छैटौँपटक म्याद थप्दा पनि सकिएन धरहरा पुनर्निर्माण

शुक्रबार, १४ बैशाख, २०८१
डिजिटल संस्करण

दुई अर्ब ९० करोड खर्च, अझै १० करोड लाग्ने, परिसरको सुन्धारा पुनर्निर्माण सुरु नै भएन 

छैटौँपटक म्याद थप्दा पनि सुन्धारास्थित धरहरा र परिसरका संरचना निर्माण अझै सकिएको छैन । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पले धरहरा ढलेपछि सरकारले ०७५ मा यसको पुर्निर्माण सुरु गरेको थियो । तीन वर्षमा पुनर्निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि नौ वर्ष बितिसक्दासमेत सकिएको छैन ।

पछिल्लोपटक ठेकेदार कम्पनीले गत माघमा म्याद सकिएपछि भदौसम्मका लागि म्याद थपेको हो । तर, उक्त म्यादभित्र पनि काम नसकिने निश्चित छ । ठेकेदार कम्पनीका अनुसार हालसम्म ९३ प्रतिशत भौतिक र ८३ प्रतिशत आर्थिक प्रगति भएको छ । यसभित्र सुन्धारा पुनर्निर्माण भने छैन । सुन्धारा पुनर्निर्माण पनि ठेकेदार कम्पनीलाई नै दिने विषय विवादित बनेपछि स्थानीयले विरोध गरेका थिए । उनीहरूले सुन्धारा पुनर्निर्माण उपभोक्ता समितिमार्फत गर्नुपर्ने माग राखेका थिए । त्यसयता सुन्धारा अलपत्र अवस्थामा छ ।  

ठेकेदार कम्पनी जिआइटिसी रमन जेभीका इन्जिनियर साजन अवालकाअनुसार पुर्निर्माणका क्रममा विविध अड्चन आएका कारण निर्धारित समयमा काम नसकिएको हो । उनले भने, ‘अहिले छैटौँपटक म्याद थपेर काम गरिरहेका छौँ, अब भने धरहरा र अन्य संरचनाको फिनिसिङ मात्रै बाँकी छ, अधिकांश अरू काम सकिएको छ ।’ हालसम्म संरचना निर्माणमा दुई अर्ब ९० करोड बजेट खर्च भइसकेको छ । सरकारले धरहरा पुनर्निर्माणमा करिब तीन अर्ब लाग्ने अनुमान गरेको थियो । अझै १० करोड हाराहारी खर्च हुने आकलन छ । करिब एक वर्षअघि पुनर्निर्माण प्राधिकरण खारेज भएपछि धरहरा क्षेत्रको बाँकी काम भवन विभागअन्तर्गत भइरहेको छ । 

के–के बने, के बाँकी ?

ठेकेदार कम्पनीले नयाँ धरहरा टावर, पार्किङ, प्रशासनिक भवन, सेन्ट्रल प्लान्ट, चमेना गृह, कुलदेवताको मन्दिर, पाटी, बगैँचालगायत संरचना निर्माण गरिसकेको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बनेका विभिन्न संरचनाले आकर्षक देखिएको छ । यहाँ रहेका पुराना संरचना हटाएपछि अहिले खुला र हरियाली देखिएको छ । ठेकेदार कम्पनीले म्युजिक फाउन्टेनसहित बगैँचा निर्माण गरिसकेका छन् । भूकम्पले भाँचिएको पुरानो धरहरालाई संरक्षण गर्दै ०७५ मा नयाँ धरहरा स्तम्भ निर्माण सुरु भएको थियो । ११ वैशाख ०७८ मा नयाँ धरहरा तयार भए पनि परिसरमा रहेका संरचना निर्माण जारी नै छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख ०७८ मै नवनिर्मित धरहराको उद्घाटनसमेत गरेका थिए । 

अधिकांश संरचना निर्माण सकिए पनि नवनिर्मित संरचनाको फिनिसिङ नभएको ठेकेदार कम्पनीको भनाइ छ । मिन्ट म्युजियम र भूकम्प म्युजियम निर्माण भने पूरा भएको छैन । यो सक्न अझै कम्तीमा चार महिना लाग्ने ठेकेदार कम्पनीको भनाइ छ । 

सुन्धारा पुर्निर्माणमा बेवास्ता 
धरहरापरिसरमै रहेको ऐतिहासिक सुन्धाराकै नामबाट यस क्षेत्रको नाम ‘सुन्धारा’ रहेको हो । तर, त्यही सुन्धाराको अस्तित्व भने संकटमा छ । अहिले सुन्धारामा पानी आउँदैन । धारावरिपरिको पर्खाल जीर्ण अवस्थामा छ । स्थानीयका अनुसार करिब ३० वर्षअघिदेखि नै सुन्धारामा पानी आउन छाडेको छ । आसपासमा पक्की भवन निर्माण सुरु भएसँगै यहाँ पानी आउन छाडेको हो । मुख्यतः नजिकै काठमाडौं मल बनेपछि यहाँ पानी सुक्न थालेको थियो । सम्पदाप्रेमी यादवलाल कायस्थका अनुसार संकटमा परेको सुन्धाराको पुनर्निर्माण गरी जीवन्त राख्न सरोकारवाला निकायले चासो दिएका छैनन् । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेकेदारमार्फत सुन्धारा पुनर्निर्माण सुरु गरे पनि स्थानीयले रोकेका थिए । उनीहरूले उपभोक्ताको संलग्नताविना सुन्धारा पुनर्निर्माण गर्नुनहुने माग गरेका थिए । त्यसयता रोकिएको सुनधारामा बिछ्याइएको ढुंगा उप्किएका छन् भने वरिपरि झार उम्रिएर खण्डहर बनेको छ ।

See More On

सुझावित समाचार