खासा–काठमाडौं रुटमा आयात–निर्यातमा ढुवानी गर्ने कन्टेनर व्यवस्थापन सकस बन्दै गएको छ । खासाबाट काठमाडौं र काठमाडौंबाट खासाका लागि सामान ओसारपसार गर्ने कन्टेनर–टेलर नेपाल र चीन दुवैपट्टिका ट्रान्सपोर्ट कम्पनीले व्यवस्थापन गर्दै आएका छन् । अहिले एकातिर नेपाली व्यापारीले आफ्नो कन्टेनर खासा प्रवेश गर्न पाउनुपर्ने र चिनियाँ कन्टेनर पनि सामान लिएर सीधै काठमाडौं जान पाउनुपर्ने माग राख्दै आएका छन् ।
०७२ सालमा आएको भूकम्पछि नाका खुल्दा ‘हुक एन्ड ड्रप’ प्रणाली लागू गरियो । सो प्रणालीअनुसार चिनियाँ टेलरले मितेरीपुलसम्म ल्याएका सामान नेपालतिर रहेका इन्जिनले तानेर सुक्खा बन्दरगाह लार्चा पुर्याउँथे । कोरोना कालदेखि अहिलेसम्म यही प्रणाली कायमै छ ।
कोरोना कालमा चिनियाँ क्षेत्रमा रहेका ट्रान्सपोर्ट कम्पनीहरू तिब्बत सिल्क, मुसा, आडो र खासाले करोडौँ लगानी गरेर दुई सय नयाँ कन्टेनर र टेलर खरिद गरेका थिए । जसले हालसम्म खासाबाट लार्चासम्म सामान ढुवानी गर्छ । मागअनुसार नेपाली ढुवानी कम्पनीका गाडीले खासा पुगेर सामान ल्याए चिनियाँ गाडीले पनि खासाबाट सीधै काठमाडौं सामान पुर्याउने बाटो खुल्छ । यस्तो भएमा हुक एन्ड ड्रप प्रणालीका लागि करोडौँ लगानी गरेर खरिद गरिएका टेलर तान्ने मेसिन प्रयोगविहीन हुने ट्रान्सपोर्ट कम्पनीको गुनासो छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी भन्छन्– आयात–निर्यातको भोल्युम बढ्दै गएका कारण तातोपानी नाका पूर्ववत् अवस्थामा फर्कने क्रममा छ । ढुवानी खर्च कम लाग्ने भएकाले व्यापारीले खासाबाट सामान ल्याउन थालेका छन् । भूकम्पपछि स्थापना भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीले नेपालतर्फ आउने मालवाहक लामो–लामो टेलर खासाका लागि दर्ता गरेकाले यहाँको व्यापार बढ्दै जाने निश्चित भएको छ ।
नेपालतर्फ सिल्क, रेवाङ र नमस्ते ट्रान्सपोर्ट कम्पनीले करोडौँ लगानी गरेर टेलर तान्ने मोटरको टाउको किनेका छन् । तातोपानी भन्सार यार्डमा ६ सय स्थानीय मजदुरले लोड–अनलोडको काम गर्छन् । सोही कारण कोरोना कालमा काम गरेका ट्रान्सपोर्ट कम्पनीहरू भूकम्पअघिको खासा–काठमाडौं ढुवानी प्रणालीको पुनः सुरु गर्ने पक्षमा छैनन् । तर, अन्य पुराना व्यापारीहरू नेपाली कन्टेनर खासा पुर्याउने पक्षमा छन् ।
नेपाल ट्रक कन्टेनर ढुवानी प्रालिका अध्यक्ष अर्जुनबहादुर सापकोटाले सबै व्यापारी र व्यवसायीलाई मान्य हुने प्रणाली लागू गर्न माग गरे । सीमित कम्पनीका करिब ३० गाडीले मात्रै सामान ढुवानी गर्न पाउँदा अन्य व्यवसायीलाई असर परेको उनको भनाइ छ ।
तातोपानी भन्सारका प्रमुख दयानन्द केसीले आयात–निर्यातको भोल्युम बढ्दै गएका कारण तातोपानी नाका पूर्ववत् अवस्थामा फर्कने क्रममा रहको बताए । ढुवानी खर्च कम लाग्ने भएकाले व्यापारीले खासाबाट सामान ल्याउन थालेको उनले बताए । ‘सामान लिन खासा जाने विषय सहज छैन,’ उनले भने, ‘किनकि, खासा नयाँ सिटीका रूपमा विकास गर्न लागेकाले निर्माणको चरणमा छ । खासा भएर ९० प्रतिशत स्याउ र ७५ प्रतिशत रेडिमेडका सामान नेपाल आयात भइरहेकाले लोड–अनलोडको काम धेरै छन् । भूकम्पपछि स्थापना भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीले नेपालतर्फ आउने मालवाहक टेलर खासाका लागि दर्ता गरेकाले व्यापार बढ्दै जाने निश्चित छ ।’