गुल्मीको चिदीचौर खेल मैदानमा सञ्चालन भएको प्रथम रेसुंगा मेयरकप फुटबल प्रतियोगिता २०८१ को उपाधि रेसुंगा नगरपालिका– ८ ले प्राप्त गरेको छ।
नगरपालिकाभित्रका वडाहरूबीचको प्रतिस्पर्धामा वडा नं १ र ८ फाइनल चरणमा प्रवेश गरेका थिए। वडा नं ८ ले वडा नं १ लाई १ का विरुद्ध ४ गोल गरेर उपाधि प्राप्त गरेको हो।
प्रतियोगिताको विजेता नगद वडा नं ८ ले नगद ३५ हजार, मेडल र प्रमाणपत्र तथा उपविजेता वडा नं १ ले नगद २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको मेयर कप फुटबल प्रतियोगिता उपसमिति संयोजक गिरिप्रसाद महाकिमले जानकारी दिए।
प्रतियोगितामा बेस्ट प्लेयर तथा सर्वाधिक गोलकर्ता विनोद आले, इमर्जिङ प्लेयर विशेष श्रेष्ठ, बेस्ट डिफेन्डर बिक्रमसिंह बुढा, बेस्ट गोलकिपर सूर्य थापा, म्यान अफ द म्याच विजय खरेल र बेस्ट मिड फिल्डर अर्जुन मरासिनीलाई पुरस्कृत गरिएको महाकिमले बताए।
प्रतियोगिताको लागि नगरभित्रका १२ समूहले नाम दर्ता गराएका छन्। खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्रीले खेल क्षेत्र र खेलाडीको विकासको लागि तिनै तहका सरकार एकजुट हुनुपर्ने बताए। संघीयता कार्यान्वयनसँगै गाउँ-गाउँमा खेलप्रतिको ऊर्जा बढ्दै गएको छ।
रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले युवाहरूको खेलप्रतिको सक्रियताले आफूहरूलाई खेल क्षेत्रको विकासमा नयाँ ऊर्जा प्राप्त भएको बताए। उनले नगर आफैँ पनि प्रतियोगिताहरू गर्ने, खेलाडी र क्लबहरूलाई प्रोत्साहन गर्ने कार्य गर्दै आएकाले निरन्तरतामा आफ्नो जोड हुने बताए।
नगर स्थापना दिवसको अवसरमा नगरपालिकाले विपद्को वेला खट्ने नगरका दमकलचालक कमल पन्थीसहितका कर्मचारी, जिल्लाका सुरक्षा निकाय, शैक्षिक सामाजिक क्षेत्रमा योगदान गर्ने दिन पन्थी, योगराज कँडेल, नगरमा लामो समय काम गरेर सेवानिवृत्त कर्मचारीसहित दर्जनौँ व्यक्तिहरूलाई सम्मान गरेको छ। त्यस्तै, नगरपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका र पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्नेमा जिल्लाका १२ स्थानीय तहहरूमध्ये रेसुंगा नगरपालिका चौथो हो। यसअघि गुल्मीदरबार, छत्रकोट र धुर्कोट गाउँपालिकाले घोषणा गरिसकेका छन्। त्यस्तै, नगरपालिकाले पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरेको छ।
गुल्मीलाई २०७१ साल चैत ३० गते नेपालमै सातौँ जिल्लाको रूपमा पूर्ण खोप घोषणा गरिएको थियो। त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्ने गरिएको छ।
नगर स्थापना दिवसकै अवसरमा प्रभातफेरिदेखि कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी पिताम्बर पन्थीले जानकारी दिए।