जर्मनीमा बाल–मतदाता र दक्षिणपन्थको सम्भावित उदय

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

जुनमा हुने युरोपेली संसदीय चुनावअघि जर्मनीले मतदाताको न्यूनतम उमेर १६ वर्ष पुर्याएको छ । यसले जर्मनीलाई १८ वर्षमुनिका बालबालिकालाई मतदान गर्न अनुमति दिने युरोपियन युनियन (इयू) का सदस्यमध्ये सबैभन्दा ठूलो बनाएको छ । अस्ट्रिया, बेल्जियम र माल्टाले १६ र १७ वर्षका बालबालिकालाई पहिल्यै मताधिकार प्रदान गरिसकेका छन् र ग्रिसले सन् २०२४ मा १७ वर्ष पुगेका सबैलाई जुनमा हुने युरोपेली संसदीय चुनावमा भाग लिन अनुमति दिनेछ ।

लगभग ४८ लाख जर्मन किशोर–किशोरीसहित जर्मनीमा बसोवास गर्ने अन्य इयू सदस्य मुलुकका तीन लाख किशोर–किशोरीले पहिलोपटक मतदान गर्नेछन् । यी किशोर–किशोरी मतदाता ६ करोड ४९ लाख कुल मतदाताको सानो हिस्सा हो । तर, जर्मन किशोर–किशोरीको संख्या इयूका केही मुलुकका कुल जनसंख्याभन्दा बढी देखिन्छ । सन् २०१९ को युरोपेली संघको चुनावमा नवयुवा मतदाताको सहभागिता बढेको सन्दर्भमा यो नयाँ सशक्त जनसांख्यिकीबाट बलियो मतदानको अपेक्षा गरिएको छ । यद्यपि उग्र–दक्षिणपन्थीले सक्रिय रूपमा युवा मतदातालाई लक्षित गरिरहेका छन् । कम उमेरका मतदाताका कारण उग्र–दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिभ फर ड्युसल्यान्ड’ पार्टी (एएफडी) को चुनावी प्रदर्शन सम्भावित रूपमा बलियो हुनेछ । 

हालैको तथ्यांकले जर्मनीमा १५ देखि २४ वर्षका उमेर समूहले युरोपका अन्य उमेर समूहका जनसंख्याको तुलनामा युरोपेली संसद्प्रति बढी अनुकूल दृष्टिकोण राखेको देखाउँछ । तर, युवामाझ यो सकारात्मकता तीव्र रूपमा घट्दै गएको छ । सन् २०२१ मा तीमध्ये ४१ प्रतिशतले संसद्लाई सकारात्मक रूपमा हेरेका थिए, जबकि समग्र जनसंख्यामा यो आँकडा ३४ प्रतिशत थियो । 

परम्परागत पत्रकारिताको सट्टा सामाजिक सञ्जालबाट मुख्यतया राजनीतिक जानकारी प्राप्त गर्ने नवमतदातालाई टिकटकले राजनीतीकरण गरेको छ 

केही द्विविधाका बाबजुद कम उमेर समूहका जनसंख्याले अझै पनि इयू सदस्यतालाई सकारात्मक रूपमा हेर्छन् र ८४ प्रतिशतले जर्मनीका लागि इयूबाट लाभ छ भन्ने मान्छन् । र, इयू क्षेत्रको लोकतन्त्रमाथिको सन्तुष्टि ५८ प्रतिशतमा झरेको छ । तर, युरोपेली संसद्मा विश्वास गर्नेको संख्या ६३ प्रतिशत पुगेको छ ।

टिकटक राजनीति : युरोपेली संसद् विश्वव्यापी रूपमा प्रत्यक्ष निर्वाचित एक अन्तर्राष्ट्रिय संसदीय सभा हो । जर्मनीमा पहिलोपटकका मतदाताले ३५ वटा पार्टीबाट सांसद छनोट गर्ने मौका पाउनेछन् र यी नवमतदाताले कट्टर इयूविरोधी एवं उग्रदक्षिणपन्थी पार्टी एफडी रोज्न सक्छन् ।

परम्परागत पत्रकारिताको सट्टा सामाजिक सञ्जालबाट मुख्यतया राजनीतिक जानकारी प्राप्त गर्ने नवमतदातालाई टिकटकले राजनीतीकरण गरेको छ । एएफडीबाहेक नवमतदातालाई लक्षित गर्ने गरी टिकटकको बलियो उपस्थिति जर्मनीका अन्य राजनीतिक दलमा देखिँदैन । नतिजा युरोपेली संसदीय चुनावमा एएफडी एक बलियो दाबेदार बनेको छ ।

