मोहन वैद्यनिकट विद्यार्थी संगठनद्वारा स्कुलबसमा आगजनी

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका कार्यकर्ताले स्कुलबसमा आगजनी गरेका छन् । आइतबार बिहान विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा भरतपुर महानगरपालिका– २० दद्रेनीनजिकै आगजनी गरिएको हो ।  स्कुलले चर्को शुल्क असुलेको कारण आफूहरूले बसमा आगजनी गरेको भन्दै  वैद्यनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवनले घटनाको जिम्मेवारी लिएको छ। 

अनेरास्ववियु (क्रान्तिकारी) चितवनका संयोजक सुमनाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘स्कुलले चर्को शुल्क असुलेर अभिभावकहरूलाई शोषण गर्दै आएको थाहा पाएपछि पटकपटक चेतावनी दिँदासमेत वास्ता नगरिएकाले चेतावनीस्वरूप बसमाथि आगजनी गरिएको हो ।’

विज्ञप्तिमा विद्यार्थीहरूको अनिवार्य र वैज्ञानिक शिक्षा उच्च तहसम्म निःशुल्क ग्यारेन्टी गर्दै निजी शैक्षिक संस्थाहरूलाई राष्ट्रियकरण गरी शैक्षिक एकरूपता ल्याउनका अभियान चलाउने भनिएको छ । उनीहरूले ६ बुँदामा आफ्ना भावी कार्यक्रमहरू पनि सार्वजनिक गरेका छन् । 

तीनवटा मोटरसाइकलमा आएकाे ६ जनाको समूहले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल छर्किएर आगो लगाएका थिए । बस जलेर पूर्ण रूपमा क्षति भएको छ । चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीका अनुसार संगठनले जिम्मेवारी लिएपछि अध्ययनको दायरा साँघुरो भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको बताए । अहिलेसम्म प्रहरीले कसैलाई पनि नियन्त्रण गर्न सकेको छैन ।  

See More On

सुझावित समाचार