उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताएका छन्।
परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एकदिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उनले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताए।
‘सुशासनका लागि कानुन र प्रशासनिक विधि चाहिन्छ, कानुनको शासन स्थापित गर्नैपर्छ। तर कानुन र राज्य संयन्त्रद्वारा मात्रै पनि धेरै विषय हल गर्न सकिँदैन,’ उनले भने, ‘राज्य संयन्त्रका जिम्मेवार व्यक्ति तथा आमनागरिक राष्ट्रप्रति इमानदार होऊन्, कानुन र प्रशासन मात्रै लगाउनुपर्ने नहोस्, आफैँले राम्रो आचरण अपनाउने अवस्था आओस्, यति हुन सकेमा मात्र भ्रष्टाचार, अनियमितता न्यूनीकरण भएर सुशासन कायम हुन्छ।’
समाज तथा व्यक्तिको मनमा रहेको नकारात्मकता हटाउन वैज्ञानिक र प्रामाणिक विधिका रूपमा योग-ध्यान रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले योग-ध्यानलाई सबैले अनुसरण गर्नुपर्नेमा जोड दिए। नेपाल योगध्यानको उद्गम थलो र उपयुक्त वातावरणका रूपमा रहेको जनाउँदै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत योग-ध्यानको महत्त्व तथा यसका प्रभावका बारेमा विशेष योजना ल्याइने बताए।
योग-ध्यान स्वजागरणको वैज्ञानिक विधि भएको र आफूले विगत लामो समयदेखि योग तथा ध्यानको अभ्यास गर्दै आइरहेको र त्यसबाट लाभसमेत लिइरहेकोसमेत उनले जानकारी गराए। यसअघि आफू गृहमन्त्री हुँदा मन्त्रालय र मातहतका निकायमा नियमित रूपमा योग-ध्यानको अभ्यास हुने गरेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसबाट सकारात्मक नतिजा हासिल भएको उदाहरण सुनाए।
ध्यान विज्ञान कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, मन्त्रालयका वरिष्ठ कर्मचारी, रादहानी विभाग र कन्सुलर सेवा विभागलगायत निकायका करिब एक सय कर्मचारीको सहभागिता छ। कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक रमेश नेपाल, एलपी भानु शर्माले प्रशिक्षण दिने कार्यक्रम छ।