मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलले विद्यार्थी नेतृत्व चयनका लागि आमनिर्वाचनको झल्को दिनेगरी प्रयोगात्मक अभ्यास गराएको छ । वास्तविक निर्वाचनको झल्को आउने गरी आयोजित निर्वाचनमा सहभागी हुन आइतबार बिहानैदेखि विद्यार्थीलाई चटारो थियो । उनीहरू आ–आफ्नो सदनको लिडर चुन्ने चटारोमा थिए ।
आ–आफ्नो सदनका उम्मेदवारलाई निर्वाचित गर्न विद्यार्थीले निर्वाचनका सबै प्रक्रिया अपनाएका थिए । उनीहरूले नामावली प्रकाशन, उम्मेदवारी दर्ता, मतदान चिह्न प्रदान, मौन अवधि, मतगणना, नतिजा घोषणा, शपथग्रहणलगायत प्रक्रिया अपनाएका थिए । विद्यालयले हरेक वर्ष विद्यालयभित्रका सदनहरूको नेतृत्व चयनमा यसरी नै निर्वाचन गराउँदै आएको छ ।
४ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीले हरेक वर्ष यस प्रकारको चुनावी अभ्यास गर्छन् भने मतदान प्रक्रियामा विद्यालय प्रशासनले सहयोग गर्छ । मतदान कार्यक्रमका लागि निर्वाचन आयोगसमेत गठन गरेको थियो । यस्तो अभ्यासबाट विद्यार्थीले साँच्चै निर्वाचन कस्तो र कसरी हुन्छ ? भनेर प्रत्यक्ष सिक्ने मौका पाउने विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार देशको नेतृत्व चयन गर्दा जुन प्रकारको चुनावी अभ्यास अपनाइन्छ, विद्यालयले गरेको अभ्यास चुनावमा पनि सोही प्रक्रिया अपनाइएको छ ।
विद्यालयको चारवटा सदनका उम्मेदवारले मत माग्ने, आफ्ना अजेन्डा प्रस्तुत गर्ने, मौन अवधिको पालना गर्नेलगायत नियम पालना गरेका थिए । ‘यसप्रकारको अभ्यासले विद्यार्थीले निर्वाचन के हो र कसरी गरिन्छ भन्ने कुरा राम्ररी सिक्न पाउँछन्, अर्को उनीहरूले आ–आफ्नो विद्यालय सदनको नेतृत्व पनि छान्छन्,’ प्राचार्य भण्डारीले भने, ‘यसप्रकारको अभ्यासले प्रयोगात्मक ज्ञान, सीप अभिवृद्धि गर्न र बालबिकासमा सहयोग गर्छ ।’ मतदान प्रक्रियाबाट सदनका लागि कप्तान, छात्र उपकप्तान र छात्रा उपकप्तानका लागि एक–एकजना विद्यार्थी चयन गरिन्छ ।