बागमतीका मेयर थापाविरुद्ध अख्तियारबाट विशेषमा मुद्दा दायर

०७४ देखि ०७९ को अवधिमा मेयर हुँदा पाँच करोडभन्दा बढी गैरकानुनी आम्दानी गरेको अभियोग, श्रीमती, भाइ र भाइबुहारीसमेत प्रतिवादी

बुधबार, २८ चैत, २०८०
डिजिटल संस्करण
बागमतीका मेयर थापाविरुद्ध अख्तियारबाट विशेषमा मुद्दा दायर

फाइल तस्बिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। 

गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।

अख्तियारले दायर गरेको आरोपपत्रमा थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख छ। अख्तियारले सोहीबराबरको रकम बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

अख्तियारले ७ असोज ०७४ मा बागमती नगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेदेखि २९ माघ ०७९ सम्मको अवधिमा वैध आयभन्दा निकै बढी खर्च र लगानी देखिएको दाबी गरेको छ।

सो अवधिमा थापाको वैध आय सात करोड ८६ लाख ५० हजार दुई सय एक रुपैयाँ देखिएको, तर १३ करोड २० लाख तीन हजार तीन सय ९१ रुपैयाँ खर्च र लगानी गरेको देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले थापाकी श्रीमती रेश्माकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइबुहारी द्वारिका राउतलाई पनि प्रतिवादी बनाएको छ। थापाले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनीहरूको नामबाट विभिन्न कम्पनीमा लगानी गरिएको, सेयर खरिद गरिएको, जीवन बिमाको प्रिमियम भुक्तानी गरिएकोलगायतको आरोप अख्तियारको छ।

सुझावित समाचार