त्रियुगाका नौवटा सडक कालोपत्रे हुँदै

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको बजार क्षेत्र र आसपासका नौ सडक स्तरोन्नतिसँगै कालोपत्रे हुने भएका छन् । विश्व बैंकको सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (युजिआइआइपी)अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरी चारवटा वडाका नौवटा सडक कालोपत्रेका हुने भएका हुन् । 

नगरको महत्वपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने सडक निर्माणका लागि विश्व बैंकले दिएको सहयोगलाई नगरले गौरवको आयोजनाका रूपमा लिएको नगर प्रमुख वसन्तकुमार बस्नेतले बताए । त्रियुगा नगरपालिकाका चारवटा वडामा १४ दशमलव पाँच किलोमिटर आधुनिक सडक बन्नेछ  ।

नगरभित्रका दुई राजमार्ग (मदन भण्डारी र सगरमाथा)लाई जोड्दै बजार क्षेत्रका महत्वपूर्ण सडक एक–आपसमा जोडिने गरी लिंक रोड निर्माण गरी अन्तर्राष्ट्रियस्तरको मापदण्डमा बन्ने उनको भनाइ छ ।

चारवटा वडाका नौ सडकलाई दुई प्याकेज गरी टेन्डर आह्वान गरिएको थियो । पहिलो प्याकेजमा करिब १० किलोमिटर सडक र दोस्रो प्याकेजमा करिब ४ दशमलव पाँच किलोमिटर सडक निर्माण हुुनेछ । कुल १४ दशमलव पाँच किलोमिटर सडकलाई ६६ करोड ११ लाख एक सय ४० (पिएस र भ्याटसहित)मा १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी आशिष (आशीर्वाद) स्वामी नारायाण जेभीले ठेक्का सम्झौता गरेको छ ।

आयोजना सञ्चालनका लागि विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब रुपैयाँभन्दा बढी) उपलब्ध गराएको थियो । संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण गरिनेछ । विश्व बैंकसँगको सम्झौतामा सबै सडक ०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ ।

गाईघाट टाउन प्लानिङ, सिटीहल सिमलटार, बाबारानी डिएम गेट, पिजीचोक (फुलचोक) बोटेटोल त्रियुगा करिडोर, शिवालय टोल हुँदै करमगाछी, प्रगति टोल हुँदै साकेला टोल, सगरमाथा कृषि बजारपश्चिमबाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोरलगायत सडक निर्माण हुने बताइएको छ । 

सुझावित समाचार