बार्षिक ४० लाखको आलु बिक्री गर्दै लुग्दी गाउँ

शितभण्डार नहुँदा मूल्य नपाएको गुनासो

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण

नजिकैको न्यूरेनी गाउँ बसाइसराँईले रित्तो छ। गाउँमा मान्छे नभएपछि १–५ पढाई हुने न्यूरेनी प्रावि बन्द भएका दुई बर्ष भए। तर, छिमेकी लुग्दी गाउँमा स्थानीयले कृषिबाट लाखौ कमाउँछन्। लुग्दी र न्यूरेनी दिव्रुङको पनि बिकट गाउँ हुन्। 

हिउँदमा पनि सडकको पहुँच राम्रो छैन। चन्द्रकोट गाउँपालिका–१ दिव्रुङको वडाकार्यालयबाट २० मिनेटको उकालो निस्किएपछि लुग्दी पुग्दा खरेल परिवारले गरेको कृषि कर्म भने निकै लोभलाग्दो छ। 

लुग्दीमा बसाइसराइँको प्रभाव छैन। बरु जापानबाट फर्किर समेत कृषिमै रमाएका छन्, रामप्रसाद खरेल (हरि)। न्यूरेनीमा ३०/३५ घर परिवार थिए। उत्पादन राम्रो हुँदैन, अर्थोपार्जनको गत्तिलो स्रोत भएन। जसका कारण अहिले आठ/दश घर मात्रै गाउँमा छन्। न्यूरेनीको बसाइसराइँले लुग्दीमा काम गर्ने जनशक्तिको संकट छ। तर, लुग्दीको १० घर खरेल परिवार कृषि कर्ममा सक्रिय छन्। 

आफूहरुलाई कहिल्यै सुगम र परदेश मोह नभएको अगुवा तथा कृषक सावित्रा खरेलले बताइन्। ‘आम्दानी भनेकै कृषि हो। बिहे गरेका १८ वर्षसम्म परिवारका कोही कतै जान परेको छैन्,’ उनले भनिन्, ‘बिउ, प्रविधि र सिँचाइमा सरकारको सहयोग पाएका छौँ।’

चन्द्रकोट गाउँपालिका–१ का ३५ बर्षीय यदुलाल खरेलले कहिल्यै परदेश पस्ने मनसाय बनाएनन्। गाउँकै विद्यालयबाट एसएलसी दिए। तर, उच्चशिक्षालाई निरन्तरता दिएनन्। बरु परम्परागत कृषिकर्मको योजना बनाए। 

खरेलको परिवारनै कृषि कर्ममा छन्। वृद्ध बुबा ७४ वर्षीय रुकमागतदेखि यदुलाल खरेलदम्पतीलेनै कृषि तथा पशुपालनलाई मुख्य अर्थोपार्जनको आधार बनाएका छन्। खरेल परिवार गाउँमै सवैभन्दा धेरै लसुन र आलु उत्पादन गर्छन्। उद्यमी यदुलाल खरेलका अनुसार वर्षमा ६०/६५ क्विन्टल आलु उत्पादन हुन्छ। आठ/दश क्विन्टन लसुन फलाउँछन्।

लुग्दीमा वर्षमा दुई पटक आलु लगाइन्छ। असोजमा रोपेको आलु माघका खन्ने हुन्छन्। एक महिनापछि फागुनमा फेरि आलु रोप्छन्। फागुनको आलु जेठमा खन्ने हुन्छ। फागुनमा झिकेकोभन्दा जेठको आलुको बजार माग धेरै छ।

लेकमा फल्ने अर्गानिक आलु भएकाले जिल्ला तथा जिल्ला बाहिरका बजारमा बढि बिक्री हुने गरेको खरेलले बताए। सोही गाउँका घनश्याम खरेलले बाउ बाजेकै पालाबाट आलु र लसुन रोप्थे। उनीहरुको प्रमुख आम्दानीको स्रोत आलु र लसुन हो।

सडकको सहज पहुँच नहुँदा बिक्री गर्न मुस्किल पथ्र्यो। घण्टौ बोकेरै मान्छे र खच्चरले तम्घास र रिडी पुराउँथे। खरेल आफैँले ३५/४० क्विन्टल आलु बिक्री गर्छन्। वर्षमा पाँच लाख आलु बेचेरै आम्दानी हुन्थ्यो। अहिले चन्द्रकोट गाउँपालिकाले गाउँका सवै किसानहरुलाई एकिकृत गरेर आलु पकेट क्षेत्र मार्फत काम गरिरहेको छ। 