सन् २०२४ को युरोपेली संसद्को चुनावका लागि एएफडी प्रमुख उम्मेदवार एवं युरोपेली सांसद मेक्सिमिलियन क्राह टिकटकमा लोकप्रिय छन्, जहाँ पाँच लाखभन्दा बढी लाइक आउँछन् । क्राह आफ्नो जातीय–राष्ट्रवादी विचार र निरंकुश प्रणालीको प्रशंसाका लागि परिचित छन् । युरोपेली सांसदको भूमिकामा रहँदा उनले रुसबाट रकम स्विकारेको आरोपमा जर्मन न्यायपालिकाले अनुसन्धान गरिरहेको छ । यसबाहेक उनका एक मान्यताप्राप्त संसदीय सहायकलाई चीनका लागि जासुसी गरेको भन्दै पक्राउ गरी अनुसन्धान गरिँदै छ, यद्यपि क्राह आफैँ यो अनुसन्धानको घेरामा परेका छैनन् ।

एएफडीको टिकटक सामग्रीले सरल र भावनात्मक रूपमा उत्तेजक राजनीतिक विश्वदृष्टिलाई निराशावादी दर्शकमाझ पस्किन्छ । टिकटकका सामग्रीमा प्रायः द्वेषी अभिव्यक्ति हुन्छ, जुन ‘ठट्यौली’ पाराको हुने गर्छ । यो रणनीति प्रभावकारी देखिन्छ, किनभने पार्टीले जर्मन युवामाझ लोकप्रियता कमाइरहेको छ । हालैको ‘युथ इन जर्मनी २०२४’ अध्ययनका अनुसार १४ देखि २९ वर्ष उमेरका लगभग २२ प्रतिशत युवाले एएफडीलाई मतदान गर्नेछन् । यी मतदातामध्ये धेरैले आगामी चुनावमा पहिलोपटक मतदान गर्नेछन् ।

यसले मतदानको व्यवहारमा ठूलो सम्भावित परिवर्तनको झल्को दिन्छ । सन् २०१९ को युरोपेली संसद्को चुनावमा १८ देखि २९ वर्ष उमेरका ३० प्रतिशत जर्मन मतदाताले सामाजिक उदारवादी पार्टी ग्रिन्सलाई समर्थन गरेका र १३ प्रतिशत मतदाताले मध्यम दक्षिणपन्थी सिडियू/सिएसयूलाई समर्थन गरेका थिए ।

एएफडीलाई सात प्रतिशतले समर्थन गरेका थिए र त्यतिवेला एएफडी सातौँ स्थानमा थियो । एक उल्लेखनीय लैंगिक अन्तर स्पष्ट रूपमा देखिन्छ, प्रायः युवतीले ग्रिन्स पक्षमा र युवाले पुरातनपन्थी वा उदारवादी पार्टीतर्फ झुकाव राखेका थिए । उम्मेदवार मतदाता र नीतिमा ‘पुरुषवादी’ छविका लागि परिचित एएफडीमा पुरुष मतदाता बढी हुनु स्वाभाविक देखिन्छ । सन् २०१९ मा १४.६ प्रतिशत पुरुषले एएफडीलाई मतदान गरेका थिए, जबकि महिलाका हकमा यो ७.६ प्रतिशत मात्रै थियो ।

क्राहको टिकटक अपिललाई हेर्दा उनी आफूलाई तीन विभिन्न यौनसाथीबाट जन्मेका आठ सन्तानका पिता हुँ भन्दै फुर्ती लगाउँछन् । टिकटकमा उनी महिलालाई कसरी फकाउने भनेर उपाय सुझाउँछन् । एक टिकटक पोस्टमा उनले ‘पार्न (अश्लील सामग्री) नहेर्नुस, ग्रिन्स पार्टीलाई मतदान नगर्नुस्, स्वच्छ हावाको मजा लिनुस्, अडान लिनुस्, आत्मविश्वासी बन्नुस्’ असली मर्द दक्षिणपन्थी हुन्छन्, असली मर्दमा वास्तविक सपना हुन्छन्, असली मर्द देशप्रेमी हुन्छन् । यी गुण भए प्रेमिका बनाउन पनि गाह्रो छैन’ भनेका थिए । नवमतदाता जर्मन विशेषतः किशोरमाझ यो अपिलको प्रभाव आगामी सातामा स्पष्ट हुनेछ । युवापुस्तालाई युरोपियन युनियन द्वेष र लोकतन्त्रविरोधी भावनाको चपेटामा पर्न नदिन अन्य पार्टीले ध्यान दिनैपर्छ ।
(एबेल्स टुबिंगेन विश्वविद्यालयमा तुलनात्मक राजनीति एवं युरोपेली एकताकी प्राध्यापक हुन्) द कन्भर्सेसनबाट

सुझावित समाचार