नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी सञ्चालन, जापान पठाइदिने भन्दै कराेडाैँ ठगी

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

अर्कैको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी सञ्चालन गरी दुई सयभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। वर्किङ भिसामा  जापान पठाइदिने भन्दै दुई सयभन्दा बढी सर्वसाधारणबाट करोडौँ ठगी गर्ने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका– ७ घर भई काठमाडौं कागेश्वरी मनहरा– ७ विष्टगाउँ बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरादह नगरपालिका– १ घर भई ललितपुर महानगरपालिका– २२ भैँसेपाटी बस्ने ४६ वर्षका ईश्वरी पाण्डे रहेका छन्।

उनीहरूले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी काठमाडौंको पुतलीसडकमा ‘नियोनी एजुकेसन एन्ड भिजा सर्भिसेज’ नामको कन्सल्टेन्सी सञ्चालन गरेका थिए। राईकै नागरिकता दुरुपयोग गरी बैंक खाता खोली सोही खातामा रकम जम्म गर्न लगाई ठगी गर्दै आएका थिए।

राजन श्रेष्ठले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी सानिमा बैंकमा र ईश्वरी पाण्डेले पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरी कामना सेवा विकास बैंकमा खाता खोलेका थिए। श्रेष्ठले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख र सुनीलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख लिएको भेटिएको प्रहरीले जनाएको छ। उनीहरूले प्रतिव्यक्ति चार लाखदेखि सात लाखसम्म उठाउने गरेका थिए।

उनीहरू दुईविरुद्ध अन्य करिब सयजनाबाट दुई करोड ६८ लाख ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा रहेको प्रहरीले जनाएको छ।

श्रेष्ठले सानीमा बैंकमा खोलेको खातामा धेरै कारोबार देखिएपछि ईश्वरी पाण्डेले पर्वराज पाण्डेको नाममा खोलेको कामना सेवा विकास बैंकको खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए।

वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याउँदा उनको नागरिकता १५–१६ वर्षअघि नै हराएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी विगत तीन वर्षदेखि पठाओ चलाई जीविका गर्दै आएका बुझिएको छ।

बिहीबार पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।

सुझावित समाचार