सहकारी ठगीविरुद्ध कांग्रेसले सडकबाट पनि संघर्ष गर्नुपर्छ : नैनसिंह महर

एमाले अध्यक्ष ओलीले पनि छानबिन समिति बनाउन बाधा खडा गरेको आरोप

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक संघर्ष गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंको नयाँ बानेश्वरमा नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले यस्तो बताएका हुन्

गाउँ–गाउँका गरिब जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक संघर्षको अपरिहार्यता रहेको बताउँदै उनले राज्यको दोहन गर्दै जनतालाई ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन कांग्रेसको भूमिका थप सशक्त हुनुपर्ने औँल्याए।

‘सरकार सहकारीपीडित जनताको पक्षमा देखिएन। आफ्नै क्याबिनेटका सहकारी ठग मन्त्री र अन्य सहकारी ठगीका दोषीलाई संरक्षण गर्ने नाइकेजस्तो देखियो,’ उनले भने, ‘यस्तो अवस्थामा पीडितलाई न्याय दिन कांग्रेसले सदनसँगै जनताको माझमा रहेर सडक संघर्ष गर्नुपर्छ। ७७ वटै जिल्लामा संघर्षका कार्यक्रम अगाडि बढाउनुपर्छ।’

नेता महरले सहकारी ठगीको अभियोग खेपिरहेका कुनै एक मन्त्रीका कारण संसद्लाई अनिर्णयको बन्दी बनाउनु आपत्तिको विषय भएकोसमेत बताए। सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सिंगो सरकार लागेको भन्दै उनले संसद्लाई अनिर्णयको बन्दी बनाउनु लज्जाको विषय भएको टिप्पणी गरे।

लोकतन्त्रमा लुटतन्त्र र ठगतन्त्र नचल्ने भन्दै महरले लामिछानेलाई तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे। संसदमा लामिछानेलाई बोल्न नदिने विषय पनि उत्तम नभएको महरको धारणा छ।

‘कुनै लघुताभाष नभएका गैरजिम्मेवार गृहमन्त्रीका कुरा पनि सुनौँ। जताततै ठग्न पल्किएका गृहमन्त्रीले सदनमा जति प्रस्टीकरण दिए पनि जनता पत्याउने अवस्थामा छैनन्। उनले जनतामाथि घात गर्दै पूर्ण विश्वास गुमाइसके,’ महरले भने।

सरकार मात्र नभएर सत्तासाझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि छानबिन समिति बनाउन बाधा खडा गरिरहेको महरको आरोप छ। ‘सहकारी ठगीको निष्पक्ष छानबिन भयो भने एमालेलगायत गठबन्धनमा संलग्न दलका धेरै नेताहरू अनुसन्धानको दायरामा आउन सक्ने भएकाले एमाले अध्यक्ष ओलीलगायत छानबिन समिति बनाउन बाधा खडा गरिरहनुभएको छ,’ उनले भने।

सुझावित समाचार