामी अध्यक्षको सुरक्षाका लागि र संसदीय मर्यादाविपरीतको विरोधमा प्रतिवाद गर्न उत्रियौँ ।’

तर, कांग्रेस उपसभापति गुरुङले भने घटनालाई अतिरञ्जित बनाइएको दाबी गरे । ‘एमाले अध्यक्षले मलाई यहाँ नउभिनुस् भनेर बारम्बार भनिरहनुभएको थियो । मैले उहाँपट्टि फर्केर ‘जबर्जस्ती गर्न पाइँदैन’ भनेर नारा लगाएँ । उहाँले मलाई आफ्नै कार्यकर्तालाई आदेश गरेजसरी भन्नुभएको थियो । उहाँले ममाथि हातपात गरेको पनि होइन, मैले उहाँमाथि हातपात गरेको पनि होइन । तर, यसलाई अतिरञ्जित गराइयो,’ उनले भने ।

ओलीमाथि अभद्र व्यवहार

सत्तापक्ष र प्रतिपक्षबीच सदनमा भनाभन हुँदा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीमाथि अभद्र व्यवहार भएको छ ।  सत्तापक्षको बेन्चमै आएर कांग्रेस उपसभापति धनराज गुरुङले उनीमाथि औँला ठड्याउँदै मर्यादाविपरीत आचरण देखाएका छन् ।

नाराबाजी गर्ने क्रममा गुरुङ उपसभामुख बस्ने सिटमै अढेस लाएर उभिएपछि पछाडि बसेकी सञ्चारमन्त्री रेखा शर्माले ‘यो उपसभामुखको ठाउँ हो, किन पस्नुभएको हो’ भनेकी थिइन् । तर, गुरुङले वास्तै गरेनन् । त्यसपछि छेउकै सत्तापक्षको पहिलो सिटमा बसेका एमाले अध्यक्ष केपी ओलीले उठेर गुरुङसँग भने, ‘यहाँ किन पस्नुभएको, तपाईं यता पस्नुभएन । यो पस्ने ठाउँ होइन । यतातिर होइन उतातिर (सभामुख आसनको अगाडि) गर्नू ।’

त्यसपछि गुरुङ थप आक्रामक बने । ओलीलाई औँला ठड्याउँदै प्रतिवाद गरे । वेलमा रहेका कांग्रेसका महिला सांसद पनि दौडिँदै त्यहीँ आएर नाराबाजी गरे । एमाले सांसद महेश बर्ताैला, ठाकुर गैरेलगायतले ओलीको प्रतिरक्षा गरेका थिए । दुवै पक्षबीच केहीबेर धकेलाधकेल भयो ।

‘हाम्रो अध्यक्षले नम्रतापूर्वक तपाईंहरू वेलतिरै गएर विरोध गर्नुस्, यो विरोध गर्ने ठाउँ होइन भन्नुभो । तर, उल्टै अध्यक्षमाथि अपशब्द प्रयोग गर्ने, दुर्व्यवहार गर्ने, झम्टने प्रयास भयो । त्यो संसदीय मर्यादा र लोकतान्त्रिक चरित्रविपरीतको अशोभनीय गतिविधि हो,’ सांसद गैरेले भने । गुरुङले भने आफूले मर्यादाविपरीत गतिविधि नगरेको, बरु एमालेसहितका सत्तापक्षका सांसदहरूले घटनालाई अतिरञ्जित गरेको दाबी गरे ।

अब छानबिन समिति बने मात्रै सदन चल्छ : कांग्रेस

कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म अब सदन सञ्चालन नहुने बताएको छ । महामन्त्री गगन थापाले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘यो विषयका सन्दर्भमा अब अरू कुरै छैन । सहकारी ठगीमा संलग्नलाई कारबाही गर्ने वा जोगाउने पक्षमा उभिने ? दलहरूले सोच्ने वेला भएको छ । सदनमा मुठभेड गर्ने कांग्रेसको चाहना र प्राथमिकता होइन । हामीले स्पष्ट भनेका छौँ– छानबिन समिति बन्छ भने संसद्को काम अगाडि बढ्छ, नत्र सदनका कुनै पनि काम अगाडि बढ्न सक्दैनन् । प्रधानमन्त्रीदेखि कसैले सदनमा बोल्न पाउँदैनन् । संसदीय समिति नबनेसम्म हामीलाई कुनै पनि कुरा स्वीकार्य छैन ।’ महामन्त्री थापाले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाए । सभामुखकै कारण सदनमा बिहीबार तनाव भएको उनको आरोप छ । ‘सभामुख जिम्मेवारीमा चुक्नुभएको छ । सदनमा सत्तापक्ष र प्रतिपक्षको कतिपय कुरा मिल्दैन, तर सभामुख दलीय आबद्धताबाट बाहिर हुनुपर्छ । उहाँ पुरानो दलको आबद्धताबाट बाहिर आउन सक्नुभएन । बिहीबार सत्तारूढ तीन दलका शीर्ष नेतासँगको छलफलपछि त्यही आधारमा सदन चलाउनुभयो । जसले सदनमा जबर्जस्ती गरेर अनपेक्षित अवस्था निम्तियो,’ उनले भने । कांग्रेस लचक भइरहेको अवस्थामा विशेष गरी एमाले अध्यक्ष परिस्थिति बिगार्न लागिपरेको उनको आरोप छ । 

रास्वपा भन्छ– कांग्रेसको मात्रै सर्त मानेर अब छानबिन समिति बन्दैन
राष्ट्रिय स्वतन्त्र पार्टीले भने कांग्रेसले सत्ताबाट बाहिरिनुपरेको कुण्ठा प्रदर्शन गरिरहेको बताएको छ । कांग्रेस नेताहरूले फरकफरक प्रस्ताव ल्याएर बन्दै गरेको सहमति बिथोलेर सदनमा अराजकता प्रदर्शन गरेको सहप्रवक्ता मनीष झाले बताए । अब संसदीय छानबिन समिति नबन्ने उनको भनाइ छ । ‘राजनीतिक कुण्ठा, आफूले नपाएको पद अरूले पायो भन्ने रिसका रूपमा छानबिन समिति माग नगरौँ । समस्याग्रस्त नागरिकका लागि हामी उदार छौँ । सबैलाई समेट्ने गरी समिति बनाऔँ भनेका हौँ,’ उनले भने, ‘तर, उहाँहरूले एकपछि अर्को सर्त ल्याउनुभो । पाँच नेता पाँच गेटबाट छिरेर फरक–फरक अवधारणा लिएर आउनुहुन्छ । उनीहरूको मात्रै सर्त मानेर अब समिति बन्दैन । हामीले हाम्रो सभापतिको सबै छानबिन गर, तयार छौँ भनेका छौँ । केही खोट निस्किए हामी राजनीति नै छाड्दिन्छौँ । तर, के कांग्रेसका सबै सांसद यो हिम्मत राख्न सक्छन् ?’

See More On

सुझावित समाचार