उनी समूहका अध्यक्षसमेत हुन्। खरेलका अनुसार लुम्दीका ३४ घरपरिवार आवद्ध भएर उद्यमशिल कृषक समुह गठन गरेका छन्। समुह मार्फत आलुको एकिकृत उत्पादन र बजारीकरणमा काम भइरहेको छ। आलु पकेट क्षेत्र कार्यक्रम आर्थिक वर्ष ०७९/०८० देखि ०८०/०८१ गरेर दुई वर्षको लागि हो। जसको लागि गाउँपालिकाले १८ लाख र समुहले १३ लाख ६८ हजार १८ रुपैयाँ खर्च गरेका छन्।
 
एक सय ४० रोपनी क्षेत्रफलमा आलुखेती गरिएको समुहका अध्यक्ष खरेलले बताए। उनले अहिले समूहमार्फत बार्षिक ४० लाखको आलु बिक्री गर्ने गरिएको बताए। गाउँबाट अहिले ५० रुपैयाँ प्रतिकिलो आलु बिक्री भएको छ। 

शितभण्डार नहुँदा मूल्य नपाएको गुनासो

समुहमा एकै पटक धेरै आलु उत्पादन हुन्छ। तर, राम्रो भण्डारण गर्ने उपाय छैन। केही महिना घरहरुको राखेपछि लामो समय आलु टिक्दैन। समुहमा आलु स्टोर गर्ने ठाउँ नभएकाले तत्काल बिक्री गर्नुपर्ने भएकाले अफ सिजनमा जस्तो मुल्य नपर्ने समस्या भोगिरहेको कृषक नन्दराम खरेलले गुनासो गरे। 

अहिले गाउँका नागरिकमा आलु, लसुन लगायतका कृषि उत्पादनहरुमा कृषकहरुको उर्जा बढ्दै गएकाले लामो समय आलु स्टोर गर्ने शितभण्डार आवश्यक रहेको चन्द्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम खरेलले बताए।

‘नागरिकका चाहाना क्रमश पुरा हुँदै गएका छन्। लुम्दीमा आलुको संभावना राम्रो पाएका छौ,’उनले भने,‘शितभण्डारको लागि पनि काम गर्छौँ।’ स्थानीय तहको प्रमुख समृद्धिको आधार कृषि, पशुपालन र पर्यटन हो। 

चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले उत्पादनमा प्रोत्साहन गर्दै बजारसंग जोडन काम गरिरहेको बताए। उनले स्थानीय सरकारले उत्पादनमा जोड दिने र प्रदेश तथा संघले बजारमा ध्यान दिए कृषि र पशुपालनका माध्यमबाट समृद्धि सम्भव भएको बताए।

जिल्लामा साढे ११ करोडको आलु उत्पादन

गुल्मी जिल्लामा हिउँदे र बर्षे गरेर दुई समयमा आलु उत्पादन गरेको छ। जिल्लामा आठ सय ३० रोपनीमा बर्षे आलु हुँदै आएको छ। वर्षे आलुको लागि मालिका गाउँपालिका प्रख्यात छ। बर्षे आलु मालिका गाउँपालिकाका वडा नं.१, २, ३, ४ मा उत्पादन हुने गरको छ। 

मदाने गाउँपालिकाको वडा नं. १ र २, मुसिकोट नगरपालिकाको १ र ८, चन्द्रकोट गाउँपालिकाको वडा नं १ तथा रेसुंगा नगरपालिका वडा नं ९ मा पनि वर्षे आलु उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। हिउँदे आलु रुरु क्षेत्र, छत्रकोट, मुसिकोट, सत्यवति, इस्मा, र मदानेमा व्यावसायीक रुपमा उत्पादन हुने गरेको छ। 

मूख्य पकेट क्षेत्रको रुपमा रुरुक्षेत्रको बम्घा टाहाटिम, अँगाहाफाँट, सत्यवतीको शाहाघाट, मुसिकोटको भर्मचौर, मदाने गाउँपालिकाको सिम, बडिघाट र छल्दी आसपासका फाँटहरु रहेको कृषि ज्ञान केन्द्र गुल्मीका बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए। 

हिउँद आलु १६ हजार तीन सय ४० रोपनीमा हुँदै आएको छ। जिल्लामा ११ करोड ५० लाखबराबरको आठ हजार एक सय मेट्रिकटन आलु उत्पादन हुने भण्डारीले बताए। उनका अनुसार दुई करोड ७१ लाखको आलु जिल्ला बाहिर निर्यात हुने गरेको छ। 

केन्द्रले बर्षे आलु प्रवद्र्धन कार्यक्रम, हिउँदे आलु विस्तार कार्यक्रम, आलुको बीउ उत्पादन श्रोत केन्द्र स्थापना कार्यक्रम, बीउ आलुको ढुवानी र शित भण्डार शुल्कमा अनुदान सहयोग कार्यक्रम तथा स्थानीय आलुको लेबलिङ, प्याकेजिङ र ब्राण्डिङमा सहयोग गर्दै आएको छ। 

See More On

सुझावित समाचार