समझदारीमै राष्ट्रपतिको सम्बोधन आउँछ : प्रधानमन्त्री

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा अवरोध नहुने बताएका छन्। साेमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम सम्बोधन गर्ने कुरालाई अवरोध कसैले पनि गर्न नहुने बताए। 

उनले भने, ‘समझदारीमै राष्ट्रपतिको सम्बोधन आउँछ। यदि समझदारी भएन भने पनि राष्ट्रपतिको सम्बोधन कांग्रेसले रोक्दैन। कांग्रेस संवैधानिक संस्कार बुझेको पार्टी हो। संसद् खोलेर जानु अत्यन्त राम्रो कुरा हो। मैले प्रधानमन्त्रीको हिसाबले प्रयास गरेको छु। सबै सकारात्मक हुनुहुन्छ।’

राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने कुरामा कसैको विरोध हुन नहुने बताउँदै प्रधानमन्त्रीले भने, ‘कांग्रेससँग गम्भीर छलफल भएको छ। संसद् खुलेर जाने कुरा अत्यन्तै राम्रो हो, तर संसद् नखुले पनि राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने कुरामा कसैको विरोध हुनुहुँदैन। कांग्रेससँग गम्भीर छलफल भएको छ। रास्वपा सभापति रवि लामिछानेले पनि समिति बनाउने कुरामा विरोध गर्नुभएको छैन। संकटग्रस्त सहकारीको बारेमा अध्ययन गरेर प्रतिवेदन दिने कुरामा सहमति भयो भने कोसिस गर्ने कुरामा सकारात्मक छलफल भएको छ।’

प्रधानमन्त्रीले आफू कांग्रेसप्रति कहिल्यै ‘नेगेटिभ’ नभएको र कांग्रेसले पनि आफूलाई ‘नेगेटिभ’ सोच्न पर्ने कारण नभएको बताए। ‘अघिल्लोपटक समीकरण ब्रेक हुनुमा कांग्रेसलाई राष्ट्रपति दिऊँ र शक्ति बाँडफाँट गरौँ’ भन्दा नमिलेकै होे। कांग्रेससँग सहमतिको वातावरण बनाउन म जहिले पनि लागिरहेको छु,’ उनले भने।

सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरेको छ। कांग्रेसले पछिल्लो समय संसदमा गतिरोध गरिरहेका कारण नीति तथा कार्यक्रममा आशंका उठिरहेका वेला प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो।

उनले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्री रवि लामिछानेको आरोपको पनि खण्डन गरे। उनले भने, ‘कुतर्क कसैले पनि गर्न हुँदैन। जिबी राईलाई पक्राउ गर्न राहदानीका कारण समस्या भएको हो। उसलाई ल्याउने तयारी भइरहेको छ। अघिल्लो सरकारले, प्रधानमन्त्रीले, गृहमन्त्रीले भगायो भन्नु कुतर्क हो।’
 

सुझावित समाचार