गुल्मीमा आठ घरगोठ र टेलिकम टावरमा आगलागी

बिहिबार, २० बैशाख, २०८१
डिजिटल संस्करण

गुल्मीमा बुधबार आगलागीबाट विभिन्न स्थानमा आठ घरगोठ जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका– ६ मोहरेको जंगलमा लागेको आगो बस्तीमा पसेपछि स्थानीय कमल ज्ञवालीको टिनले छाएको दुईतले घरगोठ, एउटा भैँसी र ६ बाख्रा जलेका छन् ।

त्यस्तै, मोहनबहादुर सुनारको दुईतले घरगोठ र रमेश ज्ञवालीको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए । त्यस्तै, इस्मा गाउँपालिका– ३ दर्मामचौरमा आगलागी हुँदा पीताम्बर अधिकारीको बंगालो, गोपालप्रसाद पाण्डेयको बंगालो र रामबहादुर भर्तालको गोठ जलेर नष्ट भएको छ ।

मालिका गाउँपालिका– ५ छापहिले राष्ट्रिय सामुदायिक वनमा भएको आगलागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ । टावरमा जडान भएको सोलार प्यानलको तार, मिटरबक्स, ७२ वटा सोलार ब्याट्रीलगायत सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको त्रासमा गुल्मेली

गुल्मेली नागरिकलाई आगलागीको त्रास बढ्दै गएको छ । बैशाखभर जिल्लाका विभिन्न स्थानमा नियमित आगलागीका घटना भइरहेको छन् । बुधबार अघिसम्म एक सय ४० घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरेर ६१ घर, ७९ गोठ/बंगालो र १ सय ३७ पशुचौपाय जलेर नष्ट भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सवैभन्दा बढि क्षति इस्मा गाउँपालिकामा भएको छ । पछिल्लो दुई साता गुल्मीमा लगातार भिषण आगलागीका भइरहेको छ । जंगलको आगो गाउँ पसेपछि थुप्रै भौतिक क्षति हुनुको साथै वातावरणीय प्रभाव बढेको छ ।

कुन पालिका कति घर क्षति
सवैभन्दा बढि क्षति भएको इस्मा गाउँपालिकाका वडा नं २, ४ र ६ मा गरेर २७ घर पूर्ण रुपमा नष्ट भएका छन् । गुल्मीदरवार गाउँपालिकाका वडा नं ५, ६ र ७ मा गरेर चार, मदाने गाउँपालिकाको वडा नं १, ६ र ७ मा नौ, मुसिकोटका वडा नं ५ र ९ मा पाँच, रुरुक्षेत्रका वडा नं १, २ र ५ मा गरेर सात घर पूर्ण रुपमा नष्ट भएका छन् । त्यस्तै धुर्कोटमा पाँच, मालिकामा दुई, रेसुंगा र कालिगण्डकीमा एक/एक घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । त्यस्तै दुई मानिस र १९ पशुचौपाय घाइते भएका छन् । दुई बिद्यालयमा सामान्य क्षति भएको छ । त्यस्तै एक कुटानीपिसानी मिल, तीन पसल, एक टयाक्टर र एक मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए । 

स्थायी आवासको लागि लाभग्राही कायम
जिल्लामा घरबारबिहिन भएका अग्नीपीडितहरु छिमेकी र अस्थायी आवासमा बसिरहेका छन् । जिल्ला बिपद् व्यावस्थापन समितिको बैठकले ६१ लाभग्राही कायम गरेर स्थायी आवास निर्माणको सुविधाको लागि केन्द्र र प्रदेशमा सिफारिस गरेको छ । बैठकले जिल्लाका चार प्रदेश सभा निर्वाचन क्षेत्रमा एक/एक दमकल र फायर पम्प खरिद गर्न स्थानीय तहलाई अनुरोध गर्ने, कार्यालयहरुलाई आगामी मनसुनमा हुनसक्ने क्षतिको लागि वजेट व्यावस्थापनको लागि र स्थानीय तहहरुलाई तत्काल बिपद् प्रतिकार्य योजना बनाउन पत्राचार गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । अग्नीपीडितहरुको लागि स्थानीय तह, प्रशासन र संघसंस्थाहरुले प्रारम्भिक चरणको राहत वितरणको काम गरिसकेका छन् । 

जिल्लाका ८० सामुदायिक वनमा डढेलो
अहिलेसम्म गुल्मीका ८० सामुदायिक वनको दुई हजार हेक्टर बढि क्षेत्रफलमा डढेला लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो समय जिल्लाका १२ वटै स्थानीय तहका सामुदायिक तथा निजी वन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका चार सय ५८ मध्ये ८० सामुदायिक वनको दुई हजार २० हेक्टरमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत तथा सूचना अधिकारी राजन कुवंरले जानकारी दिनुभयो । जिल्लाका विभिन्न जंगलहरुमा लागेको आगलागीका कारण बस्तीहरुमा ठूलो भौतिक क्षतिसैंगै वातावरणीय प्रदुषण, महत्वपूर्ण वोट बिरुवा, जंगली जनावर र पंक्षीहरुको बिनाश भएको छ । डिभिजन वन कार्यालयका निमित्त प्रमुख सहायक वन अधिकृत पंकज कुमार ठाकुरले सवैभन्दा ठूलो कुरा नागरिक सचेतना भएको बताउनुभयो । ठाकुरले समुदायमा एक जना मान्छे खराव हुँदा पनि आगलागीले ठूलो क्षति हुने भएकाले सामुदायिक सचेतना आवश्यक रहेको औल्याउँदै वन आफैमा समस्या नभएर मान्छेले निम्त्याएकाले सवैले पुर्व सावधानी अपनाउने र आगलागी गर्न हुँदैन भन्ने चेतनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । गुल्मी लुम्बिनी प्रदेशमै डढेलोको सवैभन्दा जोखिम भएको जिल्ला हो । 

वनमा आगो लगाउने दुई जना पक्राउ
गुल्मीमा अहिलेम्मि वनमा आगो लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रेसुंगा नगरपालिका–७ सिस्नेहार पातल सामुदायिक वनमा आगो लगाउने सोहि वडाका ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी गिरफतार गरेको रेसुंगा–मुसिकोट सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनन्त बहादुर डाँगीले जानकारी दिए । प्रारम्भिक बयानको क्रममा आरोपी दुवै जनाले सामुदायिक बनमा आफूहरुले आगो लगाएको स्वीकार गरेकाले वन ऐन २०७६ को दफा ५० ९४० अनुसार तीन बर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजायँको व्यावस्था रहेको डाँगीले बताए । उनीहरुलाई स्थानीयको सहयोगमा नेटा बजारबाट १६ वैशाखमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकर पोख्रेलले बताए । उनले म्याद थप गरेर अनुसन्धानको काम भइरहेको बताए । आगो आफै लाग्दैन् । तर, सवै स्थानीय तहमा आगलागी व्यापक छ । स्थानीयले सूचना नदिएसम्म आगलागीमा संलग्न पक्राउ गर्न अप्ठ्यारो छ । त्यसैले नाम ठेगाना गोप्य हुने र पुरस्कृत समेत भइने भएकाले समयमै प्राप्त सूचना प्रहरी, वन र सरोकारवालाई दिन प्रवक्ता पोख्रेलले अनुरोध गरे ।

सुझावित समाचार