नीति तथा कार्यक्रमपछि गृहमन्त्रीले बोल्न पाउनुपर्छ : सन्तोष परियार

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसदमा गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेले बोल्न पाउनुपर्ने बताएका छन्।

सिंहदरबारमा सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परियारले यस्तो धारणा राखेका हुन्।

आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। उक्त कार्यक्रम सकिएपछि हुने दोस्रो बैठकमा गृहमन्त्री लामिछानेले आफ्ना धारणा राख्न पाउनुपर्ने परियारको भनाइ छ।

‘गएको बैठकमा सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिनुभएको थियो। बोल्न पाउनुभएको छैन, आजको बैठकमा त्यसको निरन्तरतास्वरूप बोल्न दिनुपर्छ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ। धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्स पूरा हुँदैन। कांग्रेसले पुनर्विचार गर्नुपर्छ,’ उनले भने।

आजै बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र धन्यवाद प्रस्ताव टेबल गर्ने प्रयोजनका लागि बोलाइएको बैठक पुनः अवरुद्ध गर्ने निर्णय गरेको थियो। रास्वपा प्रमुख सचेतक परियारले दोस्रो बैठकमा लामिछानेले बोल्न पाउनुपर्ने धारणा राखेका हुन्।

सुझावित समाचार